• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    देशैभर फैलियो मनसुनी वायु, आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना

    226
    SHARES



    काठमाडौँ । हाल नेपालभर मनसुनी वायुको बलियो प्रभाव देखिएको छ ।

    जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु देशको पश्चिमी सीमासम्मै पुगेको छ र आज गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भू-भागमा समेत मनसुन विस्तार भएको छ । यससँगै यो वर्षको मनसुन प्रणाली देशैभर पूर्ण रूपमा फैलिएको छ ।

    नेपालमा साधारणतया जुन १३ तारिखमा पूर्वी भू-भागबाट मनसुन प्रवेश गरी एक हप्ताभित्र देशभर विस्तार हुने गर्दछ । तर यस वर्ष मनसुन सरदर मिति भन्दा ६ दिन ढिलो गरी असार ५ गते (जुन १९ तारिख) पूर्वी भू-भागबाट नेपाल भित्रिएको थियो ।

    सुरुमा कोशी प्रदेशको केही भू-भागमा विस्तार भएको मनसुन असार ८ गते (जुन २२ तारिख) कोशीको बाँकी सम्पूर्ण भू-भाग, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानसम्म फैलिएको थियो । यस वर्ष देशभर मनसुन विस्तार हुन कुल १२ दिन लागेको छ ।

    अहिलेको मौसमी अवस्थालाई हेर्दा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको अवस्था छ । अहिले बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।

    आज बुधबार दिनभरिको पूर्वानुमान अनुसार देशभर पूर्णतया बादल लाग्नेछ । देशका विभिन्न भौगोलिक क्षेत्रमा वर्षा र हिमपातको आकलन गरिएको छ । महाशाखाका अनुसार देशको हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ ।

    त्यस्तै, पहाडी भू-भागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा तथा हिमपात हुने देखिन्छ भने तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । आज विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाले मौसमको अवस्थाको निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा मौसम सूचना अद्यावधिक गर्दै जाने बताएको छ । महाशाखाले मौसममा आएको यो परिवर्तन र वर्षाको जोखिमलाई मध्यनजर गर्दै सबैलाई अद्यावधिक मौसम सूचनाको जानकारी लिई आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ