
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले दर्ता भएर अनुसन्धान जारी रहेका घटनाका सम्बन्धमा भ्रामक, अप्रमाणित सूचना सृजना गरी प्रसारण/प्रकाशन नगर्न अनुरोध गरेको छ।
परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले दर्ता भएको ज्यानसम्बन्धी कसूरका आरोपी पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकउपर सर्वोच्च अदालतको परमादेश र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्देशनमा माथवर व्यक्तिको जमानीमा राखेर अनुसन्धान भइरहेको जनाउँदै त्यस विषयमा भ्रामक सूचना सिर्जना र प्रसारण/प्रकाशन नगर्न सबैलाई अनुरोध गरिएको बताए।
उनले आजै एक विज्ञप्ति जारी गरी ‘ओली–लेखकको अनुसन्धानमा झेल ?’ भन्ने शीर्षकमा एक युट्युब च्यानलमा श्रव्यदृश्य सामग्री प्रकाशन भएकाले त्यसमा अभिव्यक्त धारणा र सूचनामा ध्यानाकर्षण भएको जनाए।
परिसरले आज जारी गरेको सूचनामा भनिएको छ, ‘स्वतन्त्र, विधिसम्मत र सरकारी वकिल कार्यालय, काठमाडौँको कानुनी रायपरामर्शमा अनुसन्धान भइरहेकामा जिम्मेवार प्रहरी अधिकृतलाई जोडेर अनर्गल तथा भ्रामक सूचना सम्प्रेषण हुँदा जनमानसमा गलत जानकारी प्रवाह भएकाले भ्रामक, अप्रमाणित सूचना सृजना एवं प्रसारण/प्रकाशन नगर्न हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ।’
प्रतिक्रिया