काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले विज्ञप्ति जारी गरी कुनै पनि प्रकारका प्रदर्शन, जुलुस, भेला र नाराजुलुस नगर्न सूचना जारी गरेको हो।
विमानस्थल क्षेत्रलाई संवेदनशील मान्दै शान्ति–सुरक्षा तथा आवागमन व्यवस्थापनलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रशानसनले सरकारका सम्बद्ध निकायहरु निर्वाचनतर्फ परिचालित भएको स्थितिमा फागुन १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासको क्षेत्रमा केही प्रदर्शन, भेलाजम्मा र ऱ्यालीजस्ता गतिविधि गर्ने भनेर केही समूह तथा राजनीतिक दलबाट विज्ञप्ति र सामाजिक सञ्जालमा सूचना जारी भएको पाइएको पनि बताएको छ।
त्यसबारे काठमाडौं प्रशासनमा कसैबाट पनि जानकारी गराउने वा पूर्वस्वीकृति लिने काम भने नभएको विज्ञप्तीमा उल्लेख छ।
‘निर्वाचन आचार संहिता लागु भईसकेको हालको अवस्थामा यस्ता प्रकृतिका कार्यक्रम गर्न बन्देज रहेको तथा प्रकारका कार्यक्रममा निर्वाचन विरोधी भनिएका समूह समेतको घुसपैठ हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै आसन्न निर्वाचनको सन्दर्भ, फागुन ३ गतेको महाशिवरात्रि पर्वको व्यवस्थापन, धार्मिक एवम् साँस्कृतिक आस्थाको सम्मान गर्दै उक्त पर्वलाई भव्य रुपमा सम्पन्न गर्न, अन्तर्राष्ट्रिय विमानस्थल जस्तो अत्यन्त संवेदनशील स्थान र आसपासको क्षेत्र समेतको सुरक्षालाई मध्यनजर गर्दै, विमानस्थलसम्म आवतजावत गर्ने यात्रुहरूको सहज आवागमनलाई सुनिश्चित गर्न, विमानस्थल आसपासका क्षेत्र एवम् सार्वजनिक सडक मार्गमा यातायात सञ्चालन तथा आम सर्वसाधारणको निर्वाध आवतजावत गर्न पाउने हक संकुचन हुने गरी कुनै प्रकारको जुलुस, प्रदर्शन, हडताल, -याली, भेलाजम्मा हुने जस्ता कार्यहरू नगर्न, नगराउन, सामाजिक सञ्जालका माध्यमबाट यस प्रकारका कार्यहरूलाई प्रेरित गर्ने वा उक्साउने जस्ता गतिविधि नगर्न, नगराउन जानकारी गराइएको छ,’ विज्ञप्तीमा भनिएको छ।
निषेधित र संवेदनशील क्षेत्रमा कानून विपरीतका कार्यहरूमा संलग्न हुने जो सुकैलाई कारबाही गरिने समेत प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ।
राप्रपाका नेताहरू र दुर्गा प्रसाईं लगायतले पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं फर्कंदा त्रिभुवन विमानस्थलमा शुक्रबार स्वागत गर्ने भन्दै आह्वान गरेका थिए।
अर्को विज्ञप्तीमा यस्ता कार्यक्रमले अन्तर्राष्ट्रिय विमानस्थल जस्तो अत्यन्त संवेदनशील क्षेत्र र सो आसपासको क्षेत्रमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रमहरू आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उच्छृङ्खल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवम् हुलदङ्गा वा अशान्ति भई अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्न जाने अवस्थालाई मध्यनजर गरी निषेधाज्ञा जारी गरिएको प्रशासनको भनाइ छ।
विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि विमानस्थल परिसर क्षेत्रभित्रको सम्पूर्ण सडक, आन्तरिक टर्मिनल क्षेत्र, अन्तराष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङ क्षेत्र लगायतको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हाताभित्रको सम्पूर्ण क्षेत्रमा पाँच जनाभन्दा बढि व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको प्रजिअ पौडेलले जानकारी दिएका छन्।


प्रतिक्रिया