रुकुम । रुकुम पूर्वमा परेको हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। गए रातिदेखि निरन्तर भइरहेको हिमपातले लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ।
लोकमार्ग अवरुद्ध भएपछि सवारीसाधन वारपार हुन नसक्दा काठमाडौँबाट छुटेका बसहरू समेत बाटोमै फसेका छन्। फसेका यात्रु र सवारीको अवस्थाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय काक्रीबाट प्रहरी निरीक्षक हिमराज विकको नेतृत्वमा टोली खटाइएको प्रहरी नायब उपरीक्षक उमाशङ्करप्रसाद यादवले बताए। उनका अनुसार यस क्षेत्रमा अझै पनि निरन्तर हिमपात भइरहेको छ।
फसेका सवारी र यात्रुहरूको उद्धारका लागि पहल भइरहेको र सडक खुलाउन भूमे गाउँपालिकासँग समन्वय गरिएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन्। स्काभेटर प्रयोग गरेर हिउँ पन्छाउने र मार्ग खुलाउने तयारी भइरहेको उनको भनाइ छ।
रुकुम पूर्वका हिमाली तथा उच्च लेकाली क्षेत्रमा हिमपात भइरहेको छ भने तल्लो भेगमा वर्षा भएको छ। हिमपात र चिसोले जनजीवन प्रभावित भए पनि लामो समयपछि परेको वर्षा र हिमपातले किसानहरूलाई भने राहत मिलेको छ।
आकाशे पानीको भरमा खेती गर्ने किसानहरूका गहुँबाली पानी नपर्दा सुक्ने अवस्थामा पुगेको थियो। लामो समयपछि पानी पर्दा खेतीपातीलाई फाइदा पुगेको सिस्ने गाउँपालिका–५ का विमल बिसीले बताए।
प्रतिक्रिया