• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    साउदीस्थित अमेरिकी दूतावासमा ड्रोन हमला

    300
    SHARES



    काठमाडौँ । साउदी अरबस्थित अमेरिकी दूतावासमा ड्रोन हमला भएको छ। राजधानी रियादस्थित अमेरिकी दूतावासमा मंगलबार बिहान ड्रोन हमला भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

    ड्रोन हमलाबाट सामान्य आगलागी र भौतिक क्षति भएको साउदीको रक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयले दुईवटा ड्रोन दूतावास परिसरमा ठोक्किएको जनाएको छ।

    हमला भएको उक्त क्षेत्र विदेशी दूतावासहरू रहेको संवेदनशील इलाका हो। रोयटर्सले तीन स्रोतका अनुसार बिहान सबेरै ठूलो विस्फोटको आवाज सुनिएको र दूतावास क्षेत्रमा आगो लागेको देखिएको थियो।

    यद्यपि तीमध्ये एक स्रोतले आगो सानो स्तरको रहेको बताए। घटनाको ठ्याक्कै परिस्थितिबारे स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।

    यसबीच अमेरिकी दूतावास रियादले सुरक्षा सचेतना जारी गर्दै साउदी अरेबियामा रहेका अमेरिकी नागरिकलाई तत्काल सुरक्षित स्थानमै बस्न सिफारिस गरेको छ।

    सामाजिक सञ्जाल ‘एक्स’मार्फत सार्वजनिक गरिएको सूचनामा क्षेत्रीय सैनिक स्थापनातर्फ गैर–आवश्यक यात्रामा रोक लगाइएको पनि उल्लेख छ।

    घटनापछि कूटनीतिक क्षेत्रमा थप दुईवटा विस्फोटको आवाज सुनिएको स्रोतहरूले बताएका छन्। अमेरिकी दूतावासका प्रवक्ताले प्रारम्भिक चरणमा टिप्पणी गर्न अस्वीकार गरेका छन् भने साउदी सरकारी मिडिया कार्यालयबाट पनि तत्काल प्रतिक्रिया आएको छैन।

    यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूज नेसनसँगको अन्तर्वार्तामा रियादस्थित दूतावासमाथिको आक्रमण र इरानसँगको द्वन्द्वका क्रममा अमेरिकी सैनिकको मृत्युबारे अमेरिकाले कस्तो जवाफ दिनेछ भन्ने कुरा ‘छिट्टै थाहा हुने’ बताएका छन्।

    तर उनले ‘जमिनमा सेना पठाउनुपर्ने अवस्था नआउन सक्ने संकेत दिएका छन्। रियादको कूटनीतिक क्षेत्र विदेशी दूतावास र अन्तर्राष्ट्रिय संस्थाहरूको केन्द्र भएकाले सुरक्षा चुनौती बढेको आकलन गरिएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको अधिकारीहरूले जनाएका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ