• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    १० दिनभित्र माग पूरा नभए मेलम्ची खानेपानीको काठमाडौँ आउँन नदिने स्थानीयको चेतावनी

    472
    SHARES



    काठमाडौँ । मेलम्ची क्षेत्रका बाढीपीडित तथा उपभोक्ताले आफ्ना माग १० दिनभित्र पूरा नभए मेलम्ची खानेपानीको काठमाडौंतर्फको पथान्तरण पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिएका छन्।

    आइतबार खानेपानी मन्त्री मदन परियारलाई भेटेर मेलम्चीवासीले यस्तो चेतावनी दिएका हुन्। मेलम्ची खानेपानीका वितरक उत्तरकुमार श्रेष्ठका अनुसार विगतमा भएका सम्झौताहरू कार्यान्वयन गर्न मन्त्री परियारले थप १० दिनको समय मागेका छन्।

    २०७८ सालको बाढीपहिरोबाट प्रभावित पीडितलगायतका माग सम्बोधन गर्न तत्कालीन खानेपानी मन्त्री प्रदीप यादवसँग सम्झौता भएको थियो। तर उक्त सम्झौता कार्यान्वयन नभएपछि पीडितहरूले पटक–पटक मेलम्चीको पानी पथान्तरण नै बन्द गर्दै आएका छन्।

    पीडितको तर्फबाट बोल्दै उत्तरकुमार श्रेष्ठले भने, “२०७५ सालदेखि नै मेलम्ची आयोजनाका कारण हामी निरन्तर पीडामा छौँ। तत्कालीन मन्त्री प्रदीप यादवसँग सम्झौता भयो, तीन महिनाको समय पनि दिइयो तर कार्यान्वयन भएन। पछि कुलमान मन्त्रीज्यूसँग पनि सहमति भयो, त्यो पनि लागू भएन। आज फेरि मन्त्रीज्यूले थप १० दिनको समय माग्नुभएको छ। यदि यो अवधिमा पनि हाम्रो माग सम्बोधन भएन भने हामी मेलम्चीको पानी काठमाडौं पठाउन बन्द गर्नेछौँ।”

    भेटका क्रममा मन्त्री परियारले सबै सरोकारवालासँग सहकार्य गरेर बाढीपीडित तथा भेन्डरका समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरे। मेलम्ची खानेपानीसँग सम्बन्धित समस्या जटिल भए पनि समाधानका लागि सरकार गम्भीर रहेको उनले बताए।

    “मेलम्ची खानेपानी आयोजनासँग जोडिएका समस्याहरू दीर्घकालीन र जटिल छन्। आज हामीले पीडितहरूसँग छलफल गरेका छौँ। सबै पक्षसँग परामर्श गरेर उहाँहरूको माग सम्बोधन गर्ने प्रयास गर्छौँ,” मन्त्री परियारले भने।

    पीडितहरूको मागमा मेलम्चीको पानी काठमाडौं पठाइएकै कारण सामाजिक न्यायका लागि पानीको लेबी निर्धारण गरी त्यसको २५ प्रतिशत रकम प्रभावित क्षेत्रमा विनियोजन गर्नुपर्ने, मेलम्ची र हेलम्बु क्षेत्रका स्थानीयलाई काठमाडौं उपत्यका खानेपानी लिमिटेड तथा मेलम्ची आयोजनामा १५ प्रतिशत रोजगारी कोटा सुनिश्चित गर्नुपर्ने, बाढीपछि वास्तविक पीडितको पहिचान गरी राहत उपलब्ध गराउनुपर्ने तथा २०८१ असोज २१ गते तत्कालीन खानेपानी मन्त्री प्रदीप यादव र स्थानीयबीच भएको १० बुँदे सहमति तत्काल कार्यान्वयन गर्नुपर्ने माग समावेश छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ