काठमाडौं । काठमाडौं उपत्यकासहित तराई मधेशका जिल्लामा आज बिहान बाक्लो हुस्सुकुहिरो लागेको छ । हुस्सु कुहिरोले पारदर्शिता कम हुँदा हवाई उडान समेत प्रभावित भएका छन् ।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान अवतरण रोकिएको छ । भद्रपुर, जनकपुर, पोखरा, भैरहवा, वनेपालगञ्ज, धनगढी लगायतका विमानस्थलहरुमा आज बिहानका उडान डिले भएका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हिजो परेको पानीका कारण हुस्सुकुहिरो लागेको हो । वाष्पीकरणका बेला माथिल्लो वायुमण्डलको तापक्रम चिसो भएकाले पानीका साना साना कण तल धकेलिएर जमिनमै रोकिँदा हुस्सुकुहिरो लागेको हो ।
यो अवस्था दिउँसोदेखि क्रमश: हटेर जाने मौसमविदले बताएका छन् । ‘बिहानको समयमा हुस्सु कुहिरोको अवस्था आज र भोलि दुई दिनसम्म देखिने सम्भावना छ,’ मौसमको अध्येता डा. धर्मराज उप्रेतीले भने ।
प्रतिक्रिया