• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    पोखरा बसपार्कमा डोजर चलाउने तयारीविरुद्ध अन्तरकालीन अन्तरिम आदेश

    371
    SHARES



    पोखरा । पाँच दशकदेखि विवाद, अतिक्रमण, सट्टापट्टा र राजनीतिक संरक्षणको केन्द्र बन्दै आएको पोखरा बसपार्क क्षेत्रलाई व्यवस्थित बनाउने पोखरा महानगरपालिकाको अभियान निर्णायक मोडमा पुगेको बेला उच्च अदालत पोखराबाट अन्तरकालीन अन्तरिम आदेश आएको छ ।

    महानगरले जेठ २५ गतेदेखि संरचना हटाउने आन्तरिक तयारी गरिरहेका बेला अदालतले एक जग्गाधनीको निवेदनमा सुनुवाइ गर्दै तत्काल संरचना नभत्काउन आदेश दिएको हो ।

    बसपार्कभित्रका जग्गाधनी योगेन्द्रदेवी श्रेष्ठ पालिखेले उच्च अदालत पोखरामा रिट निवेदन दर्ता गरेकी थिइन् । न्यायाधीश तेजनारायण सिंह राईको एकल इजलासले जेठ २१ गते जिल्ला प्रशासन कार्यालय कास्कीसहित विपक्षीहरूलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

    अदालतले निवेदकको नाममा रहेको पोखरा महानगरपालिका–९ स्थित कित्ता नम्बर ५४ को जग्गामा बनेका घर तथा अन्य भौतिक संरचना तत्काल नभत्काउन र नहटाउन अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ । साथै दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन भनिएको छ ।

    प्रारम्भिक आदेशलाई अन्तिम फैसला भनेर भ्रम नफैलाउन मेयरको आग्रह

    अदालतको आदेश सार्वजनिक भएसँगै महानगर प्रमुख धनराज आचार्यले सामाजिक सञ्जालमार्फत विस्तृत स्पष्टीकरण जारी गर्दै अदालतको प्रारम्भिक आदेशलाई अन्तिम फैसला भनेर भ्रम नफैलाउन आग्रह गरेका छन् ।

    उनले कारण देखाऊ आदेश सामान्य कानुनी प्रक्रिया भएको उल्लेख गर्दै कानुन, प्रमाण र छानबिन समितिको सिफारिसका आधारमा मात्रै सबै प्रक्रिया अघि बढ्ने बताएका छन् ।

    आचार्यले विशेषगरी बसपार्कको उत्तरतर्फका केही जग्गाधनीलाई लक्षित गर्दै छानबिनपछि वास्तविक स्वामित्व र क्षेत्रफल स्पष्ट हुने बताएका छन् ।

    ‘छानबिनपछि तपाईंको जग्गा ९ मिटर हो कि १८ मिटर हो, त्यसको प्रतीक्षा गर्नुहोला,’ उनले भनेका छन् । साथै अदालतलाई विकास रोक्ने माध्यमका रूपमा प्रयोग नगर्न चेतावनी दिएका छन् ।

    भाडामा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई पनि घरधनीको स्वार्थका लागि ‘मानवढाल’ नबन्न आग्रह गर्दै आचार्यले भ्रम र अफवाहमा नपर्न अनुरोध गरेका छन् । ‘वैशाख ४ गतेदेखि आजसम्म सेती नदीमा धेरै पानी बगिसकेको छ, हामीले पर्याप्त समय र सूचना दिइसकेका छौं,’ उनको भनाइ छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ