काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी ममता शर्माले गगन थापा नेतृत्वको कांग्रेस नयाँ रास्वपा र रवी लामिछाने नेतृत्वको रास्वपा पुरानो कांग्रेसमा परिणत भएको बताएकी छिन ।
नेपाली कांग्रेसले जनकपुरको तिरहुतियामा आयोजना गरेको प्रतिज्ञासभामा शर्माले गलत नेतृत्वका कारण रास्वपाको नारा पनि फेरिएको बताइन् ।
‘कुनै पार्टीको नीति गलत नेतृत्वका कारण बिग्रिन्छ । अहिले रास्वपामा त्यही भएको छ,’ शर्माले भनिन्, ‘रास्वपाको नारा बदलिएको छ । रास्वपाको नारा थियो, जान्नेलाई छान्ने, अब पालो युवाको, अब पालो नयाँको भन्ने नारा परिवर्तन भएर दागवालालाई छान्ने, चाङका चाङ मुद्दा लागेका छान्ने भएको छ ।’
उनले विशेष महाधिवेशन गरेर गगन थापा सभापति भएपछि कांग्रेस नयाँ रास्वपा भएको भएको र रास्वपा पुरानो नेपाली कांग्रेस भएको बताइन् ।
शर्माले ८० वर्ष पुरानो पार्टीका सभापतिमाथि आक्रमण भएको, पार्टी कार्यालय जलाइएको बेलामा नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने थापाको आटलाई मान्नुपर्छ भन्दै प्रशंसा गरिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी मधेस प्रदेशकी संस्थापक सभापति शर्माले मंगलबार मात्रै साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी थिइन् ।
प्रतिक्रिया