
काठमाडौँ । अमेरिकाले इरानका सभामुख मोहम्मद बाघेर गालिबाफलाई शासन सुम्पन सक्ने अड्कलबाजी हुन थालेको छ। अमेरिकी अनलाइन ‘पोलिटिको’ ले त गालिबाफ इरानी डेल्सी रोड्रिगेज हुन सक्ने लेखेको छ।
लगभग तीन महिनाअघि ट्रम्पले सेना पठाएर भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेका थिए। त्यसपछि उनले तत्कालीन उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई भेनेजुएलामा शासन चलाउन दिएका छन्।
गालिबाफसँग सहकार्य हुन सक्ने र उनकै नेतृत्वमा अमेरिकासँग वार्ता हुन सक्ने भनेर ट्रम्प सरकारका दुई अधिकारीको हवाला दिँदै पोलिटिकोले जनाएको छ।
गत हप्ता इरानको सर्वोच्च सुरक्षा परिषद्का सचिव अलि लरिजानी मारिएपछि गालिबाफ अहिले इरानको सबभन्दा शक्तिशाली अधिकारी रहेको मानिन्छ। पछिल्ला केही महिना इरानको शासन लरिजानीले चलाएको मानिन्थ्यो।
अमेरिका र इसराइलले संयुक्त आक्रमणको सुरूआतमै फेब्रुअरी २८ मा सर्वोच्च नेता खमेनीलाई मारेपछि खमेनीभन्दा निर्दयी मानिने उनका माइला छोरा मोज्तबा खमेनीलाई सर्वोच्च नेता घोषणा गरिएको छ।
तर अलि खमेनीमाथिको आक्रमणका क्रममा नजिकैको कोठामा रहेका मोज्तबा आफै गम्भीर घाइते भएको समाचार आएका छन्। उनको खुट्टा, हात र जिउमा चोट लागेको र उपचार भइरहेको मानिन्छ। सायद त्यसैले सर्वोच्च नेता घोषणा भए यता उनको कुनै पनि तस्बिर वा भिडिओ सार्वजनिक भएको छैन।
मोज्तबाको स्वास्थ्य स्थिति कस्तो छ र शासनमा उनको भूमिका के छ भनेर अमेरिका र इसराइलले अहिलेसम्म ठोस जानकारी नपाएको पश्चिमा मिडियाले लेखेका छन्। गत हप्ता इसराइली हमलामा नमरिउन्जेल इरानको शासन लरिजानीले नै चलाइरहेको मानिन्थ्यो।
इरानमा सत्ता चलाउने भनिएको ‘इस्लामिक रिभोलुसनरी गार्ड कोर्स’ (आइआरजिसी) सँग लरिजानीको राम्रो सम्बन्ध थियो। लरिजानीको मृत्युपछि मोज्तबा र आइआरजिसी दुवैसँग राम्रो सम्बन्ध भएका गालिबाफ नै सबैभन्दा शक्तिशाली गैरसैनिक अधिकारी रहेको मानिन्छ।
शायद त्यसैले अमेरिकाले अहिले उनीसँग वार्ता गरिरहेको हुनसक्छ। गालिबाफ साँच्चै नै वार्ता गर्न हुँदैन भन्ने पक्षमा छन् भने अमेरिकाले उनलाई अप्ठ्यारो पार्नका लागि उनी इरानी ‘डेल्सी रोड्रिगेज’ हुन सक्ने भनेर नियतवश गलत सूचना चुहाएको पनि हुन सक्छ।
प्रतिक्रिया