बुटवल । नारायणी नदीमा पानीको सतह बढेर गाउँ पस्ने खतरा उच्च भएपछि पश्चिम नवलपरासीको सुस्ताका स्थानीय बासिन्दाहरू रोकथामका लागि स्वस्फूर्त रूपमा जुटेका छन्। बस्ती जोगाउन उनीहरूले हिजोदेखि बोरामा माटो र बालुवा भरेर, नाइलनको डोरीले बाँध्दै अस्थायी तटबन्ध बनाइरहेका हुन्।
केही दिन पहिले स्थानीयले निर्माण गरेको यस्तै अस्थायी बाँध भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भत्काएको खबर सार्वजनिक भएपछि सुस्ताको यो विषय थप चर्चामा आएको थियो। सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालका अनुसार हाल सुस्ता गाउँपालिका–५ स्थित सुस्ता थारुटोलबाट सीमा क्षेत्र मानिने सिमलको रुखतर्फको भागमा स्थानीयहरू सक्रिय भएर काम गरिरहेका छन्।
उक्त अभियानकी नेतृ लैला बेगम र प्रवक्ता जैसवालको नेतृत्वमा स्थानीय तहको पहल तथा सहयोगमा यो अस्थायी तटबन्ध निर्माण भइरहेको हो। नदीको कटान रोक्न र गाउँमा बाढी पस्न नदिन तत्कालका लागि यो उपाय अपनाइएको जैसवालले जानकारी दिए।
यसअघि नारायणी सिँचाइ तथा जलउत्पन्न प्रकोप व्यवस्थापन आयोजना (भरतपुर) ले ठेक्कामार्फत स्थायी तटबन्ध निर्माणको काम अगाडि बढाएको थियो। तर, भारतीय एसएसबीले माथिल्लो निकायको स्वीकृति चाहिने भन्दै काममा बाधा पुर्याएको स्थानीयको भनाइ छ।
पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बाढी र कटानको सम्भावित जोखिम घटाउन अहिले अस्थायी बाँध बाँध्ने काम भइरहेको बताए। स्थानीयसँगको छलफलपछि नै तत्कालका लागि यो कदम चालिएको र विपद् व्यवस्थापनका यस्ता कार्यमा भारतीय पक्षसँग पनि मौखिक समझदारी भइसकेको उनले स्पष्ट पारे।
जोखिम नियन्त्रणका लागि नारायणी सिँचाइ तथा नेपाल गण्डक पश्चिम नहर सिँचाइ व्यवस्थापन कार्यालयले बोरा र नाइलनका डोरीहरू उपलब्ध गराएको छ। कार्यालयले दिएका सामग्रीका साथै स्थानीयले आफ्नै पुराना बोरा र डोरीहरू समेत प्रयोग गरेर कामलाई निरन्तरता दिइरहेका छन्। गाउँलाई डुबान र कटानबाट जोगाउनु नै अहिलेको मुख्य प्राथमिकता रहेको सुस्तावासीको भनाइ छ।



प्रतिक्रिया