• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    चिकित्सकहरूको आन्दोलनका कारण दोस्रो दिन पनि आकस्मिक बाहेकका सबै सेवा ठप्प

    469
    SHARES



    काठमाडौँ। नेपाल चिकित्सक सङ्घले बुधबार दोस्रो दिन पनि देशभरका सरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका अन्य सबै स्वास्थ्य सेवा बन्द गराएको छ।

    पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण र अस्पताल परिसरमा गरिएको तोडफोडमा संलग्न दोषीहरूलाई कानुनी कारबाही गर्न सरकार उदास बनेको भन्दै सङ्घले आन्दोलनलाई निरन्तरता दिएको हो।

    चिकित्सकहरूको यो आन्दोलनका कारण देशभरका अस्पतालहरूमा बहिरङ्ग (ओपीडी), नियमित स्वास्थ्य परीक्षण, शल्यक्रिया र अन्य गैरआकस्मिक सेवाहरू पूर्ण रूपमा ठप्प बनेका छन्। यद्यपि, सर्वसाधारणको जटिल स्वास्थ्य स्थितिलाई ध्यानमा राख्दै अस्पतालहरूमा आकस्मिक (इमर्जेन्सी) सेवा भने सञ्चालनमा राखिएको छ।

    आन्दोलनको प्रत्यक्ष असर राजधानी काठमाडौँका प्रमुख सरकारी अस्पतालहरूमा परेको छ। विशेष गरी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) र वीर अस्पतालमा उपचारका लागि टाढा-टाढाबाट आएका बिरामीहरूको उल्लेख्य भीड र चाप देखिएको छ।

    नियमित ओपीडी सेवा बन्द भएपछि काउन्टरमा पुगेर पनि बिरामीहरू उपचार नपाई निराश भएर घर फर्कन बाध्य भएका छन्। केही बिरामीहरू भने आकस्मिक कक्षतर्फ लागेका छन् वा वैकल्पिक अस्पतालको खोजीमा भौँतारिएका छन्।

    नेपाल चिकित्सक सङ्घले घटनाका दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याएर कडा कारबाही नगरेसम्म र स्वास्थ्यकर्मीहरूको सुरक्षा सुनिश्चित नगरेसम्म पछि नहट्ने जनाएको छ। माग पूरा नभए आन्दोलनका कार्यक्रमलाई थप कडा र सशक्त बनाउन बाध्य हुने चेतावनीसमेत सङ्घले दिएको छ।

    यता अस्पतालमा सेवा ठप्प हुँदा सास्ती भोग्न बाध्य बिरामी तथा सर्वसाधारणले भने सरकारसँग अविलम्ब समस्या समाधानको माग गरेका छन्। उपचार पाउने नागरिकको मौलिक अधिकार खोसिएको भन्दै उनीहरूले चिकित्सकहरूका जायज मागलाई तत्काल सम्बोधन गरेर अवरुद्ध स्वास्थ्य सेवा यथाशीघ्र सहज बनाउन सरकारसँग आग्रह गरेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ