• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    चुनाव प्रचारमा छत खुला रहेको ‘रुफटप भेहिकल’ प्रयोग गर्न नदिने निर्णय

    419
    SHARES



    काठमाडौँ । निर्वाचन प्रचारका क्रममा उम्मेदवारहरूले छत खुला रहेको ‘रुफटप भेहिकल’ प्रयोग गर्ने विषयमा केन्द्रीय सुरक्षा संयन्त्रभित्र गम्भीर छलफल भएको छ। त्यसैअनुसार सुरक्षा समितिको बैठकले अब यस्ता सवारी साधन प्रयोग गर्न नदिने निर्णय गरेको छ।

    बिहीबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उम्मेदवारहरूको व्यक्तिगत सुरक्षामा जोखिम बढ्न सक्ने निष्कर्षसहित छत खुला गाडी प्रयोगमा रोक लगाउने निर्णय गरेको हो। गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार उम्मेदवारहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो निर्णय गरिएको हो।

    गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा गृह मन्त्रालयका सचिव, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका प्रतिनिधि तथा सम्बन्धित सहसचिवहरू सहभागी थिए।

    प्रदेशस्तरीय र जिल्लास्तरीय सुरक्षा समितिका अधिकारीहरू पनि भर्चुअल माध्यमबाट बैठकमा जोडिएका थिए। पछिल्लो समय देशका विभिन्न स्थानमा उम्मेदवारहरू खुला छत भएका गाडीमा उभिएर प्रचार गर्ने अभ्यास बढ्दै गएकाले त्यसबाट सम्भावित सुरक्षा चुनौती उत्पन्न हुन सक्ने ठहर गरिएको सहसचिव काफ्लेले जानकारी दिए।

    बैठकमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको हालसम्मको तयारी, सुरक्षा व्यवस्थापन र समग्र गतिविधिको समीक्षा गरिएको थियो। तयारी सन्तोषजनक रहेको निष्कर्षसहित त्यसलाई अझ प्रभावकारी बनाउने निर्णय गरिएको छ।

    निर्वाचन अवधिभर कर्मचारी परिचालनमा पूर्ण तटस्थता र निष्पक्षता कायम गर्न सचेत रहनुपर्ने विषयमा पनि छलफल भएको थियो। ‘कुनै पनि कर्मचारीका कारण दण्डहीनताको अवस्था सिर्जना हुन नदिन स्पष्ट निर्णय गरिएको छ,’ प्रवक्ता काफ्लेले बताए।

    केन्द्रीय सुरक्षा समितिले निर्वाचन अवधिभर जिल्ला सुरक्षा समितिको बैठक दैनिक रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ। साथै, सुरक्षा निकायहरूबीच समन्वय बढाउँदै संयुक्त गस्तीलाई थप सुदृढ बनाउने निर्णयसमेत गरिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ