धनगढी । दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवलदार योगेन्द्र घर्तीको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ भने अन्य चार जना फरार रहेका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टका अनुसार पक्राउ पर्नेमा महाकाली नगरपालिका–४ का २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बम रहेका छन्।
प्रहरीका अनुसार घटनामा संलग्न तथा सहयोगीको भूमिका खेलेको आशंकामा अन्य चार जना भने फरार छन्। फरार हुनेमा अस्मिता बियर बारका सञ्चालक आशिक पाल, उनकी जेठी श्रीमती लक्ष्मी बडु, भाइ मनिस पाल र शव व्यवस्थापनमा सहयोग गर्ने राजेन्द्र डडाल रहेका छन्।
प्रहरी अनुसन्धानबाट पक्राउ परेकी दिपिका आशिक पालकी कान्छी श्रीमती रहेको खुलेको छ। प्रारम्भिक अनुसन्धानका अनुसार अस्मिता बियर बारमा कान्छी श्रीमती दिपिकालाई जिस्काएको विषयलाई लिएर आशिक पालले प्रहरी हवलदार घर्तीमाथि कुटपिट गरेका थिए।
पक्राउ परेकाहरूले दिएको बयानअनुसार आशिक पाल र उनका भाइ मनिस पालले कुटपिट गरी घर्तीको हत्या गरेको दाबी गरे पनि त्यसबारे थप परीक्षण र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
एसएसपी विष्टका अनुसार घटनास्थल तथा प्रारम्भिक परीक्षणमा घर्तीको टाउकोमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ। घटनापछि फरार भएका व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रतिक्रिया