काठमाडौँ । सर्वोच्च अदालतले चेक अनादर (चेक बाउन्स) मुद्दामा फैसला गर्दै चेकमा लेखिएको रकम (बिगो) र सो को ब्याज समेत पीडितलाई भराउनुपर्ने आदेश दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र बालकृष्ण ढकालको संयुक्त इजलासले उच्च अदालत पाटनको फैसला उल्ट्याउँदै उक्त आदेश जारी गरेको हो ।
काठमाडौँ महानगरपालिका–३२ बस्ने शकुन्तला खड्काले विपक्षी संगीता थापालाई विभिन्न समयमा सापटी दिएको रकममध्ये ९ लाख रुपैयाँको दुई वटा चेक (४ लाख र ५ लाख) थापाले खड्कालाई प्रदान गरेकी थिइन् । सिटिजन्स बैंक र इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकका ती चेकहरू खातामा पर्याप्त मौज्दात नभएका कारण ‘रिटर्न स्लिप’ सहित फिर्ता भएका थिए ।
सर्वोच्च अदालतले विनिमय अधिकार पत्र ऐन, २०३४ को दफा १०७ (क) को व्याख्या गर्दै भनेको छ— ‘चेक काट्ने व्यक्तिको खातामा पर्याप्त रकम नभएको जानीजानी चेक काट्नु र त्यो अनादर हुनु आफैँमा कसुर हो । यस्तो अवस्थामा धारक (चेक पाउने व्यक्ति) ले ड्रयर (चेक काट्ने व्यक्ति) बाट चेकमा उल्लेखित रकम र ब्याज भराई लिन पाउने कुरा कानुनले सुनिश्चित गरेको छ ।’
सर्वोच्च अदालतले संगीता थापाको नाममा रहेको जेथा देखाई ९ लाख रुपैयाँ र सोको वार्षिक १० प्रतिशतका दरले हुने ब्याज समेत शकुन्तला खड्कालाई भराई दिनु भनी आदेश जारी गरेको हो ।
चेक नै ऋणको प्रमाण
अदालतले थप व्याख्या गर्दै भनेको छ– ‘प्रतिवादीले ‘मैले जर्बजस्ती चेक काट्न लगाइएको हो’ वा ‘यो तमसुकको आधारमा होइन’ भनी जिकिर गरे तापनि सर्वोच्चले चेकमा भएको हस्ताक्षर र मितिलाई मुख्य प्रमाण मानेको छ। चेक काट्नु भनेको दायित्व स्वीकार गर्नु हो भन्ने सिद्धान्तलाई यसले पुनः पुष्टि गरेको छ ।’
उच्च अदालतले चेक अनादर त भयो तर पैसा भराउनुपर्दैन भन्नु आफैँमा विरोधाभासपूर्ण रहेको सर्वोच्चको ठहर छ । यदि चेक बाउन्स भएको प्रमाणित हुन्छ भने, त्यो चेक बापतको रकम पाउनु पीडितको नैसर्गिक कानुनी अधिकार हो । ‘जरिवाना मात्र हुने तर पीडितले पैसा नपाउने’ अवस्थाले न्यायको मर्म मर्न सक्ने कुरालाई सर्वोच्चले स्पष्ट पारेको छ ।
यसअघि काठमाडौँ जिल्ला अदालत र उच्च अदालत पाटनले चेक अनादर भएको ठहर गरे पनि संगीता थापालाई जरिवाना मात्र गर्ने तर चेकको रकम र ब्याज खड्कालाई भराउन नपर्ने आशयको फैसला गरेका थिए । उच्च अदालतले चेकको रकम भराउन छुट्टै देवानी मुद्दा (तमसुकका आधारमा) जानुपर्ने’ तर्क गर्दै खड्काको दाबी पुग्न नसक्ने ठहर गरेको थियो ।
प्रतिक्रिया