• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पूर्व माओवादीका अधिकांश नेता विप्लवको पक्षमा, केपी ओलीलाई देउवाको साथ, बाबुराम रुष्ट

    13.6K
    SHARES



    काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णयको सत्तारुढ दल नेकपाकै नेताहरुले विरोध जनाउन थालेका छन् ।

    उनीहरुले सरकारी कदम हतारमा भएको टिप्पणी पनि गरेका छन् । काठमाडौंमा बुधबार भएको साक्षात्कारमा नेकपा नेता देवेन्द्र पौडेलले विप्लव नेतृत्वको नेकपाको गतिविधिलाई आपराधिक ठहर गर्दे प्रतिबन्ध लगाउने निर्णय हतारमा भएको टिप्पणी गरे ।

    उनले वार्ता, सहमति र संवादबाटै समस्या सामधान गर्न सरकारसंग आग्रह गरे । उनले नेपाललाई पुनः द्वन्द्वमा फसाउने षड्यन्त्र भइरहेको भन्दै द्वन्द्वको क्रिडास्थल हुनबाट जोगाउनु पर्ने बताए ।

    यस्तै सत्तारुढ नेकपानिकट युवा सङ्गठनवाईसीएलका अध्यक्ष दीपशिखाले पनि विप्लव नेतृत्वको नेकपासँग राजनीतिक ब्यबहार गर्नुपर्ने बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले कम्युनिष्टहरुले कसैलाई पनि हेप्ने, चेप्ने काम गर्न नहुने बताएका छन् ।

    ‘विप्लव नेकपामाथि राजनीतिक समाधानको बाटो खोज्नुपर्छ, उनका राजनीतिक माग सार्वजनिक गर्न लगाउनुपर्छ । सम्भव भए पुरा गर्ने र नभए यो हुँदैन भनेर जनताले बुझ्ने गरी भनिदिनुपर्छ ! कम्युनिष्टहरूले कसैलाई हेप्नु र चेप्नु हुँदैन !’ उनले भनेका छन् । सार्वजनिकरुपमै बोल्न नसके पनि अधिकांश पूर्वमाओवादी नेताहरुले नेकपामाथिको प्रतिबन्धको कडा बिरोध गरेका सत्तारुढ नेकपाका एक केन्द्रीय सदस्यले संचारकेन्द्रलाई बताए ।

    ति केन्द्रीय नेताका अनुसार अहिले ओली प्रचण्डलाई प्रचण्डको समेत बेवास्ता गरेर एकलौटी ढंगले निर्णय लिन थालेका छन् । नेकपामाथि प्रतिबन्ध लगाउने सवालमा पनि प्रचण्डसँग खासै सल्लाह नभएको उनले बताए ।

    यस्तै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले नेपाल कम्युनिष्ट पार्टीमाथि सरकारले लगाएको प्रतिवन्ध गलत भएको बताएको छ । राजपा नेपालका अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले संसदमा बोल्दै  नेकपा पनि एउटा राजनीतिक शक्ति भएको भन्दै सोको समाधान पनि राजनीतिक रुपमा गर्नुपर्ने बताए ।

    सरकारले पूर्वाग्रही ढंगबाट अगाडि बढिरहेको आरोप लगाउँदै उनले राजनीतिक समस्यालाई राजनीतिक रुपमा समाधान गर्नुपर्ने बताए ।आफ्ना पार्टीका नेता रेशम चौधरी मुद्दा पनि राजनीतिक भएको तर राज्यले जर्वजस्ती कानुनी मुद्दा बनाएर फसाएको बताउँदै उनले विप्लवको समस्या पनि राजनीतिक समस्या भएकाले वार्ता र संवादमार्फत निकास खोजिनुपर्नेमा जोड दिए ।

    उनले भने, ‘अहिलेको सरकारलाई शक्तिको उन्माद छ । आफूले भने नमान्ने र समर्थन नगर्नेलाई जवर्जस्ती गरिरहेको छ ।’ उनले थपे, ‘सरकारले जनतासँग गरेको प्रतिवद्धता अनुसार काम गर्न सकिरहेको छैन, त्यसका कारणको आलोचना शुरु भएको छ । त्यही आलोचनालाई ढाकछोप गर्नका लागि सरकारले अहिले विभिन्न हर्कतहरु गरिरहेको छ ।’

    पार्टीमाथि प्रतिवद्व लगाएर सरकार दमनमा गए भयानक अवस्था निम्तिने भन्दै यादवले शक्तिको उन्मादमा सरकारले देशलाई द्वन्द्वमा फसाउने प्रपञ्च गरिरहेको आरोप लगाए । सरकारले छलफल र वार्ताको वातावरण बनाउन छाडेर शक्ति दुरुपयोग गरिरहेको उनको आरोप छ ।

    के भन्छन् बाबुराम ?

    यता नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले नेकपामाथि प्रतिबन्ध लगाउने निर्णयप्रति विरोध गरेका छन्। साथै, उनले उनले सामाजिक सञ्जाल गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव ‘विप्लव’को फोटो राखेर ऐतिहासिक प्रसंग कोट्याउँदै नेपालमा इतिहास दोहोरिने त हैन भन्दै आशंक गरेका छन् ।

    पूर्वप्रधानमन्त्री एवं पूर्वमाओवादी नेता समेत रहेको भट्टराईले सोमबार मध्यरातमा आफ्नो फेसबुकको वालमा लेखेका छन्,- मार्क्सले हेगेललाई उद्धृत गर्दै भनेका थिए : ‘इतिहास दुइ चोटि दोहोरिन्छ-पहिलो चोटि वियोगान्त (Tragedy) रूपमा र दोश्रो चोटि मजाक (Farce) रूपमा!’

    सरकारले विप्लव नेतृत्वको नेकपालाई अपराधिक भनेको विषयलाई उठाउँदै बाबुरामले लेखेका छन्,-‘नेकपा डबल सरकारले नेकपा बिप्लव समूहलाई ‘अपराधिक’ भन्दै औपचारिक रूपले प्रतिबन्धित गरेको छ र उसका विरूद्ध राज्यको सुरक्षा शक्ति प्रयोग गर्ने घोषणा गरेको छ। एउटा कम्युनिष्ट भन्ने पार्टीको सरकारले अर्को कम्युनिष्ट नै दावी गर्ने समूहलाई यसरी दमन गर्ने तयारी देख्दा विश्व इतिहासका यस्तै केही चर्चित विडम्वनापूर्ण घटनाको सम्झना गराउँछ ।’

    डा.भट्टराईले एक सय वर्षपहिलेको जनर्मनीको आन्दोलनलाई पनि नेपालसँग तुलना गरेका छन्-‘आज भन्दा ठीक एक सय बर्ष पहिले सन् १९१९ मा जर्मनीको त्यति वेला Social Democratic Party of Germany (SPD) भनिने सुधारवादी कम्युनिष्ट पार्टीको सरकारले Communist Party of Germany (KPD) भनिने क्रान्तिकारी कम्युनिष्ट पार्टीमाथि दमन गरेर उनीहरूका नेताहरू रोजा लक्जेम्बर्ग, कार्ल लाइभ्नेख्त लगायतको नृसंस हत्या गरेको थियो । त्यसरीनै भारतको पश्चिम बंगालमा सन् १९६७-०७२ मा त्यहाँको सुधारवादी कम्युनिष्ट पार्टी CPM को सरकारले क्रान्तिकारी कम्युनिष्ट पार्टी CPI-MLमाथि भीषण दमन गरेर चारू मजुमदारलगायतका नेताहरूको हत्या गरेको थियो।’

    यसरी २ खेमामा विभाजित कम्युनिस्टको अवसान भएको उनको निस्कर्ष सुनाउँदै प्रश्न गरेका छन्, ‘के नेपालमा पनि त्यही इतिहास दोहोरिन लागेको हो?’

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेकपामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको निर्णपछि प्रहरीले विप्लवका नेता कार्यकर्तालाई जहाँ भेट्यो त्यहीँ पक्राउ गर्ने तयारी गरेको छ ।

    ओलीलाई प्रमुख प्रतिपक्षी देउवाको साथ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आतंककारी गतिविधिमा संलग्न नेकपालाई प्रतिबन्ध लगाउनु राम्रो कार्य भएको बताएका छन् ।

    विराटनगर विमानस्थलमा सन्चारकर्मीसँग बुधबार संक्षिप्त कुरा गर्दै उनले सार्वजनिक एवं निजी सम्पत्ति तोडफोड, जनतामा त्रासको वातावरण सिर्जना गर्ने क्रियाकलापको नियन्त्रण गर्न सरकारले गरेको कार्य उचित भएको प्रस्ट पारे ।

    पूर्वप्रधानमन्त्री देउवाले विखन्डनवादी सोचका सीके राउतलाई राष्ट्रिय राजनीतिमा ल्याउन र वर्तमान संविधानलाई स्वीकार्य गराउन गरिएको सरकारको सहमति राम्रो काम भएको बताउँदै ११ बुँदे सम्झौतामा जनमतसंग्रह गर्ने भन्ने सहमति भएको भए त्यो मुलुकका लागि दुर्भाग्य हुने विचार व्यक्त गरे ।

    उनले सर्वोच्च अदालतबाट टीकापुर घटनाका दोषी रेशम चौधरीलाई सजाय हुनु निहत्था मृत्यु भएका जनताले न्याय पाएको बताउँदै वार्ताका लागि भनेर प्रहरीलाई हतियारबिना आउन आह्वान गरी प्रहरी र बालकको हत्या गर्नु आपराधिक क्रियाकलाप भएको धारणा व्यक्त गरे ।

    नेपाल एअरलाइन्सले खरिद गरेको ‘वाइडबडी’ एअरबसमा भ्रष्टाचार भएको सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग समयको अभावका कारण छलफल गर्न नसेकको बताउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस सम्बन्धमा छानबिन गरी सत्यतथ्य जनतासमक्ष ल्याउनुपर्नेमा उनले जोड दिए ।

    यता नेपाली काँग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी ओलीको सनकका कारण मुलुक द्वन्द्वतर्फ धकेल्न खोज आरोप लागएका छन् । मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले नेकपामाथि प्रतिबन्ध लगाएकोप्रति इंगित गर्दै उनले यस्तो बताएका हुन् ।

    महिला संघले अर्घाखाँचीको सन्धिखर्कमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता थापाले प्रधानमन्त्रीको सनकले देश नचल्ने बताए दाबी गरे । ‘गिरिजाबाबुको नेतृत्वमा तत्कालिन माओवादीसँग सहमति गरेर देशमा शान्ति स्थापना भया । अहिले केपी ओलीले फेरी देशलाई अशान्ती र द्वन्द्वतर्फ धकेल्न खोजे । सनकले देश चल्दैन ।’ उनले भने ।

    ओली सरकारले भष्टचारलाई रोक्न नसकेको, जनताका आधारभूत आवश्यकता पुरा गर्न नसकेको र दुई तिहाइको दम्भले सरकार तानाशाही बन्नतर्फ लागेको उनको आरोप थियो ।

    साथै थापाले संसदमा विपक्षी दल काँग्रेस छ भन्ने पनि हेक्का नराख्नु ओलीको लागि भुल हुन पनि बताए । उनले देशलाई बचाइराख्न अब काँग्रेसले सशक्त भूमिका रचनात्मक तरिकाले अगाडि सर्नु पर्नेमा जोड दिए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ