• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    विप्लवले तोके ओली-प्रचण्डमाथि प्रतिबन्ध लाग्ने मिति, भन्छन्- दमन जारी रहे भयावह स्थिति आउँनसक्छ

    13K
    SHARES



    काठमाडौं । विद्रोही नेपाल कम्युनिष्ट पार्टी ओली सरकारप्रति आक्रामक देखिएको छ । गत चैत्र १६ गते आह्वान गरिएको नेपाल बन्द एसईईको परीक्षा र नेपाल बार एशोसिएशनको चुनावका कारण फिर्ता लिएको नेकपाले सोमबार पुन: शशक्तरुपमा संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

    पार्टी महासचिव विप्लवले सोमाबर २ पेज लामो विज्ञप्ति सार्वजनिक गर्दै बैसाख ६ गतेदेखि केपी ओली सहभागी हुने देशका विभिन्न भागका कार्यक्रमहरुमा वन्दको आयोजना गरी सामाजिक दलालहरुलाई प्रतिवन्धीत गर्ने उद्घोष गरेका छन् ।

    नेपाल कम्युनिष्ट पार्टी नेपाली जनता जनयुद्ध एवं आन्दोलनको उपलब्धीहरुको हकदार, शान्ति, वार्ता र सम्झौताको नाममा देश, जनता र क्रान्तिलाई भएको धोकाको प्रतिवाद गर्ने पार्टी र एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत नेपाली क्रान्तिलाई अगाडि बढाईराखेको पार्टी भएकोले यसलाई नजिस्काउन उनले चेतावनी समेत दिएका छन् ।

    विप्लवले भनेका छन्- ‘इतिहासमा जनआन्दोलन र जनयुद्धमा देश र नेपाली जनतामाथि घात, धोका, वेइमानी, छलकपट र अपराधको प्राय केपी पिके गिरोह र केपी सरकारले हाम्रो पार्टी एकीकृत जनक्रान्ति र नेपाली जनतालाई नजिस्क्याउन चेतावनी दिन्छ ।’

    ओली सरकारको फाँसीवादी दमनको नेपाली जनतासहित आफ्नो पार्टीले शक्तिशाली प्रतिवाद गर्ने र त्यसबाट निस्कने भयवह परिणामको जिम्मेवार केपी पिके गिरोह र ओली सरकार हुने उनको चेतावनी छ ।

    महासचिव विप्लवले भनेका छन्- ‘नेपाल राष्ट्र र नेपाली जनताको यो हवीगत बनाउने दलाल पूँजीपति वर्ग र त्यसको प्रतिनिधित्व गर्ने ओली सरकारको फाँसीवादी दमनको नेपाली जनता सहित हाम्रो पार्टीले शक्तिशाली प्रतिवाद गर्ने छ । त्यसबाट निस्कने भयवह परिणामको जिम्मेवार केपी पिके गिरोह र ओली सरकार हुने छ । हाम्रो पार्टी माथी प्रतिवन्ध लगाएर वा क्रान्तिमाथि दमन गरेर जन क्रान्तिलाई सिध्याउला वा आत्मसर्पण गराउला भन्ने भ्रमपूर्ण मनोदशाबाट मुक्त रहन समेत ओली सरकारलाई पार्टी स्पष्ट गर्न चाहन्छ ।’

    नेतृत्वको गद्धारी, विचलनता र धोकाधडीका कारण नेपाली जनयुद्ध र जनआन्दोलनहरु अपूर्णतामा टुङ्गिए पनि अहिलेको अवस्थामा देशमा सृजना भएको राजनैतिक परिस्थिति र उपलब्धीहरु १० वर्षको नेपाली जनयुद्धको नेतृत्व र जनआन्दोलनको सहयोगको योगमा हासिल भएकाे उनले प्रष्ट पारेका छन् । यहि नै नेपाली राजनैतिक आन्दोलन र विगतको नेपालको क्रान्तिकारी आन्दोलनको अकाट्य सत्य भएको उनको तर्क छ ।

    ०६२÷०६३ पछि शान्ति प्रक्रिया र वार्ताको नाममा नेपाली जनयुद्ध, माओवादी पार्टी, जन आन्दोलन, जनयुद्धको विचार, राजनैतिक कार्यक्रम र क्रान्तिको पूर्णताका विरुद्ध देशी विदेशी प्रतिक्रियावादी सड्यन्त्र हुन थालेपछि वैदेशिक साम्राज्यवाद, संसदीय प्रतिक्रियावाद र प्रचण्ड मण्डलीको आत्मसमर्पणवाद विरुद्ध जीवनमरणको संघर्षबाट नेपाल कम्युनिष्ट पार्टी जन्मेको विप्लवले बताएका छन् ।

    उनले भनेका छन्- ‘यो पार्टीको काँधमा १० वर्षका जनयुद्ध र १९ दिनको जनआन्दोलनको राजनैतिक उपलब्धीहरुको रक्षा गर्नु, शान्ति एवं वार्ताका वाहानामा नेपाली क्रान्ति र परिवर्तनका विरुद्ध भएका सड्यन्त्रहरुको प्रतिवाद गर्नु र देशको मुक्ति एवं नेपाली श्रमजीवी जनताको राज्यसत्ताको प्रतिनिधित्व गर्ने वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने जिम्मेवारी र कर्तव्य रहेको छ ।’

    स्थापना कालदेखि नेकपा एकीकृत जनक्रान्तिको कार्यदिशाको दिशा निर्देशमा नेपाली क्रान्तिको ऐतिहासिक प्रक्रियामा रहेको विप्लवको भनाई छ । १० वर्षे जनयुद्धलाई आतंककारी हत्यारा भनि उछिट्टाे काट्ने र दमनमा सबै संसदीय प्रतिक्रियावादीलाई उछिन्ने, ०६२÷०६३ पछि जनयुद्ध, माओवादी र परिवर्तनका मुद्दाका विरुद्ध सबभन्दा बढी सड्यन्त्र गर्ने ओली गिरोह विगतका नेपाली क्रान्ति र जन आन्दोलनको विरुद्धमा खडा हुँदै आएको भन्दै विप्लवले अहिले पनि आफ्नो पार्टी र यसको नेतृत्वमा संचालित एकीकृत जनक्रान्तिका विरुद्ध खनिएको बताए ।

    ‘०२८ सालको झापा विद्रोहका जनताका हतियार कोशी नदीमा फ्याकेको, ०४६ सालको जनआन्दोलनमा सामन्तवादसंग आत्मसर्पणवादी सम्झौता गरी जनतालाई धोका दिएको, ०५२ सालमा शुरु भएको जनयुद्धका १० वर्षमा माओवादी र जनयुद्धलाई आतंककारी हत्यारा भनि उछित्तो काट्ने र दमनमा सबै संसदीय प्रतिक्रियावादीलाई उछिन्ने र ०६२÷०६३ पछि जनयुद्ध, माओवादी र परिवर्तनका मुद्दाका विरुद्ध सबभन्दा बढी सड्यन्त्र गर्ने ओली गिरोह विगतका नेपाली क्रान्ति र जन आन्दोलनको विरुद्धमा खडा हुने र दमन गर्ने शासकहरुलाई मात गर्दै हाम्रो पार्टी र यसको नेतृत्वमा संचालित एकीकृत जनक्रान्तिका विरुद्ध खनिएको छ ।’

    विप्लवले षडयन्त्रकारी ओलीकै सति पुष्पकमल दाहाल पनि  गएको बताएका छन् । ओली गिरोह दलाल पूँजीपति वर्गको स्वार्थ र साम्राज्यवादी मालीकको सेवाका निम्ति विगतको जनयुद्ध र जनआन्दोलनका उपलब्धीहरुलाई निमिट्यान्न पार्ने, राष्ट्र घात, जन घात, भ्रष्टचार, कमिशन, मानव बेचविखन, हत्या, आतंक, वलात्कारलाई लोकतान्त्रीक गणतन्त्र र संविधान कार्यन्वयनको जामा पहिराउने धृष्टता गरिराखेको भन्दै उनले आक्रोश पोखेका छन् ।

    विज्ञप्तिमा भनिएको छ- ‘त्यसमा पिके दाहाल पनि सति गएका छन । यो गिरोह दलाल पूँजीपति वर्गको स्वार्थ र साम्राज्यवादी मालीकको सेवाका निम्ति विगतको जनयुद्ध र जनआन्दोलनका उपलब्धीहरुलाई निमिट्यान्न पार्ने, राष्ट्र घात, जन घात, भ्रष्टचार, कमिशन, मानव बेचविखन, हत्या, आतंक, वलात्कारलाई लोकतान्त्रीक गणतन्त्र र संविधान कार्यन्वयनको जामा पहिराउने धृष्टता गरिराखेको छ । यस बाट पुराका पुरा सर्तक रहन देशभक्त एवं परिवर्तनकामी राजनैतिक शक्ति र आम नेपाली जनतामा हाम्रो पार्टी विशेष अपिल गर्दछ ।’

    संघर्षका कार्यक्रम अन्तर्गत चैत्र २६ देखि २९ गतेसम्म प्रतिवन्ध विरुद्ध पर्चा वितरण र भण्डाफोर गर्ने, वैशाख २ गते कोण सभा, वैशाख ३ गते अन्तरक्रिया, वैशाख ४ गते मशाल जुलुस र ५ गते नेपाल बन्दको आयोजना गरिएको छ । त्यस्तै वैशाख ६ गतेबाट केपी ओली सहभागी हुने देशका विभिन्न भागका कार्यक्रमहरुमा वन्दको आयोजना गरी सामाजिक दलालहरुलाई प्रतिवन्धीत गर्ने विज्ञप्तिमा उल्लेख छ ।

    विप्लवले ओली सरकारको प्रतिबन्धलाई ‘नेपाल कम्युनिष्ट पार्टी र नेपाली जनताका क्रान्तिकारी कार्यक्रम एवं क्रियाकलापका विरुद्धको पागलपूर्ण राजनैतिक वकवास फाँसीवादी फौजी दमन र अफवाहपूर्ण प्रचारबाजी’ भनेका छन् । उनले सरकारकाे प्रतिबन्ध र अन्य कदमलाइ दृढतापूर्वक प्रतिवाद गर्ने पनि बताएका छन् ।

    उनले भनेका छन्- ओली सरकार र राम बहादुर थापा गृह प्रशासनको हाम्र्रो पार्टी र नेपाली जनताका क्रान्तिकारी कार्यक्रम एवं क्रियाकलापका विरुद्धको पागलपूर्ण राजनैतिक वकवास फाँसीवादी फौजी दमन र अफवाहपूर्ण प्रचार बाजीको हाम्रो पार्टी घोर निन्दा एवं भत्र्सना गर्दछ । यसको दृढताका साथ प्रतिरोध गर्न सिङ्गो पार्टी पंक्ति र आम नेपाली जनतामा पार्टी विशेष अपिल गर्दछ ।’

    प्रधानमन्त्री समेत रहेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीका कार्यक्रममा प्रतिबन्ध लगाउनु अघि नेकपाले बैसाख ५ गते नेपाल बन्दको आह्वान गरेको छ ।

    हेर्नुहोस् यस्तो छ विज्ञप्ति

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ