काठमाडौँ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको विराटनगरस्थित निवासमा प्रहरीले बिहीबार मध्यरातमा छापा मारेको छ।
विराटनगर-३ ल क्याम्पस छेउमा रहेको मन्त्री पराजुलीको क्वाटरमा राति ११ बजेतिर प्रहरी प्रवेश गरेर खानतलासी लिएको आन्तरिक मामिला मन्त्रालय स्रोतले जनाएको छ।
धनकुटाबाट प्रदेशसभामा दोस्रोपटक निर्वाचित एमाले नेता पराजुलीको निवासमा प्रहरीले किन छापा मारेको भन्ने खुलेको छैन। मन्त्री पराजुली भने विराटनगर बाहिर रहेकाले यसबारे खुलेर बोल्न चाहेनन्।
‘म त बाहिर संखुवासभातिर छु। खै छरछिमेकीले पुलिस आएर के-के गर्यो भन्ने जानकारी गराउनुभएपछि मात्रै थाहा भयो,’ उनले भने।
मन्त्री निवासमा रहेका एक कर्मचारीका अनुसार राती ११ बजेतिर आएको प्रहरीको एक समूहले निवासका कोठा कोठामा तलासी लिएको थियो।
मन्त्रीको निवासमा प्रहरीले खानतलासी गरेको विषय प्रतिनिधिसभामै उठेको छ। शुक्रबारको बैठकमा धनकुटाका सासद राजेन्द्र राइले यो कुरा उठाएका हुन्।
‘उहाँ संखुवासभा जानुभएको रहेछ। उहाँ एक्लै भएको बेला प्रहरीले घर खानतलासी गर्ने काम नयाँ सरकारबाट किन हुँदैछ। किन त्यस्तो भयो? कसरी भयो, के भयो?,’ उनले भने।
यसबारेमा मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवाललाई मन्त्री निवासमा प्रहरीले किन छापा मारेको हो ? भनेर बुझ्दा उनले छापा मारेको भन्न अस्विकार गरे।
‘हामीले छापा मारेको होइन, एक जना व्यक्ति त्यहाँ लुकेर बसेको भन्ने सूचना आएपछि प्रहरी गएको हो,’ एसपी कटुवालले भने, ‘प्रहरी भित्र पसेन। बाहिरबाटै फर्क्यो।’
उनले सूचना सही नभएका कारण प्रहरी निवासभित्र नपसेको बताए। तर भित्र प्रवेश नगरी कोही व्यक्ति लुकेको नलुकेको कसरी थाहा भयो भन्नेबारे चाहिँ उनले प्रष्ट पारेनन्।
कोशीका मुख्यमन्त्री हिक्मत कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले विना कारण मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही हुनुपर्ने बताएका छन्।
प्रतिक्रिया