• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    अध्यादेश फिर्ता लिएर संघीय संसद्को अधिवेशन तत्काल बोलाउन विपक्षी दलको आग्रह

    263
    SHARES



    काठमाडौँ । विपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष जारी गर्न सिफारिस गरेका अध्यादेश फिर्ता लिएर तत्काल संघीय संसद्को अधिवेशन आह्वान गर्न आग्रह गरेका छन् ।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितको बैठकले सरकारलाई त्यस्तो आग्रह गरेको हो ।

    बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल, नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाको सहभागिता थियो ।

    बैठकपछि चारै दलका नेताहरूले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘स्थगन गरिएको संघीय संसद्को अधिवेशन अविलम्ब आह्वान गर्न जोडदार माग गर्दछौँ । अध्यादेशहरू अविलम्ब फिर्ता गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौँ ।’

    त्यस्तै, बैठकले सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेका संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी ऐन, २०६६ र सहकारी ऐन, २०७४ लाई संशोधन गर्ने दुई वटा अध्यादेशहरू तथा वैशाख १५ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश, केही नेपाल कानुन संशोधन गर्न बनेको अध्यादेश र विश्वविद्यालय सम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।

    ‘अध्यादेशहरू संसद् छल्ने उद्देश्यका साथ सिफारिस भई आएका हुनाले स्वीकृत नगर्न सम्माननीय राष्ट्रपति समक्ष हार्दिक अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा लेखिएको छ ।

    विपक्षी दलले अघि सारेका मुख्य तीन माग

    १. अध्यादेश फिर्ता : सरकारले ल्याएका उपरोक्त अध्यादेशहरू अविलम्ब फिर्ता गर्न जोडदार माग ।

    २. राष्ट्रपतिलाई अनुरोध : संसद् छल्ने उद्देश्यका साथ मन्त्रिपरिषद्‌बाट सिफारिस भई आएका अध्यादेशहरू स्वीकृत नगर्न राष्ट्रपतिसमक्ष हार्दिक अनुरोध ।

    ३. संसद् अधिवेशनको माग : स्थगन गरिएको सङ्घीय संसद्को अधिवेशन अविलम्ब आह्वान गर्न जोडदार माग ।

    यस्तो छ संयुक्त प्रेस विज्ञप्ति

    आज मिति २०८३ साल वैशाख १६ गते नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री भीष्मराज आङदेम्बेको अध्यक्षतमा नेकपा (एमाले) संसदीय दलका नेता माननीय श्री रामबहादुर थापा ‘बादल’, नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका प्रमुख सचेतक माननीय श्री युवराज दुलाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि माननीय श्री सरस्वती लामा संलग्न विपक्षी दलहरुको संयुक्त बैठक बसी निम्न बमोजिमका निर्णयहरु भए ।
    निर्णयहरु :

    १. नेपाल सरकारले यही वैशाख १४ गते संवैधानिक परिषदको काम कर्तव्य र अधिकार सम्बन्धी ऐन, २०६६ र सहकारी ऐन, २०७४ लाई संशोधन गर्ने दुई वटा अध्यादेशहरु तथा वैशाख १५ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि आध्यादेश, केही नेपाल कानुन संशोधन गर्न बनेको अध्यादेश र विश्वविद्यालय सम्बन्धि अध्यादेश जारी गर्ने निर्णय गरी सम्माननीय राष्ट्रपति समक्ष सिफारिस गरेको छ । संसदको अधिवेशन आव्हान गरे लगत्तै स्थगन गरी यसरी अध्यादेश ल्याउनु घोर असंसदीय र अलोकतान्त्रिक कदम भएकोले हामी घोर विरोध, भत्सर्ना र निन्दा गर्दछौं ।
    २. उपरोक्त अध्यादेशहरु अविलम्ब फिर्ता गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौं । ३. सम्माननीय राष्ट्रपति समक्ष सिफारिस भई गएका अध्यादेशहरु संसद छल्ने उद्देश्यका साथ सिफारिस भई आएका हुनाले स्विकृत नगर्न सम्माननीय राष्ट्रपति समक्ष हार्दिक अनुरोध गर्दछौं ।
    ४. स्थगन गरिएको संघीय संसदको अधिवेशन अविलम्ब आव्हान गर्न जोडदार माग गर्दछौं ।
    १. भीष्मराज आङदेम्बे, नेता – नेपाली कांग्रेस संसदीय दल
    २. रामबहादुर थापा ‘बादल’, नेता- नेकपा (एमाले) संसदीय दल
    ३. युवराज दुलाल, प्रमुख सचेतक – नेपाली कम्युनिष्ट पार्टी संसदीय दल कवड
    ४. सरस्वती लामा, प्रतिनिधि- राष्ट्रिय प्रजातन्त्र पार्टी

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ