काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पुराना दल गलत भएकाले नयाँ दल चाहिन्छ भन्ने बहसलाई क्रान्तिकारी नभई जनतालाई भ्रमित पार्ने भुलभुलैयामात्र भएको बताएका छन्।
शनिबार पार्टीद्वारा आयोजित निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अहिले राजनीतिक वृत्तमा चलाइएको नयाँ र पुराना दलको बहसले जनताका वास्तविक समस्याबाट ध्यान हटाउने काम गरिरहेको आरोप लगाए। उनका अनुसार नेपालमा समस्या दलको संख्याको नभई जनताको सेवा गर्नसक्ने राज्यसत्ताको हो।
जनताको पक्षमा निर्णय गर्ने र न्यायपूर्ण ढंगले फैसला लिन सक्ने सत्ता आजको मुख्य आवश्यकता भएको उनको भनाइ छ। बाहिर फैलाइएको नयाँ–पुराना दलको बहस सत्ताको मूल प्रश्नलाई ओझेलमा पार्ने प्रयत्न मात्रै भएको उनले बताए।
विप्लवले पुराना दलले भ्रष्टाचार र विकृति जन्माएको तथ्य स्वीकार गर्दै नयाँ दल आएपछि मात्रै अवस्था स्वतः सुधार हुन्छ भन्ने धारणा भने गलत भएको स्पष्ट पारे। पुराना दलको असफलताका कारण नयाँ दलप्रति जनतामा आशा देखिए पनि पुरानो राज्यसत्ता यथावत रहेसम्म समस्या समाधान नहुने उनको दाबी छ।
उनका अनुसार राजनीतिक संघर्षको केन्द्रीय मुद्दा नयाँ र पुराना दलबीच नभई पुरानो सत्ता संरचना र जनताबीचको संघर्ष हो। पुरानो सत्ता संरचना र चरित्र परिवर्तन गर्न सक्ने स्पष्ट दृष्टिकोण भएको नेतृत्व आवश्यक रहेको उनले बताए।
महासचिव विप्लवले नयाँ भनिने शक्तिहरूमध्ये कसैमा पनि त्यो परिवर्तनकारी दृष्टिकोण नदेखिएको दाबी गर्दै पुरानो सत्तालाई विस्थापित गरी जनताको सत्ता निर्माण गर्न सक्ने शक्ति नेकपा माओवादी मात्रै भएको बताए। उनले यो तथ्य जनतासमक्ष प्रभावकारी रूपमा पु¥याउन पार्टी पंक्तिलाई निर्देशन दिएका छन्।
प्रतिक्रिया