• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    थप दुइटा अमेरिकी लडाकू विमान खसालेको इरानको दाबी

    239
    SHARES



    काठमाडौँ । इरानले थप दुइटा अमेरिकी लडाकू विमान खसालेको दाबी गरेको छ। शुक्रबार इरानले दुई सिटे एफ–१५ई स्ट्राइक इगल लडाकु विमान इरानभित्र खसालेको दाबी गरेको छ।

    उक्त विमानका एक चालकलाई उद्धार गरिएको भए पनि अर्का चालक अझै बेपत्ता रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एशोसिएटेड प्रेस (एपी)ले जनाएको छ।

    पेन्टागनका अधिकारीहरूले लडाकू विमानमा रहेका अर्का चालकको अवस्था अज्ञात रहेको भनेर अमेरिकी संसदको आउस आर्म्ड सर्भिसेज् कमिटीलाई सूचना पठाएको एपीले जनाएको छ।

    अर्को अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पनि इरानले पहिलो पटक एफ-१५ लडाकू विमान खसालेको उल्लेख गर्दै समाचार लेखेको छ।

    शुक्रबार नै इरानले अर्को लडाकू विमान ए-१० वार्थहग खसालेको दाबी गरेको छ। उक्त लडाकू विमान कुवेतमा खसालेको दाबी गरेको छ। उक्त लडाकू विमानबाट भने पाइलटले प्यारासुटबाट हामफालेर ज्यान जोगाएको दाबी गरिएको छ।

    एक अमेरिकी अधिकारीले उक्त लडाकू विमान खस्नुमा इरानी हमला कारक हो, होइन भन्ने पुष्टि नभएको भनेर एपीलाई बताएका छन्।

    बेपत्ता रहेका एफ-१५ लडाकू विमानका चालकलाई खोजी गर्नका लागि दुइटा ब्ल्याकहक हेलिकप्टर परिचालन गरिएको थियो। यद्यपि त्यसमा समेत इरानी हमला भएपछि फर्किएको रोयटर्सले जनाएको छ। ती हेलिकप्टरहरू भने सुरक्षित रहेको जनाइएको छ।

    इस्लामिक रिभोलुसनरी गार्ड कोर्स (आइआरजिसी)ले पनि विमान खसेको आसपास खोजी तीव्र पारेको छ। आइआरजिसीले बेपत्ता भएका व्यक्तिलाई फेला पार्ने वा मार्नेलाई पुरस्कार दिने घोषणा गरेको छ।

    एपीले यसबारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिक्रिया लिएको छ। यद्यपि उनले यसबारेमा प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। रोयटर्सका अनुसार ट्रम्प ह्वाइट हाउसमा बसेर उद्धार अभियानको नियमित अपडेट लिइरहेका छन्।

    इरानले शुक्रबार मात्रै दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी गरेको थियो। इरानले दोस्रो एफ-३५ लडाकू विमानलाई ‘इस्लामिक रिभोलुसनरी गार्ड कोर्स’ (आइआरजीसी) को ‘एयर डिफेन्स’ प्रणालीले मध्य इरानमा खसालेको दाबी गरेको थियो।

    इरानको सरकारी समाचार एजेन्सीले सो विमानको पाइलट जीवित रहने सम्भावना न्यून रहेको जनाएको छ। गत महिना पनि इरानले एउटा एफ-३५ लडाकू विमान खसालेको दाबी गरेको थियो।

    पछि अमेरिकी सेनाले एक विज्ञप्ति जारी गर्दै इरानमाथि आक्रमण गर्ने क्रममा एउटा एफ-३५ लडाकू विमानले आपतकालीन अवतरण गरेको बताएको थियो। उक्त जेटका पाइलटको अवस्था स्थिर रहेको सेनाले जानकारी दिएको थियो।

    इरानले दोस्रो एफ-३५ लडाकू विमान खसालेको बारे अमेरिकाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। इरानको सो दाबीको अहिलेसम्म स्वतन्त्र पुष्टि पनि हुन नसकेको बेलायती पत्रिका द गार्डियनले लेखेको छ।

    एफ-३५ दुश्मनले ट्र्याक गर्न नमिल्ने ‘स्टेल्थ’ लडाकू विमान हो। अमेरिकाको यो ‘फिफ्थ जेनेरेसन’ लडाकू विमानलाई विश्वकै सबैभन्दा शक्तिशाली लडाकू विमान मानिन्छ।

    सो लडाकू विमानलाई अहिलेसम्म कसैले पनि खसाल्न नसकेको अमेरिकाले दाबी गर्दै आएको छ। यो लडाकू विमानको मूल्य लगभग १० करोड डलर भएको मानिन्छ।

    ट्रम्पले यसअघि इरानलाई सम्पूर्ण रूपमा धराशायी बनाइसकेको दाबी गरेका थिए। यो घटनाले अमेरिका र इसराइलले इरानको आकाशमा नियन्त्रणमा लिएको र जहाँ मन लाग्यो त्यहाँ प्रहार गर्न सक्छ भन्ने दाबीमा प्रश्न चिह्न खडा भएको एपीले जनाएको छ।

    सँगै इरानले पनि मध्यपूर्वमा आक्रमण तीव्र पारेको छ। फेब्रुअरी २८ देखि सुरु भएको युद्धमा हजारौंको ज्यान गइसकेको छ। एपीका अनुसार इरानमा मात्रै १,९०० भन्दा बढी मानिस मारिएका छन्। खाडी क्षेत्र, वेस्ट बैंक र इजरायलमा पनि दर्जनौंको मृत्यु भएको छ।

    रोयटर्सका अनुसार हालसम्म १३ अमेरिकी सैनिक मारिएका छन् र ३०० भन्दा बढी घाइते भएका छन्। लेबननमा १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ