• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विचार-ब्लग

    विप्लव, बिद्रोह र शान्ति

    4.8K
    SHARES

    हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी, जसको प्रमुख नेतृत्वमा कमरेड नेत्रविक्रम चन्द ‘विप्लव’रहनुभएको छ । पार्टीको नाम नेकपा भएतापनि ‘विप्लव’ हाम्रो पार्टीको पर्यायबाची हुन गएको छ । यसर्थ, आममा हाम्रो पार्टी ‘विप्लव पार्टी’ हुन गएको छ । वर्तमान सरकार, जसको नेतृत्व द्वैताध्येक्ष पार्टी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गरेको छ र सरकारको नेतृत्वमा खड्गप्रसाद (केपी) ओली रहनुभएको छ ।

    ‘दुई तिहाई’को यही ‘कम्युनिष्ट’ सरकारले नेपाल कम्युनिष्ट पार्टी माथि प्रतिवन्ध लगाएको करीव पचास दिन पूरा हुँदैछ । यो प्रतिवन्ध पश्चात् नेपाली राजनीतिले एउटा नयाँ धुविकरणमा प्रवेश गरेको छ । प्रतिवन्धको पक्ष र विपक्षमा तर्क र तर्कनाहरु प्रशस्त भइरहेका छन् । सरकारले शान्ति सुरक्षाको नाममा हाम्रो पार्टी माथि प्रतिबन्ध लगाएको दलिल पेश गरिरहेको छ । हाम्रो पार्टीले राज्यद्वारा जबर्जस्त थोपरिएको गृहयुद्ध अस्वीकार गरेको छ ।

    देशमा एक पटक फेरि युद्ध र शान्तिको बहस शुरु भएको छ । युद्ध र शान्तिको दर्शनबारे आम जनपंक्तिमा र घगडान बौद्धिक तहमा एक पटक फेरि भीषण बहस भइरहेको छ । प्रारम्भिक निश्कर्ष स्वरुप के भन्न सकिन्छ भने सरकार र उसको निकटस्थ सानो झुण्ड बाहेक अधिकांश मत भने प्रतिबन्धका विरुद्धमा रहेको छ । भलै यो बिरोधको जुन आयतन र रङ्ग देखा परेको छ त्यो नेपाल कम्युनिष्ट पार्टीको सफलता नभए पनि यो विरोध सरकारको असफलता भने पक्कै हो ।

    विरोध: स्वभाविक, विशिष्ट र आधारभूत
    हाम्रो पार्टीमाथि प्रतिबन्धको विरोधको ‘भोल्युम’ तीन तहको छ । कतिपय बिरोध स्वभाविक स्तरको रहेको छ । केवल राजनीतिक ‘धर्म’त्यसमा बोलिएको छ । कतिपय विरोध विशिष्ट तहको छ । परिस्थितिको विशिष्टता त्यसको निर्धारक रहेको छ । विरोधको आधारभूत तह पनि यसमा सामेल छ त्यो निकै जिम्मेवारपुर्ण छ । जे जस्तो भए पनि प्रतिबन्धका बिरुद्धमा मत प्रकट गर्ने सम्पूर्ण संस्था र महानुभावहरुमा पार्टीको तर्फबाट हार्दिक अभिवादन प्रकट गर्दछु र केही टिप्पणीको लागि अनुमति चाहन्छु ।

    हाम्रो पार्टीेले नेपाली क्रान्तिको कार्यदिशालाई ‘एकीकृत सिद्धान्त’को रुपमा प्रस्तुत गर्दै आईरहेको छ । हाम्रो सिद्धान्तका दुईवटा आधारभूत विशेषताहरु रहेका छन् । एउटा हो– सर्वहारा क्रान्तिको परम्परागत मोडलबाट माथि उठ्नु । अर्को हो– क्रान्तिको मुख्य केन्द्रमा जनता र राष्ट्रको हित संकेन्द्रण गर्नु । पहिलो विशेषताका वारेमा अहिले यति नै भन्नु प्रयाप्त हुन जान्छ कि आजको विश्वको आधारभूत प्रवृत्ति निजत्वमा आधारित शोषण प्रणाली नै रहेको छ । तर, शोषणको यो पद्धतिलाई टिकाउन निजि सम्पति सम्बन्धले आफ्नो तरिकामा ठूलो हेरफेर गरेको छ ।

    विसित विज्ञान र प्रविधिलाई भरमग्दुर त्यसमा जोडेको छ । यो फेरवदलले विश्वको वर्ग शक्ति सन्तुलन र राजनीतिक शक्ति सन्तुलनमा निकै धेरै बदलाव ल्याईदिएको छ । यो स्थितिमा साम्यवादी आन्दोलनको संचालनमा रहेका ‘जडता’ र ‘उदारता’का दुई पत्थरहरुलाई तोड्न जरुरी छ । जडताबाट पैदा हुने ‘अन्धता’ र उदारताबाट हुने ‘स्खलन’बाट साम्यवादी आन्दोलनलाई बचाएर माक्र्सवाद र सर्वहारा क्रान्तिको अजेयतालाई एक पटक फेरि प्रमाणित गर्नु प्रत्येक इमान्दार माक्र्सवादीहरुको अहम् दायित्व बन्न गएको छ ।

    शोषणको प्रवृत्ति तबसम्म रहन्छ, जबसम्म निजत्व प्रणाली रहिरहन्छ । यो आजसम्मको दुनियाँको कटु यथार्थ हो । यसको आगामी भयावह परिणतीका बारे स्टेफन हकिन्स लगायतका वैज्ञानिक र मानवशास्त्रीहरुले खबरदारी गरिसकेका छन्, जो माक्र्सवादी नै होइनन् । आजको मानव जाती स्वयम्ले सिर्जना गरेका कृत्रिम चुनौतीहरु तथा प्राकृतिक चुनौतीहरुको बेलैमा ख्याल नगर्ने हो भने महाविनाशको खाडल एक पछि अर्को नजिकिदै छ ।

    त्यसलाई निजत्व प्रणाली अर्थात् पुँजीवादले कुनै पनि हालतमा समाधान दिन सक्दैन भन्ने प्रमाणित भइसकेको छ । त्यसको एक मात्र समाधान साम्यवाद हो । अतः साम्यवादी आन्दोलनको विकासका लागि आजको सर्वहारा क्रान्तिको केन्द्र विशाल श्रमजीवी जनताको हित र राष्ट्रिय सार्भभौमिकताको रक्षा हुनु आवश्यक छ । हामी कहाँ यो किन पनि आवश्यक छ भने नेपाली राजनीतिमा भएको पटक–पटकका आन्दोलन र संघर्षहरु धोका, सम्झौता र आंशिक सुधारमा मात्रै सिमित रहे ।

    आजको नेपाली राजनीतिको केन्द्रीय विषय पनि यही हो । के अब हुने आन्दोलन र संघर्षमा धोका हुँदैन ? सम्झौता हुँदैन ? के अब हुने संघर्ष र आन्दोलन पनि आंशिक सुधारमै सिमित हुने त होइन ? यो हाम्रो पार्टी, नेपाल कम्युनिष्ट पार्टी अर्थात् एकीकृत जनक्रान्तिको प्रस्थान विन्दु मात्र होइन, आम नेपाली जनमनको एक मात्र ‘भाईटल क्वेस्चन’ हो । यो हाम्रो कार्यदिशाको दोस्रो विशेषताको महत्व र आवश्यकता हो ।

    प्रतिबन्धको बिरुद्धमा बोल्ने मित्रहरुमा हाम्रो अनुरोध यो रहन्छ कि विरोध केवल स्वभाविक विरोध र विशिष्ट विरधमै सिमित नरहोस् । हो, यो कुरा पनि साँचो हो कि हरेक प्रश्नको उठान शुरुमा स्वभाविक र विशष्ट तहबाटै हुनेगर्दछ । तर, त्यसको वास्तविक समाधान आधरभूत स्थानमा गएर मात्र टुंगो लाग्दछ । यसर्थ, स्वाभाविक र विशिष्ट विरोधको तहबाट तपाईहरु माथि उठ्नुस् । किनकि नेपाली राजनीतिका गाँठाहरु त्यति सामान्य छैनन् ।

    यो हामी सबैले भागेकै र देखेकै विषय हो । यदि यसको जवाफ सामान्य हुँदो हो त नेपाल कबै स्वतन्त्र र स्वाधीन भइसक्थ्यो । नेपाली जनताको समृद्धि कबै सम्भव भइसक्थ्यो । प्रधानमन्त्री तहका मान्छेहरुले समेत बेला मौकामा ‘प्रभु’ र ‘ज्योतिषी’हरुको आलङ्कारीक भाषा बोल्नु पर्दैन्थ्यो ।

    कैयौ प्रतिबन्धको पक्षमा बोल्ने मित्रहरुले भन्नुभए झैं एकिकृत जनक्रान्ति अर्थात् तपाईहरुको भाषामा ‘विप्लव समूह’को प्रेरक ‘असन्तुष्ट माओवादी जमात’ या ‘पूर्व लडाकुहरु’ कदापी होइनन् । हिजो प्रचण्ड कमरेडको पालामा ‘लुकाएका हतियारहरु’ झन् हुँदै होइनन् । हतियार त केवल साधन मात्र हो । साध्य होइन ।

    विगत दसवर्षे जनयुद्धमा पनि सुरुआती दिनमा माओवादीसँग हतियार खासै थिएनन् । केवल एउटा ‘होल टाईमर राईफल’ मात्र भएको कथा जनमुक्ति सेनाका पूर्व ‘चिफ’ तथा वर्तमान महामहिम उपराष्ट्रपती नन्दकिशोर पुन ज्यूबाट एक पटक फेरि सुन्न अनुरोध गर्न चाहन्छु ।

    हाम्रो अभियानको बिरोधि कित्तामा रहेका मित्रहरुले राज्यलाई निकै राम्ररी सम्झाउनु भएछ– ‘जनताबाट एक्ल्याउने’ पहिलो कदम पूरा गरेर मात्र राज्य दमनको दोस्रो कदम अर्थात् ‘प्लान बी’ मा जानु पथ्र्यो । मित्रजन, ‘प्रतिबिद्रोह’को तपाईहरुको यो सिद्धान्त निकै पुरानो हो, करीव ढुङ्गे बञ्चरो झैं । यो सिद्धान्तबाट राज्यले सफलता पाएको आजसम्म इतिहास छैन । विद्रोहीहरु जो आफ्नो निहित स्वार्थ, केवल जातिगत र पृथकतावादी स्वार्थ या अन्य कुनै प्रतिगामि उद्देयबाट प्रेरित छन् भने तिनलाई सिध्याउन सजिलो हुन्छ र यो सिद्धान्तले त्यतिबेला काम गर्छ ।

    त्यहाँ राज्य सफल हुन्छ । तरबिद्रोह, जो नयाँ जिवनको आरम्भ हो, जो नयाँ युगको सुत्रपात हो, जो नयाँ भविष्यको अंकुरण हो त्यसलाई नष्ट गर्न खोज्नु स्वयम्को ‘भष्माशुरवरण’ मात्र हो । एकीकृत जनक्रान्ति अर्थात् माक्र्सवादी बिद्रोह त्यस्तो हुँदैन । यो त माओको भाषामा केवल जनताको हितमा सोच्ने र गर्नेहरुले मात्र संचालन गर्न सक्ने कार्य हो । त्यसैले यो अपराजेय छ ।

    राज्यले हिजो पनि यो रणनीति अन्तर्गत थुप्रै कोशिस नगरेको होइन । त्यसमा ऊ सफल हुन सकेको थिएन । यो कुरा बुझेर पनि स्वीकार गर्न अप्ठेरो छ, तपाईहरुलाई । मित्रहरु, हिजोको माओवादी आन्दोलन आफ्नो सैद्धान्तिक कमजोरीको कारण असफल भएको होइन । बरु माक्र्सवाद–लेनिनवाद–माओवादबाट नै च्यूत भएपछि प्रचण्ड एण्ड कम्पनी पतनको रसातलमा जाकिएको हो ।

    कृपया, जुन देशको प्रधानमन्त्री भवन रहेको जमिन बजारमा लिलाम बिक्री हुन्छ र किनबेचको माल बन्छ, जुन देशको अख्तियार प्रमुख सबभन्दा धेरै भ्रष्ट हुन्छ, जुन देशको प्रधान न्यायाधिशको बाबु नै न्याय माग्न विद्रोही पक्षलाई नै याचना गर्न विवश हुन्छन् भने त्यो देश यथास्थितिमै रहनु भनेको के भष्म खरानी हुनु होइन ? के यसको बिरोध आवश्यक छैन ? के यहाँ क्रान्ति आवश्यक छैन ? यो खरानी हुने बाटोबाट यदि देशलाई जोगाउनु छ भने, आगोसँग खेल्नु एक निर्विकल्प बाटो तथा उच्च सचेनत कर्तव्य पो हुने भयो त ? हामि हाम्रो राष्ट्र र जनताको जीवनमा साँच्चै नयाँ युग, नयाँ बिहानी, नयाँ जीवन चाहन्छौं भने त्योकेवल विद्रोह र क्रान्तिबाट मात्र सम्भव छ ।

    आउनुस् बिरोधलाई आधारभूत विरोधको तहमा वोध गर्नुहोस् । विद्रोहमा उठाउनुस् । क्रान्तिमा उठाउनुस् । मित्रहरु, यो कुरा हामिलाई राम्रोसँग थाहा छ कि त्यो हाम्रो एक्लो प्रयासले सम्भव छैन । त्यसका लागि तपाईहरुको साथ आवश्यक छ । तर, सहयोग होइन ।

    शान्तिपूर्ण समाधान : के यो सम्भव छ ?
    आजसम्मको इतिहासले प्रमाणित गरेको सत्य यो हो कि हर नयाँ युगको आरम्भ या हर पुरानो यूगको अन्त्य ‘अर्जुन’ र ‘कर्ण’हरुका धनुषवाणहरुको टकरावबाट मात्र सम्भव छ । तर, मानवीय स्वभाव र प्रवृत्तिकै कारण बारम्बार हामी यही प्रश्नले आफुलाई सताइरहन्छौं– युद्ध होइन हामीलाई शान्ति चाहिन्छ । परिणाम के भयो भने जहाँ र जहिले मानव जातिले क्रान्ति स्वीकार गर्यो त्यहाँ शान्ति सम्भव भयो । तर, जहाँ शान्तिको एकोहोरो रटान भइरह्यो त्यहाँ युद्ध पनि रहिरह्यो ।

    मित्रजन, जतिबेला पहिलो संविधानसभा विघटन भएर नेपाली शान्ति प्रक्रियाले गलत बाटो लिँदै थियो, राज्यको पुनर्संरचना र आर्थिक सामाजिक रुपान्तरणको बहस योजनाबद्ध कमजोर पारिदै थियो हामीले आलोचना गर्यौं । तर, बिडम्बना, त्यही बेला हामीमाथि ‘बार्गेनिङ’को आरोप लगाउने मित्रहरुले नै फेरि आज भन्दै हुनुहुन्छ अब ‘सेफलेण्डिङ्’ गर्नु पर्यो, ‘स्पेसिङ्’ गर्नुपर्यो ? वाह ! यति हदसम्मको धुत्र्याई नगरेकै बेस हुने थियो ।

    कृपया, हाम्रो आन्दोलन ‘स्पेसिङ्’को लागि होइन । यो त ‘रिप्लेसिङ्’को आन्दोलन हो । तपाईहरुले यो पनि भन्न भ्याउनुभएछ कि विगतका खलपात्रहरुलाई दण्ड नदिएकै कारण आज यो विढङ्गो भयो । हेक्का रहोस् मित्रहरु, दण्ड कोही मान्छेले अर्को कोही मान्छेलाई न हिजो दिन सक्यो न आज नै दिन सक्ने हैसियतमा छ । दण्ड त प्रत्येक मान्छे आफैले आफ्नो कर्मले दिने हो । समयप्रति आफ्नो भूमिकाले दिने हो । माओवादी आन्दोलनको विसर्जन गरेर हिडेकाहरुको जवाफ एउटा खाले हुन सक्ला, तर माओवादी आन्दोलनको सच्चा उत्तराधिकार र शान्तिप्रक्रिको उच्च जिम्मेवारीबाट सोच्ने प्रत्येक माओवादी र इमान्दार जनताको तर्फबाट तपाईको यो कुरालाई रछ्यानमा मिल्काउन चाहन्छौं हामी ।

    अर्कोतिर, तपाईहरुको यो तर्क कति बेतुकको छ भने तपाईहरुले भनेका ‘खलपात्रह’रुलाई दण्ड दिँदै जाने हो भने यो देशमा पहिला पञ्चायत ब्यूझिन्छ । त्यसपछि राणा शासनले पुनर्जन्म लिन्छ । अनि बाईसे र चौविसे राज्यहरु पनि क्रमशः उठ्न थाल्नेछन् । तपाईहरुको यो दयालाग्दो दिमागी हालतलाई के भन्ने? चिहानहरुमा गएर सोध्नुहोला दिवंगत नेता गिरीजाप्रसाद कोइलालालाई के उहाँ राजतन्त्र फर्काउन तयार हुनुहुन्छ ? मनमोहन, कृष्णप्रसाद, गणेशमानहरुलाई सोध्नुहोला के पञ्चायत फर्काउन उहाँहरु तयार हुनुहुन्छ ?

    विपि र सुवर्णहरुलाई सोध्नुहोला, धर्म–शुक्र–गंगलाल–दशरथ र लखनहरुलाई सोध्नुहोला के राणा शासन फर्काउनु बेस होला ? कृपया ती सबै आ–आफ्नो समयका जवाफहरु थिए । भलै ती कोही आंशिक सफल भए कोही अपूर्ण भए । हरेक वर्तमानको कर्तव्य विगतको अपूर्णलाई पूरा गर्नु हो ।

    शान्तिप्रतिको हाम्रो प्रतिबद्धता हिजो जस्तै आज पनि किञ्चित डग्मगाएको छैन । युद्ध हाम्रो एक रति पनि चाहना होइन । बरु प्रश्न सोध्न मन लागिरहेको छ– के तपाईहरु (सत्ताधारीहरु) साँचो अर्थमा शान्ति चाहनुहुन्छ ? हामी प्रार्थना गर्दछौं कृपाया, हाम्रो जस्तो गरीव तथा विकासोन्मुख देशमा राज्य नियन्त्रित अर्थ प्रणाली लागु गरौं । विदेशी दलाल (एकाधिकारी) पुँजीको बेरोकटोक राईफाँडोलाई रोकौं । राष्ट्रिय उद्योगहरुलाई कवाडमा नबेचौं । राष्ट्रिय उद्योग र उद्यमीहरुलाई संरक्षणको नीति लागु गरौं । जमिनको राष्ट्रियकरण गरी गरीव तथा सुकुम्वासी समस्याको पूर्ण समाधान गरौं ।

    किसानलाई कृषि कर्मको लागि निःशुल्क जमिन, सस्तोमा मल–विऊ–औजारहरु राज्यले उपलब्ध गरोस् । उनको उत्पादनलाई राज्यले बजारको जिम्मा लेओस् । पैतृक सम्पत्तिमा छोरा–छोरीको समान अधिकार स्थापित गरौं । शिक्षा र स्वास्थ्यमा निजिकरणको पूर्ण अन्त गरौं । तपाईहरुको सरकारलाई यो किन भन्न सकिराख्नुभएको छैन ? के यो ‘विप्लव समुह’को मात्र माग हो ?

    हाम्रो पार्टीले दलाल तथा भ्रष्ट कम्पनी एनसेलमाथि राज्यलाई कर नतिरेको कारण कार्बाही गर्यो । तर, त्यसको पुरस्कारस्वरुप हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाइयो । हाम्रो पार्टीको नाम लिएर राज्यको निर्देशनमा प्रहरीले सामान्य जनतालाई गिरफ्तार गर्न सुरु गर्यो, गरिरहेको छ । गिरफ्तार केही व्यक्तिहरुलाई शौचालय र जंगलमा लगि गोली हानियो । देशभरीबाट गिरफ्तार गरिएका हाम्रो पार्टीका नेता कार्यकर्ताहरुलाई जबर्जस्त पार्टी छोड्न प्रहरी कार्यालयमा बन्दुक देखाएर ल्याप्चे लगाईदैछ ।

    मित्रहरु, एउटा भ्रष्ट, देशघाती दलाल कम्पनीलाई करको दायरामा ल्याउन हामिले अर्घेलो गरेको ठहर्छ भने हामी जेल बस्न र नेल पहिरन तयार छौं । तर, तिनै विदेशी दलाल कम्पनीहरु देशमा हुलेर पचास लाख बढि युवाहरुलाई विदेश पलायन गराउने अनि दैनिक केन्द्रीय विमानस्थलमा दिनको तीन–चार जना तिनै युवाहरुलाई लाशमा परिणत गराउने, बाँचेका अरु युवाहरुको पसिनाबाट जम्मा भएको रेमिटेन्समाथि चरम भ्रष्टाचार गर्ने कुकर्मको सजाय कसले ब्यहोर्ने हो ? त्यसको जेल भूक्तान कसले गर्ने हो ? हाम्रो आग्रह छ अझै केही बितेको छैन । राज्यले युद्धको घोषणा गरेता पनि हाम्रो पार्टीले राज्यले थोपरेको युद्ध स्वीकार गरेको छैन ।

    गृहयुद्धको संघारमै उभिए पनि देश अझैं युद्धमा फसिसकेको छैन । शान्ति यो दुनियाँको निकै आवश्यक तर असाध्यै महङ्गो वस्तु हो । तपाई हाम्रा साना तिना त्यागले शान्ति स्थापना हुनु हाम्रो मात्रै अहोभाग्य हामी ठान्दैनौं । यदि यो देशमा साँचो शान्ति, श्रमजीवी जनताको शान्ति, राष्ट्रिय सार्भभौमिकता सहितको शान्ति स्थापना हुन्छ भने हाम्रो पार्टीको तर्फबाट नेता र कार्यकर्तालाई एक दशक स्वयम्सेवा गर्ने प्रतिबद्धता जाहेर गर्दछु । कृपया धम्काएर, गलाएर, थकाएर कथित शान्तिको परिकल्पना नगरियोस् ।

    विदेशी शक्ति केन्द्रहरुलाई होइन, नेपाली जनतालाई साक्षी राखेर एउटा ‘सङ्कल्प पत्र’मा हस्ताक्षेर गरौं, नेपाली धर्तीको माटो हातमा लिएर एउटा ‘नयाँ चार्ट वील’को घोषणा गरौं– शान्ति विल्कुल सम्भव छ । कथित मुल धारको भ्रममा तपाईहरु नपर्नुस् । मानव जातिले प्रत्येक पटकको क्रान्तिबाट नयाँ धारहरुको निर्माण गर्दै यहाँसम्म आइपुगेको हो । मूलधारको चक्करमा पर्ने हो भने मान्छे फेरि आदिम युगमा फर्किनु पर्ने हुन्छ । किनकि सबभन्दा पहिलो मुलधार ढुङ्गे युग थियो ।

    एकीकृत जनक्रान्ति आजको युगको ‘शान्ति मिसन’ हो । एक्काईशौं शदीको ‘शान्ति पत्र’ हो । तपाईहरुले उठाउनुभएजस्तै यसका विविध अवयवहरुको वारेमा बहस गर्न हामी तयार छौं । तर, हाम्रो आधारभूत प्रस्तावना हो– एउटा धनि मान्छेले अर्को गरीव मान्छेलाई किन्ने प्रथाको अन्त गरौं । एउटा कथित माथिल्लो जातको मान्छेले अर्को तल्लो जातको भनिने मान्छेमाथि गर्ने अपमानको प्रथा अन्त गरौं ।

    एउटा शक्ति सम्पन्न राष्ट्रले अर्को कमजोर राष्ट्रमाथि जे गर्दा पनि ‘डेमोक्रेसी’ नै हुने कु–प्रथाको अन्त गरौं । मानव जातिको इतिहासले कोरेका वर्ग, जाति र देशका सीमारेखाहरु सदाको लागि अन्त गर्ने महाअभियानको थालनी गरौं । एउटा नयाँ विश्व र नयाँ मानवजातिको निर्माण गर्ने बाचा गरौं । किनकि, मान्छे स्वयम्ले खडा गर्दै गइरहेका र प्रकृतिले खडा गरेका चुनौतीहरु आज मानव जातिकै विनाशका लागि ‘सुरसाको मुख’ झैं दुनियाँका सामु खडा छन् । तिनमाथि विजय विना मानव अस्तित्व असम्भव छ । यो पहल आजै गरौं, हामीबाटै गरौं र नेपालबाटै गरौं । मानव जातिको नयाँ अस्तित्व सम्भव छ । शान्त, सुन्दर र समृद्ध नेपाल तब मात्र सम्भव छ !

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया