काठमाडौँ । मुगुका २५ वर्षीय युवक गणेश नेपालीको विषयमा गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभा बैठकमा प्रष्टीकरण दिएका छन् । प्रतिनिधिसभा बैठकमा सांसदहरूले नेपालीको मृत्युबारे व्यापक प्रश्न उठाएपछि उनले समय लिएर जवाफ दिएका हुन् ।
जवाफका क्रममा उनले सरकार सञ्चालको प्रक्रिया पनि सिकाए । ‘अहिले आएर हामीले संविधान सिकाउनुपर्ने ? यो दिन आएको हो सदनमा ?’ उनले प्रश्न गरे ।
उनले सदनको गरिमा राखिराख्न पनि आग्रह गरे । नेपाली जनताले धेरै आशा यो पटक गरेको भन्दै ‘एउटौ डुंगामा सवार’ गर्न विपक्षी सांसदहरूलाई आग्रह गरे । उनले कसैको पीडालाई राजनीतिकरण नगर्न पनि आग्रह गरे ।
‘हामीले अथक प्रयास गरेकै हो । श्री एयरलाइन्सको प्लेन रेडी गरेकै हो । अनुमति लिएकै हो । चिकित्सकले स्टेबल राख्नुपर्यो भन्नुभयो । उहाँको ब्लड प्रेसर नै लो भएको थियो,’ गुरुङले भनेका छन्, ‘हामीले उहाँलाई बचाउन गरेको हो नि त । यहाँ आएर अहिले सबै डाक्टर बनिसकेका छन् ।’
उनले सरकारले आफ्नो दायित्व जसरी पनि पूरा गर्ने बताए । ‘नेपाल सरकारको तर्फबाट हामी एक इन्च पनि दायित्व छाड्दैनौं । पूरै गर्छौं । नचाहँदा नचाहँदै पनि आफ्नो अथक प्रयासपछि पनि आज हाम्रो गणेश नेपाली भाइ हामीमाझ हुनुहुन्न,’ गृहमन्त्री गुरुङले भने, ‘म बुझ्छु यी प्रश्न, तर हामी त्यहाँ हुँदा हाम्रो बेस्ट दिएको हो । मलाई ढाँट्न आउँदैन । यो गरिमामय सदनलाई ढाँट्दा सारा नेपाली जनतालाई ढाँटिरहेको हुन्छु । म यसरी ढाँट्न मन लाग्दैन ।’
स्थानीय सरकारमाथि प्रश्न
उनले काठमाडौं महानगरपालिकामा अहिले आफ्नो पार्टीको सरकार नभएको भन्दै स्थानीय तहले गरेको कार्यका कारण बिहीबारको घटना घट्न पुगेको बताएका छन् ।
‘तपाईंहरू आफैं भन्नुस्, अहिले काठमाडौंमा स्थानीय सरकार कसको ? ह्वील लक लगाएको कसले ? हामीले भनिराख्नुपर्ने ? अनि त्यो दोष पनि हामीले भोग्नुपर्ने ?,’ उनले प्रश्न गरेका छन् । रोस्ट्रममा निकैबेर भावुक बनेका गृहमन्त्री गुरुङले कसरी सरकार सञ्चालन हुन्छ ? भनेर सभामुखमार्फत विपक्षी दलहरूलाई सिकाए ।
‘सम्मानित सदनलाई सभामुखमार्फत सरकार कसरी सञ्चालन हुन्छ भनेर सिकाउन चाहन्छु । हाम्रो तीन तहको सरकार हुन्छ,’ गृहमन्त्री गुरुङले भने । उनले पुराना दलहरूले नै बनाएको कानुन आफ्नो सरकारले कार्यान्वयन गरिरहेको बताए ।
‘कुनै भिडियोमा छ, ट्राफिकले ह्वीलक गरेको छ ? म विपक्षी दलका साथीहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले ? रास्वपाको छ ? प्रदेश सरकार कसको छ अहिले ? रास्वपाको छ ? दुई तहको सरकार त तपाईंहरूसँगै छ । यो नियम कानुन कसले बनाएको ? तपाईंहरूले कानुन बनाएको हो, हामीले त्यही कानुन टेकेको हो,’ उनले भने ।



प्रतिक्रिया