• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय समाचार

    हर्मुजमा आफ्नो जहाजमाथि इरानले आक्रमण गरेको युएईको आरोप

    370
    SHARES



    काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानले हर्मुज जलमार्गमा आफ्नो सरकारी तेल कम्पनी अबु धाबी नेसनल आयल कम्पनी (एडीएनओसी) को एक जहाजमाथि आक्रमण गरेको आरोप लगाएको छ।

    शुक्रबार हर्मुज जलमार्गबाट पार हुँदै गरेको एडीएनओसीको जहाजमाथि इरानले आक्रमण गरेको युएईले आरोप लगाएको हो। एडीएनओसीले घटनामा कुनै पनि व्यक्ति घाइते नभएको र अवस्था नियन्त्रणमा रहेको जनाएको छ।

    यूएईको विदेश मन्त्रालयले तेहरानलाई जहाजहरूमाथि आक्रमण तत्काल रोक्न तथा शत्रुता अन्त्य गरी र हर्मुज जलमार्ग पूर्ण रूपमा पुनः खोल्न आग्रह गरेको छ।

    घटनाबारे इरानले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन। इरानको रिभोलुसनरी गार्ड्सले यसअघि हर्मुज जलमार्गबाट आवतजावत गर्ने जहाजहरू तेहरानका विरोधी देशसँग सम्बन्धित भए वा इरानका निर्देशन पालना नगरे कारबाही गर्ने चेतावनी दिँदै आएको छ।

    यो एक साताभन्दा कम अवधिमा एडीएनओसीका जहाजसँग सम्बन्धित तेस्रो घटना भएको समाचार संस्था रोयटर्सले जनाएको छ। यसअघिका घटनामा पनि यूएईले इरानलाई जिम्मेवार ठहराएको थियो।

    यूएईका राष्ट्रपतिका कूटनीतिक सल्लाहकार अनवर गर्गासले लगातार एडीएनओसीका जहाजमाथि भएका आक्रमणपछि अबुधाबीले आफ्नो सार्वभौमिकता र हितको रक्षा गर्ने बताएका छन्।

    ‘हामी जलमार्गमा आवागमनको स्वतन्त्रतासहित आफ्ना अधिकारको रक्षा गर्नेछौं। साथै संवादको बाटोमा अघि बढ्दै कूटनीतिक विकल्पलाई प्राथमिकता दिनेछौँ,’ गर्गासले एक्समा लेखेका छन्।

    यसैबीच, बेलायतको युके मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) ले शुक्रबार हर्मुज जलमार्गमा एउटा बल्क क्यारियर जहाजमा अज्ञात आक्रमण भएको रिपोर्ट प्राप्त भएको जनाएको छ। उक्त घटना पनि एडीएनओसीकै जहाजसँग सम्बन्धित थियो वा थिएन भन्ने तत्काल स्पष्ट हुन सकेको छैन।

    इरान र ओमानबीच रहेको साँघुरो हर्मुज जलमार्ग विश्वको ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण समुद्री मार्ग हो। द्वन्द्व सुरु हुनुअघि विश्वको करिब पाँचमध्ये एक भाग तेल र तरल प्राकृतिक ग्यास यही जलमार्गबाट ओसारपसार हुने गरेको थियो।

    फेब्रुअरी २८ मा अमेरिका–इसराइल र इरानबीच युद्ध सुरु भएयता यस क्षेत्रमा समुद्री ढुवानी पटक–पटक प्रभावित हुँदै आएको छ। यसका कारण जहाजको भाडादर बढ्नुका साथै समुद्री सुरक्षासम्बन्धी चिन्ता पनि बढेको छ।

    अबुधाबीमा आधारित एडीएनओसी यूएईको सरकारी तेल कम्पनी हो। यो विश्वका ठूला ऊर्जा उत्पादकमध्ये एक हो र कच्चा तेल, प्राकृतिक ग्यास तथा प्रशोधित पेट्रोलियम पदार्थ विश्व बजारमा निर्यात गर्छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ