• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध : खुलाउन समय लाग्ने, वैकल्पिक व्यवस्था गरेर यात्रु पठाइँदै

    353
    SHARES



    काभ्रेपलाञ्चोक । शनिबारको वर्षाका कारण विभिन्न स्थानमा डाइभर्सन बगाएपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध छ । शनिबार दिउँसो चार बजेबाट बन्द भएको राजमार्ग खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले सम्भवत: आइतबार साँझसम्म पनि सडक खुलाउन समस्या हुने अनुमान गरे ।

    प्रहरीका अनुसार रोशी खोलाको बाढीले चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेशी, ठुलोढुंगा तथा माम्तीमा डाइभर्सन बगाएको छ । यसैगरी नेपालथोक र सिन्धुलीतर्फ आँपघारी क्षेत्रमा पनि डाइभर्सन बगाएको छ ।

    जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहका अनुसार बीपी राजमार्गको विभिन्न स्थानमा डाइभर्सन बगाएका कारण काभ्रेको मङ्गलटार, भकुण्डे, काभ्रेभञ्ज्याङ र धुलिखेल तथा सिन्धुलीको नेपालथोक र खुर्कोटमा सयौं सवारी साधन ‘होल्ड’ गरिएको थियो ।

    आइतबार बिहानबाट भकुण्डे, काभ्रेभञ्ज्याङ र धुलिखेलमा रोकिएका सवारी साधनहरुलाई सुरक्षित स्थानमा पठाइसकिएको छ । मंगलटार क्षेत्रमा रोकिएका यात्रीहरूलाई पनि वैकल्पिक मार्ग प्रयोग गरेर पठाउन थालिएको छ ।

    प्रहरीका अनुसार मंगलटारसम्म यात्रु बोकेर आएका सवारी साधनहरुलाई त्यहीँ रोकेर यात्रीहरूलाई रोशीखोला पारीसम्म पैदल हिँडाएर त्यहाँबाट अर्को गाडीको व्यवस्था गरी तेमालको कालधार–नारायणस्थान–भकुण्डे हुँदै धुलिखेलतर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ ।

    प्रहरीका अनुसार मौसममा सुधार आई सडक सुरक्षित भएको सुनिश्चित भएपछि मात्र पुन: सवारी साधन सञ्चालन गरिनेछ । सो सम्बन्धमा अर्को सूचना जारी गरी जानकारी गराइने प्रहरीले जनाएको छ ।

    सडकबारे जानकारी लिनुपरेमा नेपाल प्रहरीको १०० र ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ । बीपी राजमार्ग अवरुद्ध हुँदा काठमाडौंबाट पूर्वी पहाड र तराईतर्फ जाने तथा राजधानी भित्रिने सयौं सवारीसाधन प्रभावित भएका छन् ।

    २०८१ असोज महिनाको दोस्रो सातामा आएको भीषण बाढीले बिपी राजमार्गको भकुन्डेदेखि नेपालथोकसम्म करिब २८ किलोमिटर सडक खण्डमा व्यापक क्षति पुर्‍याएको थियो ।

    क्षतिग्रस्त क्षेत्रमा हाल पुनर्निर्माण कार्य जारी रहे पनि पूर्णरूपमा स्थायी संरचना निर्माण हुन बाँकी छ । अस्थायी समाधानका रूपमा रोशी खोलाको किनार हुँदै डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिँदै आएको छ । त्यो पनि बाढीले बगाइदिँदा यातायात अवरुद्ध हुने र यात्रीहरुले सास्ती पाउने क्रम जारी छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ