• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    एकाबिहानै छोरालाई भेट्न आएका थिए नीरकुमार, घटनाबारे यसो भन्छिन श्रीमती इन्द्रकला

    42.2K
    SHARES



    काठमाडौं । बुधबार बिहानै इन्द्रकलालाई नीरकुमारले अचानक फोन गरेर भने- ‘म कोठा आउदैछु, छोरा र तिमीलाई भेटेर फर्किन्छु ।’ कार्यक्षेत्र ओखलढुंगा लिएर गएका नीरकुमार २/३ दिनअघि मात्रै गृहजिल्ला भोजपुर फर्किएकोबारे इन्द्रकलालाई पनि केहि जानकारी थिएन । घटनापश्चात संचारकेन्द्रसंग बल्लतल्ल बोल्न तयार भएकी इन्द्रकला फोनमा भक्कानिदै रोइन । उनले भनिन्- ‘उहाँ यता कहिले आउनुभएको हो भन्ने पनि मलाई थाहै भएन, आज बिहान एक्कासी फोन गरेपछि मात्रै थाहा पाए ।’

    एक्कासी भेट्न आउन लागेको खबरले इन्द्रकला खुसी पनि भइन तर बेला बखत प्रहरीले नीरकुमारबारे खोजतलास गरेको थाहा पाएकी उनले श्रीमानले आफु र छोरालाई भेट्ने इच्छा देखाए पनि ‘अप्ठ्यारो पर्छ होला भो बरु नआउनु हामी ठिकै छौं’ भनेकी थिइन । तर अलि लामो समयपश्चात गृहजिल्ला आएका नीरकुमारले घर परिवारका अन्य सदस्यलाई भेट्न सक्ने अवस्था नभए पनि सदरमुकाममै डेरा गरेर बसेकी श्रीमती र छोरालाई भेटेर ओखलढुंगा फर्किने सोच बनाए । जिल्लामै रहेर पनि डेरामा नआएका उनी बुधबार बिहानै श्रीमती इन्द्रकला राई र छोरा आशिष राईलाई भेट्न कोठा पुगेका थिए ।

    इन्द्रकला र आशिषलाई एकछिन भेटेर उनी कोठाबाट निस्किएर बजारतिर हानिए । प्राय खाजा र चिया खाने होटल पान्धारेमा पुगेर उनले चिया पिउने तरखर गरे । त्यसअघि बिहानै फोनमा कुरा हुदाँ नीरकुमारले इन्द्रकलालाई प्रहरीले आफुलाई निगरानीमा राखेको र खोजि गरिरहेको सूचना पाएको बताएका थिए । त्यसकारण पनि इन्द्रकलाले ‘कोठा नआउनु बरु आफ्नो कार्यक्षेत्र फर्किनु’ भनेकी थिइन ।

    ‘तपाईलाई अप्ठ्यारो पर्छ भने नआउनु भनेको तर मान्नुभएन, केहि हुदैन मर्नु परे पनि देशकै लागि मर्छु भन्नुभयो । बच्चाको बिजोग हुन्छ भन्दा चिन्ता नगर भन्नुभयो । अनि कोठा आएर एकछिन हामीसंग भेटघाट गरेलगत्तै फर्किनुभएको हो ।’ उनले भनिन् । श्रीमान निस्किएलगत्तै इन्द्रकलालाई आफन्तले फोन गरेर नीरकुमारलाई प्रहरीले खोजिरहेको बताए । त्यसपछि चिन्तामा परेकी उनी पनि कोठाबाट निस्किएर अलि पर पुग्दा बाटोमा प्रहरीको एक हुल थियो । प्रहरीले बाटो छेकेर बसिरहेको देखेर इन्द्रकलाको मनमा चिसो पसिसकेको थियो ।

    ‘म घटनास्थलमा पुग्दा प्रहरीहरुले बाटो छेकेर बसिरहनुभएको थियो । यहाँ के भएको हो भनेर सोध्दाखेरी विप्लवका मान्छे र प्रहरीको मुठभेड भएर भीडन्त भयो भन्दैथियो ।’ आफुलाई सम्हाल्न भरपुर कोसिस गरिरहेकी इन्द्रकलाले रूँदै भनिन- ‘मान्छे पनि मर्यो र ? भनेर सोध्दा प्रहरीहरुले मरिसक्स्यो भनेर भने ।’ घटनामा केकति क्षति भयो र कसले ज्यान गुमायो भन्ने बारेमा केहि बुझ्न नपाउदै उनलाई परबाट ‘इन्द्रकला तपाई यता आउनु छिटो आइहाल्नु’ भनेर एकजना दिदिले बोलाइन । ‘तर केकति कारणले बोलाउनुभएको हो ? के भयो भनेर सोध्दा तपाई आफै आएर बुझ्नुहोस् न भन्नभयो’ इन्द्रकलाले भनिन- ‘अलि अगाडि जाँदा एउटा मान्छे बाटोमा उत्तानो परिरहेको फोटो देखे, उहाँ चाहि घोप्टो परिरहनु भएको रैछ…! त्यस्तो घटना कसरी घट्यो ? के भएको ? किन र कसरी भएको मलाई केहि थाहा छैन ।’

    नीरकुमार देशकै लागि मर्छु भन्थे मरेर गए तर यदि सरकारले यसैगरी नागरिकमाथि गोली हान्दै जाने हो भने धेरै नेपाली महिलाको सिउदो पुछिने चिन्ता इन्द्रकलालाई छ । ‘देश र जनताको मुक्तिका लागि लड्छु भन्नुहुन्थ्यो, उहाँ त मरेर जानुभयो तर सरकारले बुझोस् अवस्था यस्तै रहिरहे अब झन् हजारौ मर्छन । म कामना गर्छु मेरो व्यक्तिगत जीवनमा परेको जस्तो बज्रपात र पिडा अरु कसैका जिन्दगीमाथि नपरोस ।’

    नेकपामाथि प्रतिबन्ध लागेपछि देशमा यस्ता घटना घट्न थालेको भन्दै उनले प्रतिबन्ध हटाउन पनि माग गरिन ।  इन्द्रकला र नीरकुमारका एक सन्तान छन् ७ बर्षीया आशिष राई ! आशिष २ कक्षामा पढ्छन् । नीरकुमारको निधनपछि उनलाई आफ्नो छोराको जस्तै चिन्ता अरु नेपालीहरुको पनि लागिरहेको छ । ‘यो प्रतिबन्ध लागेपछि मात्रै यस्ता घटना घटेका छन्, नेकपामाथिको प्रतिबन्ध हटाउन म सरकार समक्ष माग गर्दछु ।’

    बुधबारको घटनामा नीरकुमारसँगै प्रहरी जवान सञ्जीव राईको पनि ज्यान गएको छ । घटनाबारे नेकपाको आधिकारिक धारणा आउन बाकि छ । यसअघि भोजपुरमै नेकपा कार्यकर्ता तिर्थराज घिमिरे पनि मारिएका थिए । दोहोरो भीडन्त भन्दै प्रहरीले जेठ ८ गते उनीमाथि एकोहोरो गोली चलाएको नेकपाले बताउदै आएको छ । त्यसपछि गत असार ५ गते मात्रै पनि प्रहरीले दोहोरो भीडन्तकै हवाला दिएर सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलमाथि गोली चलाएको थियो । पौडेल र घिमिरेलाई नेकपाले शहिद घोषणा गरिसकेको छ ।

    प्रतिबन्धपश्चात केपी ओली सरकार नेपाल कम्युनिष्ट पार्टीमाथि चरम दमनमा उत्रिएको छ भने नेकपाले पनि सुरक्षाकर्मीमाथि फायर खोल्ने नीति नभए पनि सरकारी दमनको शशक्त प्रतिकार गर्ने बताउदै संघर्षका कार्यक्रमहरु अगाडि बढाउदै आएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ