काठमाडौं । यूएईको विदेश मन्त्रालयले आफ्नो सरकारी तेल कम्पनीसँग सम्बन्धित ट्यांकरमा आक्रमण भएको जनाएको छ । फुजैराहस्थित तेल बन्दरगाहमा भएको यस आक्रमणबाट ठूलो आगलागी भएको र तीन जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।
यूएईले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले १२ वटा ब्यालिस्टिक क्षेप्यास्त्र, तीन वटा क्रुज मिसाइल र चार वटा ड्रोन रोकेको जनाएको छ । यूएईले यसलाई ‘खतरनाक’ भन्दै प्रतिक्रिया जनाउने अधिकार सुरक्षित राखेको छ ।
यो आक्रमण इरानले गरेको आशंका गरिएको छ । तर इरानी सरकारी टेलिभिजनमार्फत् एक सैनिक अधिकृतले भने ‘यूएईलाई निशाना बनाउने कुनै योजना नभएको’ जनाएका छन् ।
घटनापछि कच्चा तेलको मूल्य प्रतिव्यारेल ११५ डलर नाघेको छ, जुन दिनभरिमा पाँच प्रतिशतभन्दा बढी वृद्धि हो । फुजैराह यूएईको पूर्वी तटमा, स्ट्रेट अफ होर्मुजभन्दा बाहिर पर्छ ।
अबुधाबीका तेल क्षेत्रबाट पाइपलाइनमार्फत त्यहाँ तेल ल्याइने भएकाले स्ट्रेट अफ होर्मुज अवरुद्ध भए पनि केही मात्रामा तेल विश्व बजारमा पठाउन सम्भव हुन्छ । यसैबीच दक्षिण कोरियाले यूएई नजिकै रोकिराखेको आफ्नो एक जहाजमा विस्फोट भएको जानकारी दिएको छ ।
ओमानमा पनि स्ट्रेट अफ होर्मुजको किनार नजिकैको बुखा क्षेत्रमा एउटा आवासीय भवनमा आक्रमण हुँदा दुई जना घाइते भएको समाचार छ ।छिमेकी कतारले यी आक्रमणको निन्दा गर्दै जलमार्ग नि:शर्त रूपमा खुला गरिनुपर्ने माग गरेको छ ।
आइतबार ट्रम्पले स्ट्रेट अफ होर्मुजमा अलपत्र जहाजहरूलाई बाहिर निकाल्न ‘प्रोजेक्ट फ्रिडम’ अभियान अन्तर्गत अमेरिका अघि बढ्ने बताएका थिए । लगत्तै सोमबार अमेरिकाले सातवटा इरानी साना डुंगाहरुमा आक्रमण गरेको थियो । सो आक्रमणबाट एक अमेरिकी झण्डावाल जहाज सुरक्षित बाहिर निस्किन सफल पनि भएको छ ।
ट्रम्पले विश्वभरिका देशहरूले आफ्ना ‘निष्पक्ष र निर्दोष’ जहाजहरूलाई सुरक्षित बाहिर निकाल्न सहयोग मागेको बताएका छन् । तर उनले यो प्रक्रिया कसरी अघि बढ्छ भन्ने स्पष्ट पारेका छैनन् । केवल उनले ‘यदि यस मानवीय प्रयासमा अवरोध गरियो भने बल प्रयोग गर्ने’ चेतावनी दिएका छन् ।
प्रतिक्रिया