बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–७ सुगरेस्थित भित्री सडकखण्डमा शनिबार भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बिजगडाबाट सुगरे हुँदै दुर्गाथलीतर्फ जाँदै गरेको सुपप्र०१–००१ च २६४४ नम्बरको जिप करिब ३०० मिटर तल खसेर दुर्घटनामा परेको हो। जिप केदारस्युँ गाउँपालिका–७ काडाचौरका ३५ वर्षीय देवेन्द्र धामीले चलाएका थिए।
दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ काडाचौरकी करिब ३५ वर्षीया बिमला धामी, दुर्गाथली गाउँपालिका–६ चुहावनकी ६० वर्षीया केला देवी महत र ६० वर्षीय चक्र महतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालक देवेन्द्र धामीसहित रामबहादुर महत, वीरबहादुर जाग्री, झल्का देवी महत, जयमती महत र हर्का देवी महत गम्भीर घाइते भएका छन्। यस्तै नवराज धामी, दिपेन्द्र जाग्री, रमेश धामी, धनसेर जाग्री, हासुली महत, गौमती देवी महत र इन्द्र महत मध्यम अवस्थाका घाइते रहेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट बिजगडा, झोता र बागथला, इलाका प्रहरी कार्यालय दुर्गाथली तथा जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी टोली परिचालन गरिएको थियो। सशस्त्र प्रहरी बलको टोली पनि उद्धारमा खटिएको थियो।
घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर घटनास्थलतर्फ पठाइए पनि खराब मौसमका कारण दुई पटकसम्म अवतरण गर्न नसकेपछि जयपृथ्वी नगरपालिका–३ स्थित पानकोट ब्यारेकमा अवतरण गरेको प्रहरीले जनाएको छ।
हेलिकोप्टरबाट उद्धार सम्भव नभएपछि घाइतेहरूलाई एम्बुलेन्स तथा अन्य सवारीसाधनमार्फत जिल्ला अस्पताल बझाङ पठाइएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।



प्रतिक्रिया