• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश समाचार

    यस्ता छन् सरकारले देखेका आर्थिक रूपान्तरणको लागि ११ बहुआयामिक अवसर

    209
    SHARES



    काठमाडौँ । अर्थ मन्त्रालयले मुलुकको आर्थिक रूपान्तरणका लागि ११ वटा बहुआयामिक अवसरहरू पहिचान गरेको छ। अर्थले वर्तमान आर्थिक स्थितिपत्र सार्वजनिक गर्दै ११ वटा अवसर पहिचन गरेको हो।

    यस्ता छन् अर्थले देखेका ११ अवसर

    १. सुशासन र लगानीमैत्री वातावरण

    स्थिर सरकारको जगमा सुशासन कायम गर्दै लगानीमैत्री नीतिगत वातावरणमार्फत निजी क्षेत्रको विश्वास अभिवृद्धि गरी स्वदेशी तथा विदेशी पुँजी र प्रविधि भित्र्याउने अवसर रहेको छ।

    २. जलविद्युत‌को विशाल सम्भावना

    जलविद्युत‌लाई सस्तो र भरपर्दो ऊर्जाका रूपमा उपयोग गर्दै औद्योगिकीकरण, सेवा क्षेत्र विस्तार र ऊर्जा निर्यातबाट स्थिर वैदेशिक आम्दानी सृजना गर्न सकिने सम्भावना छ।

    ३. उच्च मूल्यको पर्यटन विकास

    नेपालका अद्वितीय प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई उपयोग गर्दै एकीकृत पर्यटन विकासमार्फत ग्रामीण क्षेत्रमा रोजगारी र आय वृद्धि गर्ने बलियो आधार छ।

    ४. डिजिटल अर्थतन्त्र र सूचना प्रविधि

    कृत्रिम बौद्धिकता (एआई) र डिजिटल प्रविधिको विस्तारसँगै सेवा निर्यात र ज्ञानमा आधारित अर्थतन्त्र विकास गरी युवाशक्तिलाई विश्व बजारसँग जोड्न सकिने उच्च सम्भावना छ।

    ५. कृषिको आधुनिकीकरण

    कृषि क्षेत्रको व्यवसायीकरण र प्रशोधन उद्योगमा लगानी बढाएर उत्पादकत्व वृद्धि गर्ने र आयात प्रतिस्थापन गर्दै निर्यात विस्तार गर्ने अवसर छ।

    ६. औद्योगिक विकास र क्षेत्रीय हब

    निर्यातउन्मुख उत्पादन विस्तार र भौगोलिक अवस्थितिको लाभ उठाउँदै नेपाललाई क्षेत्रीय ट्रान्जिट ट्रेड हब (व्यापारिक केन्द्र) का रूपमा विकास गर्न सकिन्छ।

    ७. व्यवस्थित सहरीकरण र पूर्वाधार

    व्यवस्थित सहरीकरण र सार्वजनिक-निजी-साझेदारीमा ठूला पूर्वाधार आयोजनाहरू कार्यान्वयन गरेर लगानी आकर्षण र उत्पादकत्व वृद्धि गर्ने अवसर छ।

    ८. विप्रेषणको उत्पादनमूलक उपयोग

    वैदेशिक रोजगारीबाट प्राप्त हुने रकम र फर्केका श्रमिकहरूको सीपलाई स्वदेशी उत्पादन र सेवा क्षेत्रमा रूपान्तरण गर्न सकिने सम्भावना छ।

    ९. वित्तीय क्षेत्रको सुदृढीकरण

    वित्तीय समावेशीकरण र डिजिटल वित्तीय सेवाको प्रयोग बढाएर उपलब्ध बचतलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सकिने अवसर छ।

    १०. प्राकृतिक स्रोतको दिगो उपयोग

    जैविक र पर्यावरणीय सन्तुलन कायम राख्दै उपलब्ध खनिज, जल, जमिन र जडीबुटीको प्रचुर उपयोगबाट आय र रोजगारी बढाउने अवसर छ।

    ११. संस्थागत सुदृढीकरण

    सार्वजनिक वित्तीय व्यवस्थापनमा सुधार र संघीय संरचनाको प्रभावकारी कार्यान्वयनमार्फत विकासको नतिजा सुधार्ने अवसर सरकारले देखेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ