काभ्रेपलाञ्चोक । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ।
दम रोगबाट पीडित खरेलको उपचारका क्रममा आइतबार राति पौने १० बजे बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
२००३ सालमा काभ्रेको खरेलथोकमा जन्मिएका खरेल नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गर्दै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएका थिए।
२०३६ सालको जनमत संग्रह, २०४६ सालको जनआन्दोलन तथा २०६२/६३ को जनआन्दोलनमा उनले सक्रिय भूमिका खेलेका थिए। कांग्रेस राजनीतिमा सक्रिय रहेकै कारण उनले विभिन्न समयमा गरी करिब नौ वर्ष जेल जीवन बिताएका थिए।
२०५६ सालमा सांसद निर्वाचित भएका खरेल शिक्षा राज्यमन्त्री तथा महिला, बालबालिका एवं समाज कल्याणमन्त्री बनेका थिए। शिक्षा राज्यमन्त्री रहँदा प्राथमिक शिक्षा विस्तार र विद्यालय पूर्वाधार विकासमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
उनको निधनप्रति कांग्रेस नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूले दुःख व्यक्त गरेका छन्। पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल उनका छोरा हुन्।
खरेलको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पणका लागि सोमबार बिहान ९ देखि ११ बजेसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिनेछ। अन्त्येष्टि दिउँसो १ बजे पशुपति आर्यघाटमा गरिने परिवारले जनाएको छ।
प्रतिक्रिया