काठमाडौँ । प्रहरीले गोली प्रहार गरी डकैती तथा लुटपाटका अभियुक्त गणेश कार्कीलाई पक्राउ गरेको छ।
काठमाडौंका विभिन्न स्थानमा डाँका चोरी गरेको आरोपमा कार्कीलाई प्रहरीले शनिबार बेलुका साढे ९ बजे जडिबुटी क्षेत्रबाट गोली हानेर पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा कार्कीले प्रहरीमाथि आक्रमण गरेपछि उनको बायाँ खुट्टामा गोली प्रहार गरिएको हो। अहिले उनको ट्रमा सेन्टरमा उपचार भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए।
कार्की र इलाम घर भएका विष्णु खत्रीले शनिबार दिउँसो साढे १ बजे सुकेधारा क्षेत्रमा एक महिलाको अनुहारमा खुर्सानीको धुलो फ्याँकेर उनको साथमा रहेको सुनको सिक्री र मोबाइल लुटेर फरार भएका थिए।
घटनापछि फरार रहेकामध्ये खत्रीलाई दिउँसै पक्राउ गरिएको थियो। कार्कीलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। कार्कीको आपराधिक पृष्ठभूमि समेत देखिएको छ।
प्रहरीका अनुसार २०६४ सालमा उनीविरूद्ध प्रहरी वृत्त बौद्धमा अभद्र व्यवहार र बालाजुमा हातहतियार तथा खरखजानाको मुद्दा चलेको देखिएको छ।
त्यस्तै उनलाई बौद्धमै कर्तव्य ज्यान मुद्दामा १० वर्षको जेल सजाय समेत भएको देखिन्छ। त्यतिबेला उनले उमेश सिंह भन्ने व्यक्तिको हत्या गरेको अभियोगमा १० वर्ष कैद सजाय पाएका थिए। यसरी लामो समय जेल सजाय भोगेर निस्किएका उनले फेरि आपराधिक काममै लागेको देखिएको हो।
२०७८ सालमा जिल्ला प्रहरी परिसर ललितपुरमा चोरी मुद्दा र ७८ सालमै गौशालामा डाँका चोरीको मुद्दामा उनी पक्राउ परेका थिए। उनलाई डाँका चोरीको कसुरमा ६ वर्ष कैद सजाय तोकिएको थियो। तर भदौ २४ गते भएको आन्दोलनको क्रममा उनी केन्द्रीय कारागारबाट भागेका थिए।
प्रतिक्रिया