
काठमाडौं । मुलुकका विभिन्न ठाउँमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर सात जनाले ज्यान गुमाएका छन् ।
धादिङ, धनुषा, महोत्तरी, बाँके, रुपन्देही, बारा र स्याङ्जामा भएका दुर्घटनामा परेर सात जनाको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी गराएको छ ।
धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारस्थित सडकमा बिग्रिएर रोकी राखेको ना.६ ख ३१०६ नम्बरको ट्रकमा बा.७२ प ६९४८ नम्बरको मोटरसाइकल ठोक्किएर आइतबार राति दुर्घटना भएको थियो । सो दुर्घटनामा मोटरसाइकल चालक गल्छी गाउँपालिका–२ भुतिया बस्ने ५६ वर्षीय खड्ग प्रसाद खतिवडाको मृत्यु भएको हो ।
धनुषाको धनौजी गाउँपालिका–३ कटैया चोकस्थित सडकमा प्रदेश २–०२–००१ प १४९६ नम्बरको मोटरसाइकल र ज.९ प ६९६७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा ज.९ प ६९६७ नम्बरको मोटरसाइकल चालक धनौजी गाउँपालिका–४ बस्ने २५ वर्षीय अंकित कुमार मण्डलको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, महोत्तरीको औरही नगरपालिका–३ श्रीपुरटोलस्थित सडकमा ज.४ प ४६६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका–३ श्रीपुर बस्ने ३० वर्षीय रंजीत साहको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी एकेडेमी अस्पताल पर्सामा उपचारको क्रममा मृत्यु भएको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
त्यस्तै, बाँकेको राप्तीसोनारी गाउँपालिका–६ डाँडाटपरीस्थित सडकमा कुण्डाचोकबाट बैजापुरतर्फ जाँदै गरेको भे.२ प ८१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका–३ चिनावास बस्ने ३५ वर्षीय हरी राम थारूको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको संजिवनी मेडिकल कलेज अफ साईन्सेज प्रालि नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
उता, रूपन्देहीको रोहिणी गाउँपालिका–३ लक्ष्मीनगरस्थित सडकमा लु. ७३ प २१२० नम्बरको मोटरसाइकल र मधेश प्रदेश ०३–००२ ख ३३६१ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका–३ कडदमहवा बस्ने २१ वर्षीय आशिष यादवको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित सडकमा बा.प्र.०१–००६ ख ९९७७ नम्बरको बसले प्र.३–०२–०१३ प ३०२१ नम्बरको मोटरसाइकललाई गए राति ठक्कर दिँदा मोटरसाइकल चालक गोरखा बस्ने अन्दाजी ३५ वर्षीय राम कुमार कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो ।
स्याङ्जाको गल्याङ नगरपालिका–९ साङलियास्थित सडकमा चापाकोटबाट गल्याङतर्फ आउँदै गरेको ग.१८ प ११०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बेलुकी दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ५४ वर्षीय ज्योतिलाल खनालको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वस्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया