
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्ग बन्द गरेर वासिङ्टनलाई ‘ब्ल्याकमेल’ नगर्न इरानलाई चेतावनी दिएका छन् ।ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा बोल्दै ट्रम्पले इरानलाई यस्तो चेतावनी दिएका हुन् ।
“हामी उनीहरूसँग कुरा गरिरहेका छौँ । उनीहरू फेरि जलमार्ग बन्द गर्न चाहन्छन् । यो उनीहरूले वर्षौंदेखि गर्दै आएका छन्, तर उनीहरूले हामीलाई ब्ल्याकमेल गर्न सक्दैनन् ।” ट्रम्पले भने ।
ट्रम्पको यो भनाइ इरानले रणनीतिक होर्मुज जलमार्ग पुनः बन्द गर्ने घोषणा गरेलगत्तै आएको हो । इरानले अमेरिकाले आफ्ना बन्दरगाह र ढुवानीमा जारी राखेको नाकाबन्दीले युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोप लगाउँदै जलमार्ग बन्द गरेको थियो ।
तनावबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले शनिबार एक विज्ञप्ति जारी गर्दै अमेरिकाले हालै पठाएका नयाँ प्रस्तावहरूमाथि विचार गरिरहेको जानकारी दिएको छ ।
इरानले आफ्नो राष्ट्रिय स्वार्थको रक्षा गर्ने र कुनै पनि कुरामा सम्झौता नगर्ने स्पष्ट पारेको छ । इरानी वार्ता टोलीले कुनै पनि प्रकारको लचकता नदेखाउने र इरानी जनताको हितका लागि पूर्ण शक्तिले लड्ने परिषद्ले जनाएको छ ।
प्रतिक्रिया