• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    सर्वोच्चको व्याख्या : विवाह इन्कार गर्दैमा आत्महत्याको दुरूत्साहन गरेको भन्न मिल्दैन

    305
    SHARES



    काठमाडौँ । सर्वोच्च अदालतले एक मुद्दामा विवाह गर्नका लागि इन्कार गर्दा आत्महत्या दुरूत्साहन गरेको भन्न नमिल्ने व्याख्या गरेको छ।

    न्यायाधीशहरू कुमार रेग्मी र बालकृष्ण ढकालको इजलासले आत्महत्या दुरूत्साहनसम्बन्धी कैलालीको एक मुद्दामा यस्तो व्याख्या गरेको हो। यो फैसला २०८२ मंसिर २९ गते भएको थियो। यसको पूर्णपाठ केही दिन अघि सार्वजनिक भएको हो।

    आत्महत्या दुरूत्साहन कसुरमा कुनै व्यक्तिले विवाह गर्न इन्कार गर्दैमा आत्महत्याका लागि दुरूत्साहन गरेको ठहर नहुने व्याख्या उक्त फैसलामा गरिएको छ।

    ‘…प्रतिवादीहरूले मृतकलाई न त मर्न विवस तुल्याउने कार्य गरेको देखिन्छ न त सो कार्य गर्ने मनसायबाट अभिप्रेरित भई योजना गरेको देखिन्छ,’ फैसलामा भनिएको छ, ‘केबल अहिले विवाह गर्दिन भनी गरेको इन्कार तथा फेसबुक म्यासेन्जरमा भएको विवादलाई लिएर गरेको मृतकको आत्महत्यालाई आत्महत्या दुरूत्साहनको कार्य नामाकरण गरी निर्दोष व्यक्तिलाई सजाय गर्ने हो भने फौजदारी न्यायमा विचालन र विकृत आउने अवस्था सिर्जना हुने हुँदा यतिसम्मको कुरालाई लिएर भएको आत्महत्यामा प्रतिवादीलाई दोषी करार गर्न मिल्ने हुँदैन।’

    २०७७ असोज २ गते दिउँसो कैलाली घोडाघोडी नगरपालिका-५ सेउकलियास्थित फुलबारी सामुदायिक वनको रूखमा निर्मला पहराई झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

    परिवारले ललित जगरी र धना साउँद मिलेर हत्या गरी झुण्ड्याएको आरोप लागाएको थियो। प्रहरीले उनीहरूविरूद्ध अनुसन्धान गरि जिल्ला अदालत कैलालीमा मुद्दा गयो। कैलाली जिल्ला अदालतले भने दुबै प्रतिवादी ललित जागरी र धना साउँदलाई सफाइ दिएको थियो।

    त्यस फैसलाविरूद्ध उच्च अदालत दिपायलमा सुनुवाइ हुँदा फैसला उल्टिएको थियो। उच्च अदालतले कर्तव्य ज्यानतर्फको अभियोगदाबी नपुग्ने, तर ललित र धनालाई आत्महत्या दुरूत्साहनतर्फ कसुर ठहर गर्ने फैसला गरेको थियो।

    ललितलाई तीन वर्ष ६ महिना कैद र ३५ हजार रुपैयाँ जरिवाना तोकेको थियो। अर्का प्रतिवादी धना साउँदलाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो। ललितबाट दुई लाख रुपैयाँ र धनाबाट १५ हजार रुपैयाँ क्षतिपूर्ति भराउन समेत ठहर भएको थियो।

    त्यसविरूद्ध उनीहरूले सर्वोच्च अदालतमा पुनरावेदन गरे। कैलाली जिल्ला अदालतबाट भएकै फैसलालाई सदर गर्न माग गरी सर्वोच्चमा निवेदन दिएका थिए। सर्वोच्चले यस मुद्दाको फैसलामा प्रेम सम्बन्धमा रहेका कसैले विवाह गर्न इन्कार गरेकै आधारमा दोषी भन्न नमिल्ने बताएको हो।

    ‘प्रमाणहरूबाट मृतक र ललितबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको र सोही क्रममा शारिरिक सम्पर्क समेत भएको देखिए तापनि तत्काल विवाह गर्न इन्कार गर्नुलाई कानुनको दृष्टिमा मर्नका लागि बाध्य पारेको अर्थमा बुझ्न मिल्ने देखिएन,’ फैसलामा भनिएको छ, ‘विवाहको प्रस्ताव अस्वीकार गर्दा उत्पन्न हुने भावनात्क चोट वा सामाजिक प्रतिष्ठाको डर मृतकको नितान्त व्यक्तिगत र संवेगात्मक प्रतिक्रिया भएको र मृतकले यो तहको निर्णय लिएको परिणामको अपराधिक दायित्व प्रतिवादीको हुने भनी निर्णय गर्न पर्याप्त ठोस प्रमाणको उपस्थित अनिवार्य हुन्छ।’

    ललितले मृतक निर्मलालाई आफू अहिले बेरोजगार रहेको र लोकसेवाको तयारी गरिरहेको अवस्थामा तत्काल विवाह गर्न नसक्ने जबाफ दिएका थिए। त्यस्तै धनाले मृतकलाई गाली गलौज गरेको आरोप थियो। त्यसमा पनि उनले गालीगलौज गरेकै आधारमा आत्महत्या गर्न विवश तुल्याएको भन्न नमिल्ने बताएको छ।

    ‘धनाले मृतकलाई गालीगलौज गरेको भन्ने आरोपको सन्दर्भलाई हेर्दा, दुई पक्षबीच हुने सामान्य विवाह वा भनाभनलाई दुरूत्साहनको कोटीमा राख्न मिल्दैन कसैले आवेशमा आएर बोलेका शब्दहरू वा प्रेम सम्बन्धको प्रतिस्पर्धामा व्यक्त गरिएका आक्रोशपूर्ण अभिव्यक्तिहरूलाई मात्र आधार मानी आत्महत्या गर्न विवश तुल्याएको भन्नु कानुनको त्रुटिपूर्ण व्याख्या हुन जान्छ,’ सर्वोच्चले भनेको छ। उच्च अदालत दिपायलले गरेको फैसला नमिलेको भन्दै ललित र धनालाई सफाइ दिइएको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ