काभ्रे । रामेछापमा मंगलबार भएको यात्रुवाहक बस दुर्घटनापछि अवरुद्ध बनेको यातायात सेवा मृतक परिवारलाई क्षतिपूर्ति दिने तथा सार्वजनिक सवारीको कडा अनुगमन गर्ने सहमतिसँगै पुनः सञ्चालनमा आएको छ।
स्थानीय प्रशासन, नेपाल अरनिको यातायात सेवा प्रा.लि.का प्रतिनिधि र पीडित परिवारबीचको वार्तामा मृतकका परिवारलाई कानुनअनुसार पाउनुपर्ने क्षतिपूर्ति तत्काल उपलब्ध गराउने सहमति भएको हो। दुर्घटनापछि हालसम्म सम्पर्कविहीन रहेका यात्रुका परिवारलाई पनि मृतकसरह मानी क्षतिपूर्ति दिने निर्णय गरिएको छ।
सहमति अनुसार सवारी दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई प्रचलित कानुन बमोजिमको क्षतिपूर्ति नेपाल अरनिको यातायात सेवा प्रा.लि.ले तुरुन्त व्यवस्था गर्नेछ। थप क्षतिपूर्तिको विषयमा भने जिल्ला सुरक्षा समितिको समन्वयमा पीडित पक्ष, सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि र यातायात सेवा कम्पनीबीच थप छलफल हुने उल्लेख छ।
यस्तै, अस्पतालमा राखिएका मृतकका शव परीक्षण सम्पन्न गरी आफन्तको सहमति र सहजीकरणमा अन्त्येष्टिका लागि हस्तान्तरण गरिने, दुर्घटनामा संलग्न सवारी चालकलाई कानुनअनुसार कडा कारबाही प्रक्रिया अघि बढाइने सहमति भएको छ। बेपत्ता यात्रुहरूको खोजी कार्य निरन्तर जारी राख्ने र उनीहरूको हकमा पनि मृतकसरह क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरिएको छ।
पीडित पक्षले दुर्घटना चालकको लापरबाहीका कारण भएको दाबी गर्दै थप सुविधा माग गरेकाले त्यससम्बन्धी मागपत्र गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म पठाइने उल्लेख छ। साथै, हाल सञ्चालनमा रहेका विरोधका कार्यक्रमहरू स्थगन गर्ने सहमति पनि भएको छ।
यसैगरी, यात्रुको ज्यान जोखिममा पारेर सवारी साधन सञ्चालन गरेको पाइएमा कानुनअनुसार सवारी दर्ता खारेज गर्न सम्बन्धित निकायमा सिफारिस गरिने, रामेछाप प्रवेश गर्ने तथा जिल्लाभित्र सञ्चालन हुने सवारी साधनलाई चेकप्वाइन्टमार्फत अनिवार्य जाँच गर्ने निर्णय गरिएको छ। यात्रु संख्या, प्रवेश समयलगायत विवरण अभिलेख राख्ने व्यवस्था पनि लागू गरिनेछ।
रामेछापमा चल्ने सवारी साधनको नियमित अनुगमन, चालकले मदिरा वा लागुऔषध सेवन गरे–नगरेको परीक्षण तथा सडकको अवस्थासम्बन्धी सुधार कार्य सम्बन्धित निकायले अघि बढाउने सहमतिमा उल्लेख छ।
तीन जना अझै बेपत्ता
मन्थली नगरपालिका–६ त्रिवेणी पुल नजिक मंगलबार भएको बस दुर्घटनामा दुई बालक र एक युवक अझै बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं–२ पिप्ले का ९ बर्षिय क्रिचन तामाङ, लिखु तामाकोसी गाँउ पालिका वडा नं –७ तिल्पुङ का बर्ष ८ का रोनिश तामाङ र उमाकुण्ड गाँउपालिका वडा नं –६ गुप्तेश्वरका वर्ष २४ का बिशाल सुनुवार बेपत्ता छन् ।
मंगलबार काठमाण्डौ बाट ओखलढुंगाका लागि छुटेको बा प्र ००१- ०५ख ९९७५ नं को अरनिको यातायात सेवा प्रालिको बस मन्थली– ६ स्थित त्रिबेणी पुल नजिकको सडकबाट करिब १०० मिटर तल तामाकोशी नदीमा खस्दा १२ जनाको घटनास्थलै मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए ।
प्रतिक्रिया