काठमाडौं । बंगलादेशमा विद्यार्थी विद्रोहको जगमा गठन भएको नेशनल सिटिजन पार्टी (एनसीपी) ले निर्वाचनमा लज्जास्पद परिणाम हासिल गरेको छ । बंगलादशेमा जारी मत गणनाका क्रममा एनसीपीले जितेको सिटका आँकडा फरक फरक छ ।
‘ढाका ट्रिब्युन’का अनुसार हालसम्म यो पार्टीले ४ सिट जितेको छ र एक सिटमा अग्रता लिएको छ । सीएनएन र रोयटर्सले भने ५ सिट जितेको समाचार लेखेका छन् । सीएनएनका अनुसार एनसीपीले ३० निर्वाचन क्षेत्रमा उम्मेदवारहरू खडा गरेको थियो ।
निर्वाचनमा अपेक्षाअनुरूप नतिजा नआएपछि एनसीपीले मतगणनामा अनियमितता भएको आरोप लगाउँदै पुन: मतगणनाको माग गरेको बीबीसीमा समाचार छ ।
सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनबाट शेख हसिना सत्याच्युत भएकी थिइन् । त्यसपछि एनसीपी गठन भएको थियो । आन्दोलनका क्रममा देखिएका चर्चित अनुहारमध्ये नाहिद इस्लामले एनसीपीको नेतृत्व गरिरहेका छन् ।
एनसीपीले आफूलाई भ्रष्टाचार र तानाशाहीविरूद्धको नयाँ विकल्प बताउने गरेको छ । यो पार्टी युवाका लागि रोजगार, हिंसापीडितको न्याय र संस्थागत सुधारजस्ता मुद्दाहरू उठाउँदै आएको छ ।
बंगलादेशमा भ्रष्टाचार र सुशासनको मागसहित जुलाई २०२४ मा विद्यार्थी आन्दोलन सुरू भएको थियो । सरकारी जागिरका लागि व्यवस्था गरिएको आरक्षणविरूद्ध उनीहरूले सुरूवाती दिनमा प्रदर्शन गरेका थिए ।
विद्यार्थी आन्दोलन विस्तारै भ्रष्टाचार र सरकारी दमनविरूद्ध विद्रोहमा परिणत भयो । तत्कालीन शेख हसिना नेतृत्वको सरकार आन्दोलनकारी विरूद्ध आक्रामक बन्दै सेनालाई सडकमा उतारेको थियो । सो आन्दोलनको क्रममा झण्डै १४ सय मानिसहरू मारिएका संयुक्त राष्ट्रसंघले जनाएको छ । मारिनेमा अधिकांश क्याम्पसमा अध्ययनरत विद्यार्थी र युवा थिए ।
आन्दोलन चर्किदै गएपछि हसिना देश छाडेर भारत भागेकी थिइन् । उनी देश छाडेर भागेपछि बंगलादेशमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । सोही सरकारले विहीबार निर्वाचन गराएको हो । शेख हसिनाको पार्टीमाथि प्रतिबन्ध लागेकाले निर्वाचनमा सहभागी हुन पाएको थिएन ।
पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोराले नेतृत्व गरेको बीएनपी पार्टीले भने सबैभन्दा धेरै सिट जितेर बहुमत हासिल गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सो पार्टीका अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने छन् । बीएनपी करिब दुई दशकसम्म सत्ता बाहिर थियो ।
हाल भारतमा निर्वासन जीवन बिताइरहेकी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले यस चुनावलाई पूर्णरूपमा फर्जी र असंवैधानिक भनेकी छन् । अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले गैरकानुनी र असंवैधानिक ढंगले सत्ता कब्जा गरेर त्यही आधारमा चुनाव गराएको उनको आरोप छ ।
प्रतिक्रिया