काठमाडौं । चितवनबाट अपहरणमा परेका १६ वर्षीय बालकलाई प्रहरीले काठमाडौंबाट सकुशल उद्धार गरेको छ। योजनाबद्ध रूपमा गरिएको अपहरणको घटनामा संलग्न पाँच जनालाई पक्राउ गरिएको छ भने दुई जना अझै फरार छन्।
प्रहरीका अनुसार असार १ गते नारायणगढमा कक्षा ११ अध्ययनको तयारी गरिरहेका ति बालकलाई भारतबाट आएका व्यक्तिहरूले अपहरण गरेका थिए। अपहरणमा परेका बालकका बुवा नारायणगढमा सुन पसल सञ्चालन गर्छन्।
छोरा अचानक सम्पर्कविहीन भएपछि परिवारले चितवन प्रहरीलाई जानकारी गराएको थियो। त्यसपछि अनुसन्धान सुरु गरेको प्रहरीले केही समयपछि नयाँ नम्बरबाट आएको ह्वाट्सएप कलमार्फत अपहरणकारीहरूको गतिविधि पत्ता लगाएको थियो। अपहरणकारीहरूले बालकलाई मुक्त गर्न २२ लाख रुपैयाँ फिरौती माग गरेका थिए।
अनुसन्धानका क्रममा अपहरणमा संलग्न भारतको बिहार राज्यस्थित बेतिया निवासी १८ वर्षीय सुजित कुमार पीडित बालकका पूर्वपरिचित रहेको खुलेको छ। उनीहरू नारायणगढमा कक्षा ७ र ८ मा सँगै अध्ययन गरेका थिए। पछि भारत फर्किएका सुजितले ‘नेपाल आएको छु, भेट्न आऊ’ भन्दै इन्स्टाग्राममार्फत सम्पर्क गरेर बालकलाई भेट्न बोलाएका थिए।
बालक साथीलाई भेट्न नारायणगढस्थित एक होटल पुगेका बेला सुजितसहित अन्य व्यक्तिहरूले उनलाई नियन्त्रणमा लिएर भारतीय नम्बर प्लेटको गाडीमा काठमाडौं ल्याएका थिए। प्रहरीका अनुसार सुजितसँगै गोलु कुमार शाह, गोलु कुमार, विक्की कुमार र मोहम्मद साहिदसहित अन्य व्यक्ति पनि नेपाल आएका थिए।
जेठ २ गते बिहान काठमाडौं आइपुगेपछि अपहरणकारीहरूले प्रयोग गरेको गाडी भारततर्फ फर्काइएको अनुसन्धानबाट खुलेको छ। उनीहरूले रक्सौलबाट नेपाली सिमकार्ड खरिद गरी त्यसैमार्फत पीडित परिवारसँग सम्पर्क गरेर फिरौती मागेका थिए।
प्रहरीका अनुसार अपहरणकारीहरूले बालकमाथि कुटपिट गर्नुका साथै रकम नल्याए हत्या गर्ने धम्की दिएका थिए। बालकले बयानमा आफूलाई पटक–पटक घाँटीमा चक्कु राखेर त्रसित बनाइएको बताएका छन्।
शौचालयबाट फालिएको चिर्कटो बन्यो उद्धारको आधार
अपहरणकारीहरूको निगरानीबीच शौचालय जाने अनुमति पाएका बालकले होटलको शौचालयमा एउटा कागजमा आफू नारायणगढबाट अपहरणमा परेको, बुवाको नाम र सम्पर्क नम्बर लेखेर प्रहरीलाई खबर गरिदिन अनुरोध गरेका थिए।
त्यसपछि उनले उक्त चिर्कटो शौचालयबाट बाहिर फ्याँकेका थिए। चिर्कटो फेला पार्ने व्यक्तिले प्रहरी र बालकका बुवालाई जानकारी दिएपछि अनुसन्धान टोलीलाई महत्वपूर्ण सुराकी प्राप्त भएको थियो।
त्यही सुराकी र प्राविधिक अनुसन्धानको आधारमा प्रहरीले मंगलबार साँझ गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा रहेको होटल फेमिलीमा छापा मारेर बालकलाई सकुशल उद्धार गरेको थियो।
प्रतिक्रिया