• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन आयोगको निर्देशन

    214
    SHARES



    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदान केन्द्रमै प्राथमिक स्वास्थ्य उपचार सेवा सुनिश्चित गर्न निर्देशन दिएको छ।

    यही फागुन २१ गते हुने मतदानका दिन मतदातादेखि निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीसम्मलाई आवश्यक पर्न सक्ने आकस्मिक स्वास्थ्य सेवाको व्यवस्था गर्न सरोकारवाला निकायलाई आयोगले आग्रह गरेको हो।

    आयोगका अनुसार उक्त दिन देशभर १० हजार ९६७ मतदान स्थल र २३ हजार २५५ मतदान केन्द्र (अस्थायीसमेत)मा मतदान हुनेछ। अपाङ्गता भएका व्यक्ति, अशक्त, ज्येष्ठ नागरिक तथा अन्य मतदातालाई मतदानको क्रममा स्वास्थ्य समस्या आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्राथमिक उपचार सेवा उपलब्ध गराउन भनिएको छ।

    निर्वाचनको व्यवस्थापकीय तयारी स्वीकृत कार्यतालिकाअनुसार अघि बढिरहेको उल्लेख गर्दै आयोगले सबै मतदान केन्द्रमा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध हुने व्यवस्था मिलाउन निर्देशन दिएको जनाएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा यससम्बन्धी विवरण समावेश छ।

    स्वास्थ्य सेवा सहज बनाउन आयोगले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहहरूलाई आवश्यक सहयोगका लागि पत्राचार गरिसकेको जनाएको छ। साथै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय गरी देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ।

    स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ आयोगले नेपाल सरकारलगायत सम्बन्धित निकायसँग सहकार्य गरिरहेको जनाएको छ। आयोगको सिफारिसअनुसार मतदानको दिन अघि र पछि गरी तीन दिन सार्वजनिक बिदा दिने निर्णयसमेत सरकारले गरिसकेको छ।

    मतदान प्रक्रिया व्यवस्थित बनाउन आयोगले मतदान केन्द्र रहेका शिक्षण संस्था, स्वास्थ्य चौकी, वडा कार्यालयलगायतका सरकारी संरचना र त्यहाँ रहेका भौतिक सम्पत्ति फागुन १९ देखि २१ गतेसम्म प्रयोग गर्न सक्ने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालय तथा स्थानीय तहलाई पत्र पठाइसकेको छ।

    आयोगले आफ्ना निर्णय र पत्राचारअनुसार आवश्यक सहयोग उपलब्ध गराउन संघ, प्रदेश, स्थानीय तह र सबै सरोकारवाला निकायलाई अनुरोध गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ