काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले प्रजातन्त्रको वास्तविक अनुभूति आम नागरिकको दैनिकीमा देखिनुपर्ने बताएकी छन्। युवालाई बेवास्ता गरेर कुनै पनि राष्ट्र शान्त र स्थिर रहन नसक्ने उल्लेख गर्दै उनले युवाले नातावाद, कृपावाद र भ्रष्टाचार स्वीकार नगर्ने स्पष्ट पारेकी छन्।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज सैनिकमञ्च टुँडीखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले प्रजातन्त्र केवल संस्थागत संरचनामा सीमित नभई नागरिकको मुहारमा देखिने मुस्कान र निस्फिक्री निद्रामा अनुभूत हुनुपर्ने धारणा राखिन्।
‘प्रजातन्त्रको सार कागजमा होइन, जनताको जीवनमा देखिनुपर्छ,’ उनले भनिन्, ‘युवामा ऊर्जा, नैतिक क्रोध र परिवर्तनको तीव्र चाहना छ। त्यो असन्तोषलाई दबाएर होइन, सम्बोधन गरेर मात्र देश अघि बढ्न सक्छ।’
प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वस्थ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताइन्। उक्त निर्वाचनले मुलुकलाई दिगो लोकतान्त्रिक स्थायित्वतर्फ लैजाने ‘नयाँ युगको ढोका’ खोल्ने विश्वाससमेत उनले व्यक्त गरिन्।
नेपालको निर्वाचन इतिहास स्मरण गर्दै वि.सं. २०१५ साल फागुन ७ गतेदेखि सुरु भएको पहिलो प्रजातान्त्रिक निर्वाचनको उल्लेख गर्दै उनले तोकिएकै मितिमा विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न हुने सुनिश्चितता दिइन्। लोकतन्त्रलाई मजबुत बनाउने जिम्मेवारी सरकार, राजनीतिक दल र नागरिक सबैको साझा दायित्व भएको उनको भनाइ थियो।
निर्वाचनबाट आउने संसद् र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी बनाउने विश्वास व्यक्त गर्दै उनले संस्कारयुक्त राजनीति, जवाफदेही शासनशैली र सामाजिक न्यायसहितको समृद्धिका लागि एकताबद्ध हुन सबैलाई आह्वान गरिन्।
प्रधानमन्त्री कार्कीले लोकतन्त्र प्रक्रिया मात्र नभई परिणाम दिन सक्नुपर्ने प्रणाली भएको स्पष्ट पार्दै विधिको शासनमा जोड दिइन्। ‘प्रक्रियाको नाममा नागरिकलाई अनावश्यक झन्झट, ढिलासुस्ती र हैरानी दिनु लोकतन्त्र होइन, त्यो बेथिति हो,’ उनले भनिन्।
२३ र २४ भदौको घटनापछि गठन भएको सरकारले जेन–जी आन्दोलनका आवाजलाई गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै उनले सुशासन, पारदर्शिता, सामाजिक न्याय र जवाफदेहितालाई व्यवहारमा उतार्ने दिशामा सरकार केन्द्रित रहेको जानकारी दिइन्।
साथै, असामान्य अवस्थालाई सामान्यीकरण गर्दै शान्ति–सुरक्षा बहाली गर्नु र छोटो समयमै निर्वाचनका लागि अनुकूल वातावरण बनाउनु सरकारको प्रमुख प्राथमिकता रहेको पनि उनले स्पष्ट पारिन्।
प्रतिक्रिया