काठमाडौँ । सरकारी वार्ता टोली र काठमाडौँ आइपुगेका मिटरब्याज पीडितका प्रतिनिधिबिच आज (शुक्रबार) निर्णायक वार्ता हुने भएको छ ।बिहीबार साँझ पहिलो चरणको छलफल सकिएको र शुक्रबार बिहान ९ः३० बजे दोस्रो चरणको वार्ता हुने तय भएको छ ।
यसअघि जनकपुरबाट पैदल यात्रा सुरु गरी बाराको निजगढ आइपुगेका पीडितहरू सरकारसँग वार्ता गर्न सहमत भएपछि बिहीबार साँझ हवाई मार्ग हुँदै काठमाडौँ आइपुगेका थिए। पीडित पक्षका प्रतिनिधिहरूलाई सिमरा विमानस्थलबाट काठमाडौँ ल्याउने प्रबन्ध गृह मन्त्रालयले मिलाएको थियो । गृहमन्त्री सुधन गुरुङले सिमराबाट पीडित पक्षको वार्ता टोलीका सदस्यहरूलाई विमान चढाएर काठमाडौँ पठाएका हुन् ।
पीडितहरूले वार्ताका लागि अवधेश कुश्वाहाको संयोजकत्वमा वार्ता समिति गठन गरेका छन् । उक्त टोलीमा संयोजक कुश्वाहाका साथै मनोज कुमार पासमान, रिजन राना मगर, लक्ष्मी घिमिरे र किरण परियार सदस्य रहेका छन् ।
यसअघि बिहीबार नै बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याज प्रभावित नागरिकको माग सम्बोधन गर्नका लागि सरकारी वार्ता टोली गठन गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा गठित उक्त टोलीमा अर्थ, गृह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेका छन् ।
जनकपुरबाट पीडितहरू पैदलै काठमाडौँतर्फ प्रस्थान गरेपछि सरकारले यस विषयमा चासो देखाएको थियो । जनकपुरबाट हिँडेको छैटौँ दिनमा उनीहरू निजगढ आइपुगेका थिए । सरकारसँग वार्ता गर्न राजी भएपछि उनीहरूलाई सिमराबाट काठमाडौँ ल्याएर वार्ता प्रक्रिया अघि बढाइएको हो ।



प्रतिक्रिया