• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ पर्व मनाइँदै

    339
    SHARES



    जनकपुरधाम । मिथिला क्षेत्रमा मंगलबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै लोक आस्था एवं सूर्य पूजाको महान् उत्सव चैती छठ पर्व मनाइँदैछ।

    नेपाल र भारतका मिथिला क्षेत्रमा गत आइतबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक सुरु भएको चारदिने चैती छठ उत्सवको आज मुख्य दिन षष्ठी तिथिको साँझ विभिन्न जलाशयमा पसेर व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ पर्व मनाइँदैछ।

    पर्वको षष्ठी तिथिका दिन आज साँझ व्रतालुले आ–आफ्ना घरघरमा गहुँ र चामललाई ओखल, जातो वा ढिँकीमा कुटानीपिसानी गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकियालगायत पकवान र विभिन्न फलपूmल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन्।

    आज षष्ठी तिथिका साँझ व्रतीहरूले सन्ध्याकालीन अर्घ्य का लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर सबै प्रकारका अर्घ्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ्य अर्पण गर्नेछन्।

    चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने चैती छठ पर्व आइतबारदेखि तराई, मधेस र भारत विहारको मिथिलाञ्चल क्षेत्रमा सुरु भएको थियो । यसपर्वको दोस्रो दिन सोमबार व्रतालुले आ–आफ्ना कुलदेवताको पूजा र सूर्य देवता र छठी मातालाई चैतीछठ पूजाका लागि निम्तो दिँदै खरना पर्व मनाएका थिए । आज षष्ठी तिथिमा चैती छठको मुख्य पूजा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर चैती छठ पर्व मनाउँदै छन्।

    चैती छठ पर्व जिल्ला सदरमुकामसहित जलेश्वर, मटिहानी, गौशाला, बर्दिवास, औरही, मनरासिस्वा, लोहारपट्टी, रामगोपालपुर, बलवा र भङ्गाह नगरपालिकाका साथै पिपरा, सम्सी, एकडारा, सोनमा र महोत्तरी गाउँपालिकाका सहरी एवं ग्रामीण क्षेत्रमा रहेका पोखरी, तलाऊ तथा ती पालिका भएर बग्ने बिग्ही, रातो मरहा, जङ्गहा, अङ्कुसी नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक मनाउँदै आइएको छ।

    सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यसपर्वको विशेषता रहेको जलेश्वर–८ पण्डित अनिल पाठकले बताए। त्यस्तै, जलेश्वर नगरपालिका–१ स्थित जलेश्वरनाथ महादेवका पुजारी कामेश्वर पाठकका अनुसार सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ।

    पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने चैती छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ। चार दिनसम्म मनाइने यसपर्वको पहिलो दिन आइतबार व्रतीले ‘नहा खा’ अर्थात् नुहाएर खाने अर्थात् जीऊ चोख्याउने काम गरेका थिए।

    त्यस्तै, पर्वको दोस्रो दिन सोमबार खर्ना मनाइएको थियो । खर्नाका दिन व्रतीले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुलदेवताको पूजा गरेका थिए भने राति अरवा अरबाइन (बिनानुन हालेको) खानेकुरा खाएका थिए। आज तेस्रो दिन सम्पूर्ण मिथिलाञ्चलमा चैती छठ पर्वको मुख्य दिन साँझपख अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सम्पूर्ण मिथिलाञ्चलवासी धुमधामका साथ चैती छठ मनाउने छन्।

    त्यस्तै, यसपर्वलाई व्रतालु भोलि (बुधबार) चौथो एवं अन्तिम दिन अर्थात् एकाबिहानै पुनःछठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्याई प्रातःकालीन उदाउँदो सूर्यलाई अर्घ्य दिइ चैती छठ पर्व सम्पन्न गर्नेछन्।

    महाभारतका अनुसार द्रोपदीसहित पाण्डव अज्ञातबसमा रहँदा उक्त गुप्ताबास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए। उक्त समयमा पाण्डव मिथिलाको किरात राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि मिथिलामा छठ मनाउने परम्पराको थालनी भएको हो।

    सूर्यपुराणअनुसार सर्वप्रथम पत्नी अनुसूइँयाले छठ व्रत गरेकी थिइन्। फलस्वरुप उनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन र त्यही बेलादेखि छठ पर्व मनाउने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ। धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावका रूपमा विकसित छठ पर्व हिन्दूको सँगसँगै मुस्लिमले मनाउने गर्छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ