• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेपाल बन्द फिर्ता लिएपछि विप्लवलाई बारले दियो धन्यवाद, अरु कसले के के भने ?

    11.2K
    SHARES



    काठमाडौं । विद्रोही नेपाल कम्युनिस्ट पार्टीले चैत्र १६ गतेको नेपाल बन्द फिर्ता लिएपछि सामाजिक सञ्जाल प्रयोकर्तादेखि अभिभावक, बार एसोसिएसन र विद्यार्थीहरु समेतले धन्यवाद दिएका छन् । नेपाली जनताको हितलाई ध्यानमा राखेर नेकपाले लिएको यो निर्णय सराहनीय भएको उनीहरुले प्रतिक्रिया दिएका छन् ।

    बुधबार साँझ नेकपा महासचिव विप्लवले एक प्रेस विज्ञप्ति सार्बजनिक गर्दै ओली सरकारको ज्यादती र दमनबिरुद्ध प्रतिरोध अनिवार्य सर्त बने पनि विद्यार्थीहरुको एसईई परिक्षा र नेपाल बार एसोसिएसनको निर्वाचनलाई मध्यनजर गर्दै नेपाल बन्द फिर्ता लिएको घोषणा गरेका थिए ।

    महासचिव विप्लवको उक्त घोषणापछि नेपाल बार एसोसिएसनले जिम्मेवार राजनीतिक दलले जनताको पक्षमा गरेको निर्णयले अत्यन्तै खुसी तुल्याएको बताएको छ । नेपाल बन्द फिर्ता भएपछि संचारकेन्द्रसंग प्रतिक्रिया दिँदै नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले विप्लव नेतृत्वको नेकपालाई धन्यवाद दिएका छन् ।

    ‘हाम्रो निर्वाचन पूर्वनिर्धारित कार्यक्रम हो । ११ गते नेकपा महासचिव विप्लवजीले आफ्नो पार्टीमाथिको धरपकड, गिरफ्तारीबिरुद्ध भनेर बिभिन्न आन्दोलनका कार्यक्रम घोषणा गर्नुभएको रैछ ।’ अध्यक्ष केसीले संचारकेन्द्रसँग भने – ‘१६ गते नेपाल बारको चुनाव गर्ने भनेर हामीले त्यहिअनुसार सबै तयारी गरिसकेकोको अवस्थामा त्यहि दिन नेपाल बन्द हुने खबरले दुखित तुल्याएको थियो । फेरी विद्यार्थीहरुको परिक्षालाई ध्यानमा राखेर १६ गते शनिबार बन्द गरिएको रहेछ तर १६ गते पनि जाँच  थियो । त्यसैले हामीले नेपाल बन्द फिर्ता लिइदिन आग्रह गरेका थियौं  । उहाँहरुले सजिलै बुझिदिनु भयो । हामी अत्यन्तै खुसी छौं ।’

    अध्यक्ष केसीले नेपाल बार एसोसिएसनको तर्फबाट नेपाल कम्युनिष्ट पार्टीलाई धन्यवाद ज्ञापन पनि गरेका छन् । साथै सरकारले विप्लव नेतृत्वको नेकपा यूअत राजनीतिक पार्टी भएकाले राजनीतिक पार्टीमाथि राजनीतिक ब्यबहार गर्नुपर्ने बताए । प्रतिबन्धले समस्या समाधान हुनुभन्दा पनि समस्या बल्झिने भन्दै अहिले नेकपामाथिको प्रतिबन्ध नेपालको संबिधान बिपरित भएको बताए ।

    नेपालको संबिधान २०७२ को धारा २७० बमोजिम राजनीतिक दललाई प्रतिबन्ध लगाउन नपाइने स्पष्ट व्यबस्था हुँदाहुँदै पनि सरकारले त्यसको बिरुद्ध गएर विप्लव नेतृत्वको नेकपामाथि गैर संबैधानि तरिकाले प्रतिबन्ध लगाउनु बेठिक भएको उनले बताए ।

    यसअघि मंगलबार पनि नेपाल बार एसोसिएसनले ‘नेपालको संबिधान २०७२ को धारा २७० बमोजिम राजनीतिक दललाई प्रतिबन्ध लगाउन नपाउने स्पष्ट संबैधानिक व्यबस्थाको प्रतिकुल हुनेगरी भए गरेको मन्त्रिपरिषद्को निर्णय गैर संबैधानिक रहेको नेबाएको ठहर छ’ भनेको थियो ।

    नेपा बन्द फिर्ता लिएसँगै वर्तमान सामाजिक दलाल फासीवादी सत्ताले आफ्नो पार्टी र उसका गतिविधि माथि प्रतिबन्ध लगाउने निहुँमा देशभरी गरिराखेको प्रहरी अप्रेशन, हिंसा र गोलीसम्म हान्नेजस्तो कुकार्यको आफूहरुको पार्टीले छिट्टै उचित जवाफ दिने पनि विप्लवले बताएका छन् ।

    उनले उपयुक्त समयमा नयाँ संघर्षको कार्यक्रम पनि घोषणा गरिने विज्ञप्तिमार्फत जानकारी दिएका छन् । साथै ओली सरकारको ज्यादती, दमन र मनपरीबिरुद्ध नेकपाले आगामी दिनमा सार्वजनिक कार्यक्रमहरुलाई सबै पक्षबाट सहयोग, समर्थन, ऐक्यबद्धताको अपेक्षा राखेको समेत उनले बताएका छन् ।

    बुधबार नेपाल बन्द फिर्ता भएपछि नेकपालाई धेरैले धन्यवाद दिएका छन् । ओली सरकारले नेकपामाथि लगाएको प्रतिबन्धको चौतर्फी विरोध भइरहेको छ । सरकारले विप्लवलाई अपराधिक समूह भन्दै सहयोग गर्नेलाई कारवाही गर्ने चेतावनी दिएपनि प्रतिबन्धको खुलेर विरोध भइरहेको छ ।

    राजनीतिक पार्टीले मात्रै नभइ पत्रकार, साहित्याकार, समाजसेवी, वकिल, मानव अधिकारवादीले प्रतिबन्धको विरोध गरिरहेका छन् । प्रतिबन्धले देशमा फेरि द्वन्द्व निम्तिने भन्दै आम नागरिकले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले सरकारलाई वार्ता र संवादबाट समाधान खोज्न सुझाव पनि दिइरहेका छन् ।

    हेर्नुहोस बिज्ञप्ति जस्ताको त्यस्तै

    बन्द फिर्ता लिइएको बारे
    केपी—प्रचण्ड सरकारले हाम्रो पार्टीका गतिविधिलाई लिएर प्रतिबन्ध घोषणा गर्नुका साथै स्थायी समितिका सदस्य कमरेड सुदर्शन लगायतका सयौंको संख्यामा नेता-कार्यकर्ता, समर्थक र शुभचिन्तकहरुलाई गिरफ्तार गरी झुठो मुद्दा लगाउने, दिनदिनै गाउँहरुमा अप्रेशन गर्नुका साथै गोलीसम्म हान्ने गरेको छ ।

    यसरी एउटा जिम्मेवार, देश र जनताको पक्षमा सङ्घर्ष गर्दै आएको सच्चा कम्युनिस्ट पार्टीमाथि गरिएको दमनका विरुद्ध प्रतिरोध गर्नु हाम्रालागि अनिवार्य सर्त बनेको छ । यो सामाजिक फासीवादी सरकारले आफ्नो लुटको स्वर्ग बचाउनका लागि जनतामा त्रास पैदा गर्ने, दमन मच्चाउने कार्यलाई कुनै क्रान्तिकारी शक्तिले सहन गर्ने कुरै भएन । त्यसैले हाम्रो पार्टीका तर्फबाट यही चैत १६ गतेका दिन आमहडतालसहित नेपाल बन्दको आव्हान गरेको थियो ।

    तर शनिबार नै भएपनि उक्त दिन ४ लाख ७५ हजार ३ जना विद्यार्थीको माध्यमिक शिक्षा परीक्षा परेको र परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले परीक्षामा अवरोध नगरिदिनका लागि अपील गर्नुका साथै, त्यसै दिन नेपालका कानून व्यावसायिहरुको नयाँ नेतृत्व छनौटका लागि निर्वाचन पर्न जानुका साथै नेपाल बार एसोसिएशनले पनि एक वक्तव्य मार्फत सहयोग गर्न गरेको आग्रहलाई ध्यानमा राख्दै एक जिम्मेवार पार्टीको हैसियतले उक्त दिनको आमहडतालका साथै नेपाल बन्दको कार्यक्रम अहिलेका लागि स्थगित गरिएको छ ।

    तर वर्तमान सामाजिक दलाल फासीवादी सत्ताले हाम्रो पार्टी र उसका गतिविधिमाथि प्रतिबन्ध लगाउने निहुँमा देशभरी गरि राखेको प्रहरी अप्रेशन, हिंसा र गोलीसम्म हान्ने जुन कुकार्य गरेको छ । त्यसको हामी उचित जवाफ दिने छौं । साथै उपयुक्त समयमा नयाँ संघर्षको कार्यक्रम पनि घोषणा गरिनेछ । ति कार्यक्रमहरुलाई सबै पक्षबाट सहयोग, समर्थन, ऐक्यबद्धताको अपेक्षा राख्दछौं ।

    विप्लव
    महासचिव
    मितिः—२०७५ चैत १३

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ