
काठमाडौँ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयको पूर्व सूचना अनुसार नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुमबासी बस्तीहरू हटाउने कार्य आज (शनिबार) बिहानैदेखि सुरु हुने भएको छ ।
नदीको प्राकृतिक बहावमा नकारात्मक असर परेको र सहरी पूर्वाधार निर्माणमा अवरोध पुगेको भन्दै प्रशासनले वैशाख ११ गते (शुक्रार) साँझ ७ बजेसम्म ती संरचना खाली गर्न अन्तिम समय सीमा तोकेको थियो ।
उक्त समय सीमा सकिएसँगै आज वैशाख १२ गते बिहान ६ बजेदेखि नै अनधिकृत घरटहराहरू भत्काउने र अतिक्रमित क्षेत्र पूर्ण रूपमा खाली गराउने प्रक्रिया अघि बढाइने भएको हो ।
प्रशासनले शुक्रबार नै सूचना जारी गरी घरटहरा खाली गर्न तथा आफ्ना निजी सामान, लत्ताकपडा र घरपालुवा जनावर सुरक्षित स्थानमा सार्न आग्रह गरेको थियो । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर सुरक्षित स्थानान्तरण गर्न प्रशासनले निर्देश गरेको छ ।
बस्ती खाली गराउने कार्यमा कुनै पनि अवरोध सिर्जना भएमा कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ ।
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
सुकुमबासी बस्ती हटाउँदा अवरोध गर्न सक्ने आशङ्कामा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाका महासचिव आरएन कुँवर, सल्लाहकार दलमर्दन कार्मी र दिनेश सुनार छन् ।
उनीहरूलाई थापाथली क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । शुक्रबार प्रहरीले सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी भन्ने नारायण परियारलाई पक्राउ गरेको थियो ।
२०७९ मा काठमाडौँ महानगरपालिकाले थापाथली स्थित सुकुमबासी बस्ती खाली गराउन खोज्दा परिश्रमीले महानगरका सुरक्षाकर्मीहरूलाई आक्रमण गरेका थिए । उनी ज्यान मार्ने उद्योग मुद्दामा फरार देखिएको एसपी भट्टराईले बताए ।
प्रतिक्रिया