• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    प्रधानमन्त्रीले आफ्नै स्वकीयलाई प्रकृति संरक्षण कोषको अध्यक्ष बनाएपछि व्यापक आलोचना

    273
    SHARES



    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नै प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष मनोनीत गरेको विषयमा व्यापक आलोचना भएको छ।

    प्रतिनिधि सभा निर्वाचन सम्पन्न भई नयाँ सरकार आउनै लाग्दा अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले आइतबार आफ्ना स्वकीय सचिव श्रेष्ठलाई कोषको अध्यक्ष मनोनीत गरेकी थिइन्।

    पूर्वमन्त्री ऐनबहादुर शाहीले कोषको अध्यक्षबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो। प्रधानमन्त्री कार्कीको उक्त निर्णयमा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ, महावीर पुन, जेनजी अभियानीहरू रक्षा बम, तनुजा पाण्डे लगायतले आलोचना गरेका छन्।

    सुमनाले सामाजिक सञ्जाल प्ल्याटफर्म एक्समा पोस्ट लेखेर प्रधानमन्त्री कार्कीको निर्णयको आलोचना गरेकी छन्। अरूले गर्दा नातावाद र कृपावाद भनिने त्यही कामलाई आफूले गर्दा योगदानको कदर नहुने उनको भनाइ छ।

    अरूले गर्दा भागबन्डा हुने त्यही काम आफूले गर्दा जिम्मेवारी बाँडफाट र अरूले गरे ‘सेटिङ’ भनिने त्यही काम आफूले गर्दा पारस्परिक सम्बन्ध नहुने उनले बताएकी छन्।

    ‘अरूले गरे जे कुरामा पनि विरोध, आफूले गरे मिहिन/रचनात्मक खबरदारी,’ उनले थप लेखेकी छन्। सुमनाले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नगरिएको विषयमा पनि प्रधानमन्त्री कार्कीलाई प्रश्न गरेकी छन्।

    ‘प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन, खै प्रतिवेदन,’ उनले लेखेकी छन्, ‘यो निर्णय साँच्चै कसको हो — निर्णय गर्नेको कि गराइनेको? लेनदेन के छ?’

    पूर्वशिक्षामन्त्री एवम् हाल म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका महावीर पुनले पनि कोषको अध्यक्षमा प्रधानमन्त्रीको स्वकीय सचिवको नियुक्ति गलत रहेको बताएका छन्। यसले प्रधानमन्त्रीको प्रतिष्ठा धुलोमा मिसिएको टिप्पणी पुनले गरेका छन्। त्यसो हुन नदिन उनले श्रेष्ठलाई नै सो पद नलिन आग्रह गरेका छन्।

    ‘त्यति सानो लोभले प्रधानमन्त्रीज्यूले कमाउनु भएको ऐतिहासिक इज्जत कृपया धुलोमा नमिलाइदेऊ। यस्ता किसिमको नातावाद, चाकरीवाज, कृपावाद, चापलुसीवादले पुराना दलहरू खत्तम भए। यही पाराले गर्ने हो भने नयाँ दलहरू पनि कालान्तरमा मासिन्छन्,’ उनले भनेका छन्।

    उनले आउने सरकारले त्यस्ता नियुक्ति गर्दा ध्यान पुर्‍याउनुपर्ने पनि बताएका छन्। त्यसका लागि आफूले सधैँ सजग गराइराख्ने पुनले बताएका छन्। जेनजी प्रतिनिधि रक्षा बमले पनि प्रधानमन्त्री कार्कीको निर्णयको विरोध गर्दै सामाजिक सञ्जालमा टिप्पणी लेखेकी छन्।

    उनले प्रधानमन्त्री र मन्त्रीहरूले आफ्ना मान्छेलाई बिदाइ उपहार स्वरूप परिषद, विभाग वा समितिका कुर्सी बाँडफाँट गर्नका लागि जेनजीहरूले टाउको र छातीमा गोली नथापेको बताइन्।

    ‘केका लागि थाहा छ? यो देशले, बिस्तारै भए पनि सुशासनको सास फेर्न पाओस् भन्ने सपनाका लागि। प्रधानमन्त्री र मन्त्रीज्यूहरूले आफ्ना मान्छेलाई बिदाइ उपहार स्वरूप परिषद, विभाग वा समितीका कुर्सीहरू बाडफाड गर्नका लागि होइन,’ उनले भनिन्।

    रक्षा अगाडि लेख्छिन्,’होस गर्नुहोस् है, त्यो कुर्सीमा रातो लागेको छ। सडकले रगत भुलेको छैन, र रगतले रंगिएको कुर्सीले तपाईंलाई कुनै उचाइ दिने छैन।

    जेनजी प्रतिनिधि तनुजा पाण्डेले प्रधामन्त्रीको निर्णयलाई सहिदको रगतलाई मजाक बनाइएको भनेकी छन्। उनले आसेपासेवाद बाट माथि उठ्ने कुरा गर्नेहरूकै वरिपरि यस्तो घटना बारम्बार दोहोरिनु आफैमा व्यंग्य जस्तो लाग्ने बताएकी छन्। पाण्डेले देश र शहिदमाथि मजाक गर्नेहरूको अवस्था कस्तो हुन्छ भन्ने कुरा हरेक दशकमा देखिएको बताइन्।

    ‘घिनलाग्दो राजनीति नगर्नुस्। नत्र सत्ताको स्वाद र पहुँचको खेलले यहाँ सबैलाई सडकमा झारेको छ, र तपाईं अर्को पात्र नबन्नु। जनताको आशा, पीडा र बलिदानलाई आफ्नै स्वार्थको खेल बनाउने, शहिदको रगतलाई सत्तामा चढ्ने सिँढी बनाउने गद्दारहरूलाई इतिहासले कहिल्यै माफ गर्दैन,’ उनले लेखेकी छन्।

    श्रेष्ठ यसअघि प्रधानमन्त्री कार्कीको सचिवालयमा आफ्नी पत्नी संगीता श्रेष्ठलाई नियुक्ति गरेको विषयमा पनि विवादमा तानिएका थिए। विवादित भएपछि प्रधानमन्त्री कार्कीले संगीतालाई आफ्नो सचिवालयबाट हटाएकी थिइन्। जेनजी प्रतिनिधि पाण्डेले त्यो विषयलाई पनि स्मरण गरेकी छन्।

    ‘प्रधानमन्त्री को स्वकीय सचिव आदर्श श्रेष्ठले आफ्नै पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव बनाउने प्रयास गरेको घटना त्यति पुरानो पनि होइन, त्यो पनि युवा आन्दोलनहरू र ‘नयाँ राजनीतिक संस्कार’ को चर्चा चलिरहेको समयमा। तर आज त्यही व्यक्ति प्रधानमन्त्रीका स्वकीय सचिव बनेर अन्तत प्रकृति संरक्षण कोष जस्तो संस्थामा पठाइने सिफारिसमा पुग्छन्,’ उनले भनेकी छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ