• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद समाचार

    जनयुद्धकालीन ऐतिहासिक मार्गलाई जीवित राख्न गुरिल्ला म्याराथन

    304
    SHARES



    रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका र रोल्पाको थबाङ गाउँपालिकाको साझेदारीमा सातौँ अल्ट्रा संयुक्त गुरिल्ला म्याराथन प्रतियोगिता बुधबार बिहान सुरु भएको छ। प्रतियोगिता बिहान ७ बजेर २० मिनेटमा भूमे गाउँपालिका–६ महतबाट औपचारिक रूपमा शुभारम्भ गरिएको हो।

    तत्कालीन माओवादीले २०५२ देखि २०६२ सालसम्म सञ्चालन गरेको दशवर्षे जनयुद्धका क्रममा छापामारहरूले प्रयोग गरेको ऐतिहासिक पदमार्गको संरक्षण गर्दै युद्ध पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

    प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्ती मगर ले संघीयता स्थापनाको आन्दोलनसँग जोडिएको रोल्पा–रुकुम क्षेत्रको ऐतिहासिक महत्व जोगाउन गुरिल्ला म्याराथन महत्त्वपूर्ण रहेको बताए। उनले छापामारहरूले प्रयोग गरेको मार्गको संरक्षणसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइएको उल्लेख गरे।

    भूमे गाउँपालिकाका अध्यक्ष तथा पूर्वछापामार होमप्रकाश श्रेष्ठले जनयुद्धकालीन इतिहासलाई जोगाइराख्दै त्यसलाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ हरेक वर्ष प्रतियोगिता सञ्चालन हुँदै आएको बताए। उनका अनुसार छापामारहरूले प्रयोग गरेको मार्गलाई खेलकुद गतिविधिमार्फत जीवित राख्ने प्रयासस्वरूप म्याराथनलाई निरन्तरता दिइएको हो।

    भूमे गाउँपालिका–६ महतबाट सुरु भएको प्रतियोगिता लाबाङ, घुरबाङ र रोल्पाको जलजला हुँदै थबाङ गाउँपालिकाको बसपार्कमा पुगेर समापन हुनेछ। प्रतियोगितामा सहभागी महिला तथा पुरुष धावकहरूले ५२ किलोमिटर दूरी पार गर्नुपर्नेछ।

    छ वर्षअघि सुरु गरिएको प्रतियोगितामा यस वर्ष पनि महिला तथा पुरुष दुवै विधातर्फ समान पुरस्कार राशिको व्यवस्था गरिएको छ। प्रथम हुनेले ७५ हजार रुपैयाँ, दोस्रो हुनेले ५० हजार रुपैयाँ, तेस्रो हुनेले ३० हजार रुपैयाँ तथा चौथो हुनेले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै पाँचौँदेखि दशौँ स्थानसम्म आउने धावकलाई प्रोत्साहनस्वरूप जनही पाँच हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

    यस वर्ष प्रतियोगिता सञ्चालनका लागि भूमे गाउँपालिका र थबाङ गाउँपालिकाले संयुक्त रूपमा करिब १० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन्। दुवै पालिकाले समान पाँच–पाँच लाख रुपैयाँ व्यहोर्ने भएका छन्। साथै प्रतियोगिताभर सहभागी धावकका लागि पाँच लाख रुपैयाँ बराबरको दुर्घटना बीमाको व्यवस्था गरिएको छ।

    पाँचौँ संस्करणसम्म भूमे गाउँपालिकाले एकल रूपमा प्रतियोगिता आयोजना गर्दै आएको थियो। गत वर्षदेखि थबाङ गाउँपालिकाले समेत सहकार्य थालेपछि प्रतियोगिता संयुक्त रूपमा सञ्चालन हुँदै आएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ