काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लंघनमा प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार, सार्वजनिक पदाधिकारी र विभिन्न संघ संस्थालाई स्पष्टीकरण सोधेको छ।
आयोगले नेपाली कम्युनिष्ट पार्टीका जाजरकोटका उम्मेदवार शक्ति बस्नेतलाई पैसा बाँडेको भिडिओबारे स्पष्टीकरण सोधेको छ।
बस्नेतले उम्मेदवारी दर्ता गर्दा बाजा बजाउने मानिसहरूको टाउकोमा पैसा सिउँरिदिएको भिडिओका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो। उनलाई तीन दिन भित्र जबाफ दिन भनिएको छ।
त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई पनि आयोगले स्पष्टीकरण सोध्ने भएको छ। निर्वाचनमा बालबालिकाको प्रयोग गरेको विषयमा उनलाई स्पष्टीकरण सोध्न लागिएको हो। त्यस्तै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई पनि आयोगले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
झापा–५ मा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीको मनोनयन दर्ता गर्दा उनी सरकारी गाडी चढेर सहभागी भएको विषयमा आयोगले स्पष्टीकरण सोधेको हो।
निर्वाचन प्रसार प्रसारमा सार्वजनिक पदाधिकारीहरूले सरकारी स्रोत साधनको प्रयोग गर्न पाउँदैनन्। आचारसंहिताले बर्जित गरेको छ। त्यस्तै राप्रपाबाट काठमाडौं–४ बाट उम्मेदवार रहेका सुरेन्द्र भण्डारीलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ।
उनलाई द्वेषपूर्ण अभिव्यक्ति दिएको आरोपमा उनलाई स्पष्टीकरण सोधिकएको हो। उनलाई यौनिक तथा अल्पसंख्यक समुदायविरूद्ध घृणित अभिव्यक्ति दिएको विषयमा स्पष्टीकरण सोधिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीका दोलखाका उम्मेदवार जगदीश खरेललाई पनि आयोगले स्पष्टीकरण सोधेको थियो। उनलाई दलको झण्डाको प्रयोग र मनोनयन दर्ता गर्दा २५ जना भन्दा धेरै मानिस सहभागी गराएको विषयमा स्पष्टीकरण सोधेको हो।
खरेलले जबाफसमेत पठाइसकेका छन्। उनले आगामी दिनमा आचारसंहिता पूर्ण पालना गर्ने उल्लेख गर्दै आफूले अन्जानमा आचारसंहिता विपरित काम गरेको बताएका छन्।
आयोगले अखिल नेपाल फुटबल संघ एन्फा र राष्ट्रिय खेलकुद परिषद्लाई पनि स्पष्टीकरण सोधेको छ। एन्फालाई निर्वाचनसँग सम्बन्धित विषयमा र राखेपलाई खेलकुदसम्बन्धी सम्मेलनको विषयमा स्पष्टीकरण सोधेको हो।
आचारसंहित उल्लंघनमा आयोगले सुरूआतमा ३ दिने स्पष्टीकरण सोध्ने गरेको छ। दोस्रो पटक २४ घण्टे स्पष्टीकरण सोध्ने र त्यसपछि पनि आचारसंहित पालना नगर्नेलाई कारबाही गर्ने तयारी आयोग छ। निर्वाचन आचारसंहिता उल्लंघन गर्ने व्यक्तिलाई जरिवानादेखि उम्मेदवारी खारेजसम्म गर्न सक्ने अधिकार आयोगलाई छ।
प्रतिक्रिया