• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बैद्य माओवादीको कारवाहीमा परेपछि सुगतरत्न कंसाकारले दिए यस्तो प्रतिक्रिया

    11K
    SHARES

    अन्जन रेग्मी, काठमाडौं । वाइडबडी विमान खरिदमा अनियमितताको आरोप लागेका नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई उनकै कार्यकक्षमा कालोमोसो दलियो । मोहन बैद्यले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी)को युवा दस्ताले कालोमोसो दलेको हो ।

    उक्त पार्टीले घटनाको जिम्मा समेत लिइसकेको छ । सो पार्टीको युवा संगठन क्रान्तिकारी युवा लिग, नेपाल ३ नं. प्रदेशले नेपाल वायु सेवा निगमका महाप्रबन्धक कंसकारमाथि गरिएको कारबाहीको जिम्मा लिदै वाइडबडी प्रकरणका मुख्य दोषी देखिएकाले उनीमाथि कारबाही गरिएको जनाएको छ ।

    लिगको ३ नं. प्रदेशका संयोजक संकल्पले घटना लगत्तै एक वक्तव्य जारी गरी संगठनकै योजनामा निगमभित्र कंसकारकै कक्षमा कालोमसो दली कारबाही गरेको जनाएका छन् । तर यता कारवाहीमा परेका कंसाकारले भने मागे अनुसार चन्दा नदिएपछि आफूमाथि कालोमोसो दलिएको बताएका छन् ।

    उनले ‘उनीहरुले मसँग चन्दा मागे, मैले दिन सक्दिन भनेपछि कालोमोसो दलेर भागे ।’ उनले मागे जति आर्थिक सहयोग उपलब्ध नगराएकै कारण कालो मोसो दलेको दाबी गरेका हुन् । तर, मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादीका बरिष्ठ नेता सिपी गजुरेलले कंसाकारले भ्रष्टाचारीलाई ढाकछोप गर्न बनावटी कुरा गरेको प्रतिक्रिया दिएका छन् ।

    ‘देशको यति ठूलो भ्रष्टाचार काण्ड बाहिर आएपछि पार्टीका युवाहरुले कारबाही गरेका हुन्, पैसा मागे भन्नु निराधार आरोप हो । कंसाकारले आफ्नो भ्रष्टाचारलाई ढाकछोप गर्न बनावटी कुरा गरेका होलान्,’ उनले भने,‘भ्रष्टाचार विरुद्ध पार्टीले अभियान चलाइरहेको छ यही क्रममा आज युवाहरुले एक्सन लिएका हुन् ।’

    उनले मन्त्री नै भ्रष्टाचारमा सामेल भएको सूचना सञ्चारमाध्यममा आउँदा समेत अख्तियार लगायत जिम्मेवार संस्थाहरु मौन बसेको बताए । उनले पार्टी नीति अनुसार नै युवाहरुले कंसारकारमाथि कारबाही गरेको टिप्पणी गरे । कंसाकारले लगाएको आरोपको जवाफमा गजुरेलले पार्टीमाथि अनावश्यक लान्छना नलगाउन चेतावनीसमेत दिएका छन् ।

    लेखा समितिले गठन गरेको उपसमितिले वाइडबडी खरिद प्रकृयामा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको र तत्कालिन पर्यटनमन्त्रीद्वय जिवनबहादुर शाही र जितेन्द्र देवसँगै बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई दोषी ठहर गरेको थियो ।

    प्रतिवेदनले नेपाल वायुसेवा निगमका महाप्रवन्धक कंशकार र गृहसचिव प्रेम राईले पनि अनियमितता गरेको प्रतिवेदनमा उल्लेख थियो ।घटनाको जिम्मा लिदै युवा सङ्गठनले बुँदागत रुपमा जारी गरेको वक्तव्यको पूर्णपाठ यस्तो रहेको छ

    “क्रान्तिकारी युवा लिग, नेपाल ३ नंं. प्रदेशको योजनामा आज (२०७५÷०९÷२० गते) नेपाल वायु सेवा निगमका भ्रष्ट महाप्रबन्धक सुगतरत्न कंसकारमाथि उनकै कार्यकक्षमा दिउसो ४ बजे कालोमसो दली कारबाही गरिएको छ । यस कारबाहीबारे हाम्रो संगठनको धारणा सार्वजनिक गर्न हामीले यो वक्तव्य जारी गरेका छौं ।

    १ पर्यटन मन्त्रालय तथा नेपाल वायु सेवा निगम समेतको संलग्नतामा खरिद गरिएको दुईवटा वाइडबडी जहाज (ए ३३०–२००) को खरिद प्रक्रियामा राज्य स्रोत, साधनको चरम दुरुपयोग गरी ४ अर्ब ३५ करोडभन्दा बढी अनियमितता भएको र त्यसमा निगमका महाप्रबन्धक कंसकारको मुख्य भूमिका देखिएकोले उनीमाथि कारबाही गरिएको हो ।

    २ यतिबेला नेपालमा एकातिर साम्राज्यवादी–विस्तारवादी विदेशी शक्तिकेन्द्रको निर्देशन र समर्थन प्राप्त दलाल प्रतिक्रियावादी शक्ति राज्यसत्ता सञ्चालनको केन्द्रमा छ भने अर्कोतिर लाखौं लाख उत्पीडित सर्वहारा मजदुर किसान जनताको समर्थन र बलिदानको बीचबाट हाम्रो गौरवशाली पार्टी नेकपा (क्रान्तिकारी माओवादी)को नेतृत्वमा वर्तमान दलाल प्रतिक्रियावादी सत्ताको विरुद्धमा नयाँ जनवादी क्रान्तिको अभियानमा भीषण तयारी गर्दै अगाडि बढिरहेको छ ।

    ३ देशमा जनताले आजसम्म गरेको आन्दोलन, लडेको जनयुद्ध र त्यसको म्याण्डेट विपरीत हत्या, हिंसा, लुट, आतंक, बलात्कार जस्ता जघन्य सामाजिक अपराधका घटनाले स्वतन्त्रतापूर्वक बाँच्न पाउने आम जनताको न्याय प्रदत्त अधिकार विपरीत समाजको शान्ति सुरक्षाको स्थिति थिलथिलो भएको छ भने राष्ट्रघात, जनघात र संस्थागत भ्रष्टाचारले सीमा नाघेको छ । जसको पछिल्लो कडीको रुपमा वाइडबडी जहाज खरिद प्रकरणलाई जोड्न सकिन्छ ।

    ४ वाइडबडी जहाज खरिद प्रकरणमा जहाजको बोलपत्र मूल्यांकन तथा प्रस्ताव छनौंट, जहाज खरिद प्रक्रिया, खरिद बिक्री सम्झौता र भुक्तानी प्रक्रियामा ४ अर्ब ३५ करोडभन्दा बढी भ्रष्टाचार भएको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले मंगलबार मात्र प्रतिवेदन सार्वजनिक गरेको छ । जसमा वर्तमान पर्यटनमन्त्री रविन्द्र अधिकारी, पूर्वमन्त्रीद्वय जीवनबहादुर शाही र जितेन्द्र नारायण देवसहित पूर्व सचिव, वहालवाल सचिव र विभिन्न कर्मचारीको नाम सार्वजनिक गरेको छ । यसमा नेपाल वायु सेवा निगमका महानिर्देशक सुगतरत्न कंसकारको मुख्य भूमिका रहेको पनि तथ्यहरुले पुष्टि गरेको छ ।

    ५ यस पृष्ठभूमिमा भ्रष्ट मन्त्री र कर्मचारीहरुलाई जिम्मेवारीबाट बर्खास्त गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनु पर्नेमा सरकारले यही १८ गते पूर्व प्रधानन्यायाधिश गोविन्द पराजुलीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । सरकारको यो कदम भ्रष्ट मन्त्री र कर्मचारीलाई चोख्याउन गरिएको बद्नियतपूर्ण कार्य हो ।

    ६ अन्तमा, हाम्रो संगठन देशभित्र र बाहिर छरिएर रहेका आम शोषित पीडित युवाहरुलाई क्रान्तिकारी युवा लिग, नेपालले भ्रष्टाचार, तस्कर, माफियाहरुका विरुद्ध थालेको यो अभियानमा लामबद्ध हुन हार्दिक आव्हान समेत गर्दछ ।”  संकल्प संयोजक

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ