• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    जनमुक्ति सेनाको यस्तो एक्शनपछि गृहमन्त्री बादलले बोलाए सुरक्षा निकायको बैठक, दिए यस्तो निर्देशन

    20.3K
    SHARES



    काठमाडौँ । बिद्रोही नेपाल कम्युनिष्ट पार्टीको जनमुक्ति सेनाले दैलेख ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई गिरफ्तार गरेर छोडेलगत्तै गृहमन्त्री राम बहादुर थापा बादलले काठमाडौंमा सुरक्षा निकायका कमान्डरहरुको बैठक बोलाएका छन् । नेकपाले गत ६ गते  विज्ञप्ति जारी गरेर पार्टीमाथिको प्रतिबन्ध, दमन, हत्या र गिरफ्तारीको प्रतिरोधस्वरुप अध्यक्ष शाहीलाई गिरफ्तार गरेको बताएको थियो।

    त्यसलगत्तै नेकपामाथि थप दमन चर्काउन गृहमन्त्री बादलले सुरक्षा निकायलाई निर्देशन दिएको खुलासा भएको छ । केन्द्रीय सुरक्षा समिति बैठकले नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपामाथि अझ कठोर नीति लिन सुरक्षा निकायहरूलाई निर्देशन दिएको स्रोतले बतायो । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बिहीबार बसेको बैठकले नेकपालाई निस्तेज पार्न अझै सशक्त कारबाही थाल्न निर्देशन दिएको हो ।

    बैठकमा नेपाली सेनाका रथी, गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायत उच्च सुरक्षा अधिकारी सम्मिलित थिए ।ओली सरकारले २०७५ फागुन २८ गते नेकपामाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता उसका सयौं नेता कार्यकर्ता जेल तथा प्रहरी हिरासतमा छन ।

    फरक राजनीतिक आस्था राखेकै आधारमा प्रहरीले नेकपा नेता कार्यकर्तामाथि दमन बढाउदै लगेको भन्दै चौतर्फी बिरोध जारी रहेकै अवस्थामा गृहमन्त्री बादलले थप दमनका लागि सुरक्षा निकायलाई निर्देशन दिएका हुन । जनमुक्ति सेनाको गिरफ्तारीमा परेका गाउँपालिकाका अध्यक्ष शाहीले दिए यस्तो अनौठो बयान :

    शनिबार राति जनमुक्ति सेनाको गिरफ्तारीमा परेका दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले आफूलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा करिब २० देखि ३० पटक फायरिङ भएको आफूले सुनेको बताएका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित शाहीलाई बिद्रोही जनमुक्ति सेनाले करिब १७/ १८ घण्टा नियन्त्रणमा लिएर सकुशल छाडेको नेकपाले दावी गर्दै आएको छ ।

    गाउँपालिका अध्यक्ष शाहीका अनुसार प्रहरी र आफूलाई नियन्त्रणमा लिने मानिसको जम्काभेट भएको थियो । सोहि क्रममा प्रहरीले करिब २० देखि ३० राउण्ड फायरिङ गरेको बताइएको छ । ‘तपाईं हाम्रो बन्दी हो, हाम्रै सम्पर्कमा जानुपर्छ भनेर भन्नुभएको थियो, अँध्यारो भइसकेको थियो। हामी हिँडिरहेका थियौं। सुरक्षाकर्मीसँग जम्काभेट भयो,’ अध्यक्ष शाहीले भने ।

    शनिबार राति करिब साढे १२ बजेतिर ठाँटीकाध गाउँपालिका-२ सिरुपाटामा रहेको शाहीको घरमा केही मान्छे आए। ढोका खोल्न भनेपछि शाहीले नै ढोका खोले र आएका ती मानिसहरूले सोधपुछ गर्नुछ भनेर अध्यक्ष शाहीलाई बाहिर बोलाए।

    ‘मेरो म्याडमले ढोका खोल्न मानिनन्, मैले खोलौं न त को मान्छे हो भनेर भनें। ढोका नखोलेपछि उहाँहरू र मेरो म्याडमको भनाभन पनि भयो,’ शाहीले भने, ‘त्यसपछि मैले ढोका खोलें, तपाईंहरू को हो भन्दा ‘हामी विप्लवको कार्यकर्ता हो’ भन्नुभयो। त्यसपछि तपाईंसँग सोधपुछ गर्नुछ भनेर लिनुभयो।’

    अध्यक्ष शाहीले जानकारी दिए अनुसार भने उनकी श्रीमतीलाई भने नेकपाले नियन्त्रणमा लिएको होइन। ‘मेरो म्याडमले म पनि सँगै जान्छु भनेर म सँग गइन्, मैले उहाँहरू राजनीतिक कार्यकर्ता हो। त्यही अनुसारको व्यवहार गर्नुहुन्छ, तिमी जाऊ भनेर भनेपछि म्याडम फर्किइन्,’ उनले भने।

    उनीहरुको नियन्त्रणमा गएदेखि मुक्त हुने बेलासम्म लगातार आफूहरू हिँडेको शाहीले बताए। घरबाट लिएपछि उक्त समूहले उत्तरतिर पूरै हिउँ भएको बाटोमा लगेको उनले बताए। कतिपय कल्पनै गर्न नसकिने खालको अप्ठ्यारो बाटोमा समेत हिँडेको शाहीले बताए।

    ‘घरबाट जाँदाखेरी त एक घण्टासम्म हामी राम्रो बाटो हिँड्यौं, त्यसपछि भने दुई घण्टासम्म अनकन्टार भीरमा हिँड्यौं,’ अध्यक्ष शाहीले भने, ‘भीरमाम हिँड्न सकिनँ, आइतबार दिनभर पनि हिउँमा हिँड्यौं, त्यसपछि भने पूरै जंगलमा हिँड्यौं।’

    शाहीले आफुलाई नियन्त्रणमा लिने विप्लव कार्यकर्ताले आफूसँग सभ्य व्यवहार गरेको बताए। त्यस समयमा उनीहरूले अपशब्द बोल्ने, गलत व्यवहार गर्ने काम नगरेको र आफूलाई उच्च सम्मान गरेको शाहीले बताएका छन्।

    ‘बाटोमा हिँड्ने क्रममा मैँले हिँड्न सक्दिनँ भनेपछि बसौं सर भन्नुभयो,’ उनले भने, ‘हिजो बिहान (आइतबार) एक ठाउँ खाना खाँदा उहाँहरूले पहिला मलाई नै खाना दिनुभयो, म बस्ने ठाउँमा पनि उनीहरूको एउटा गम्छा थियो। यसैमा सुत्नुस् तपाईं राति सुत्न पाउनुभएको छैन भन्नुभयो, त्यो व्यवहारचाहिँ राम्रो लाग्यो।’ उनीहरूको असल व्यवहारका कारण डर महसुस नभएको उनले बताए।

    आफूलाई नियन्त्रणमा लिनुको कारण पक्राउ परेका नेकपा कार्यकर्ताको रिहाइ शाहीले रहेको शाहीले बताए। बाटोमा जाँदा आफूलाई नियन्त्रणमा लिनुको कारणबारे सोध्दा उनीहरूले ‘हाम्रा १२ सय जति कार्यकर्ता थुनिएका छन्, यी कार्यकर्ताहरू तपाईंहरूजस्ता राज्यका प्रतिनिधिलाई नसमातेसम्म राज्यले छोड्दैन यो राज्यलाई चुनौती हो’ भनेको अध्यक्ष शाहीले बताए।

    विद्रोही नेपाल कम्युनिष्ट पार्टीले दैलेख ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई गिरफ्तार गरेर सकुशल रिहा गरेको पुष्टि गरेको छ । पार्टीका भेरी–कर्णाली ब्यूरो इन्चार्ज रवीले विज्ञप्ति जारी गरेर पार्टीमाथिको प्रतिबन्ध, दमन, हत्या र गिरफ्तारीको प्रतिरोधस्वरुप अध्यक्ष शाहीलाई गिरफ्तार गरिएको बताएका छन् ।

    रवीले विज्ञप्तिमा अध्यक्ष शाहीले चरम भ्रष्टाचार गरेको, कमिसन खाएको, पार्टी विरोधी गतिविधि गरेकोले गिरफ्तार गरेको बताएका छन् । उनले जनमुक्ति सेनाको नेतृत्वमा शाहीलाई नियन्त्रणमा लिई आवश्यक छानविन गारी सकुशल रिहा गरिएको बताएका छन् ।

    “निज शाहीले ठाँटीकाँध गाउँपालिकामा चरम भ्रष्टाचार गरेको, कमिसन खाएको व्यापक जनगुनासो र पार्टी्विरोधी गतिविधि गरेकाले पार्टीको निर्देशनमा जनमुक्ति सेनाको नेतृत्वमा नियन्त्रणमा लिई आवश्यक छानबिनसहित सकुशल राखिएको छ” आइतबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

    त्यसैगरी विज्ञप्तिमा आफ्नो पार्टीमाथिको प्रतिबन्धको खारेजी, बिनाकारण गिरफ्तार गरिएका नेता–कार्यकर्ताको रिहाई, राज्य आतंक बन्द गर्न र सरकारले गरेको दमनको प्रतिरोधस्वरुप अध्यक्षलाई गिरफ्तार गरिएको बताइएको छ । विज्ञप्तिमा भनिएको छ, “पार्टीमाथिको प्रतिबन्धको खारेजी, बिनाकारण गिरफ्तार गरिएका नेता, कार्यकर्ता र जनताको बिनासर्त रिहाइ, हत्या, जनआतङ्क र दमनको प्रतिरोधस्वरूप हाम्रो पार्टीले दैलेख जिल्ला ठाँटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई हिजो पुस ५ गते गिरफ्तार गरेको छ ।

    “प्रतिक्रान्तिबाट स्थापित भएको संशोधनवादको प्रतिवाद गर्दै नेपालमा अधुरो क्रान्तिलाई पूरा गर्ने वैज्ञानिक समाजवादको स्थापनार्थ गठन भएको हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीले आफ्नो स्थापना कालदेखि राष्ट्रघात, भ्रष्टाचारी र कमिसनखोरका विरुद्ध निरन्तर सङ्घर्ष गर्दै आएको छ । केपी वलीको सामाजिक फासिवादी सरकारले हाम्रो पार्टी स्थापना भएदेखि निरन्तर दमन, हत्या, आतङ्क, गिरफ्तार गर्दै पार्टी र जनतामाथि राज्यआतङ्कको राज गर्दै आएको सर्वविदितै छ” विज्ञप्तिमा उल्लेख छ ।

    इन्चार्ज रवीले अध्यक्ष शाहीले गरेको भ्रष्टाचारको असुली, बिना सर्त आफ्ना नेता–कार्यकर्ताको रिहाईको माग गर्दै विज्ञप्तिमा भनेका छन्, “शाहीद्वारा गरिएको भ्रष्टाचारको असुली गराउन र बिनासर्त देशव्यापी हाम्रो पार्टीका नेता–कार्यकर्तालाई रिहा गर्न जोडदार माग गर्दछौंँ । हाम्रो मागलाई बेवास्ता गरी फेरि दमन र गिरफ्तारी गर्न खोजेमा सामाजिक फासिवादी केपी सरकारका विरुद्ध कडाभन्दा कडा सङ्घर्ष गर्ने कुरा यही विज्ञप्तिमार्फत जानकारी गरिन्छ ।”

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ