काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा जेन–जी पुस्ताको सहभागिता सिमित देखिएको छ । ठूला राजनीतिक दलहरू अझै पनि युवा नेतृत्वलाई अवसर दिन हिच्किचाएको देखिएको छ । निर्वाचन आयोगको विवरणअनुसार मंगलबार मनोनयन दर्ता गराएका कुल ३ हजार ४९० उम्मेदवारमध्ये १२ देखि २८ वर्ष उमेर समूहका १५७ जना जेन–जी उम्मेदवार छन् ।
उक्त संख्यामध्ये ७० जना विभिन्न राजनीतिक दलका तर्फबाट उम्मेदवार बनेका छन् भने ८७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । कुल उम्मेदवारको तुलनामा जेन–जी उम्मेदवारको संख्या न्यून भए पनि उनीहरूको सहभागिताले नेपाली राजनीतिमा पुस्तान्तरणको बहसलाई भने पुनः सतहमा ल्याएको छ ।
ठूला दलमा न्यून प्रतिनिधित्व
अघिल्लो प्रतिनिधिसभामा रहेका प्रमुख दलहरूमा जेन–जी उम्मेदवारको उपस्थिति निकै सीमित देखिन्छ । सबैभन्दा ठूलो दल नेपाली काँग्रेसबाट यसपटक एक जना पनि जेन–जी उम्मेदवार परेका छैनन् ।
दोस्रो ठूलो दल नेकपा एमालेबाट भने सर्लाही–४ बाट २७ वर्षीय अमनिश कुमार यादव एक मात्र जेन–जी उम्मेदवार बनेका छन् ।
त्यस्तै, तेस्रो ठूलो दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट पनि बारा–४ बाट उम्मेदवार बनेका २७ वर्षीय अजय कुशवाहा एक मात्र जेन–जी उम्मेदवार हुन् ।
अघिल्लो प्रतिनिधिसभामा चौथो ठूलो दलको रूपमा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै ८ जना जेन–जी उम्मेदवारलाई प्रत्यक्ष निर्वाचनमा उतारेको छ ।
रास्वपाबाट उम्मेदवार बन्नेमा तेह्रथुम–१ का सुरेन्द्र कार्की, सिराहा–१ का बब्लु गुप्ता, मकवानपुर–२ का प्रशान्त उप्रेती, नवलपरासी–२ का मनिष खनाल, रुपन्देही–२ का सुलभ खरेल, मुगु–१ का भुवन टमटा, अछाम–१ का ओमप्रकाश रावल र कैलाली–२ का केपी खनाल रहेका छन् । उनीहरूको उमेर २५ देखि २८ वर्षको बीचमा छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने मोरङ–६ बाट २७ वर्षीय सबिन निरौला र सुर्खेत–१ बाट २८ वर्षीय रवि हमाल ठकुरी गरी दुई जना जेन–जी उम्मेदवारलाई टिकट दिएको छ ।
केही दल पूर्णतः अनुपस्थित
जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी जस्ता दलहरूले यसपटक कुनै पनि जेन–जी उम्मेदवार उठाएका छैनन् ।
जनमत पार्टीले भने रौतहट–२ बाट वीरेन्द्र महतो (२७) र सोनु कुशवाहा (२८) तथा रौतहट–४ बाट राम कल्याण राउत (२८) गरी तीन जनालाई उम्मेदवार बनाएको छ ।
अघिल्लो संसदमा प्रतिनिधित्व नभएका दलहरूमध्ये उज्यालो नेपाल पार्टीले ७ जना र श्रम संस्कृति पार्टीले ४ जना जेन–जी उम्मेदवार उठाएका छन् । यी दलहरू आगामी निर्वाचनपछि राष्ट्रिय दल बन्ने सम्भावना भएका रूपमा हेरिएका छन् ।
यसैगरी नेपाल मजदूर किसान पार्टीले ६, आम जनता पार्टीले ३, जनता समाजवादी पार्टी (एकल चुनाव चिन्ह) बाट १ जनालाई उम्मेदवार बनाएका छन् ।
अन्य साना दलहरूमध्ये मंगोल नेशनल अर्गनाइजेसनले ५, प्रगतिशील लोकतान्त्रिक पार्टी र राष्ट्रिय परिवर्तन पार्टीले ४–४, मितरी पार्टी नेपालले ४, राष्ट्र निर्माण दल नेपालले ३, नेपाल जनसेवा पार्टी, नेपालका लागि नेपाली पार्टी र जनदेश पार्टी नेपालले २–२ जना जेन–जी उम्मेदवार उठाएका छन् ।
संवैधानिक सीमा र जेन–जीको दायरा
नेपालको संविधान २०७२ अनुसार प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न न्यूनतम २५ वर्ष उमेर पूरा हुनुपर्ने व्यवस्था छ । यस कारण जेन–जी पुस्तामध्ये पनि सीमित उमेर समूहका व्यक्तिहरू मात्र उम्मेदवारी दिन योग्य छन् । सन् १९९६ देखि २०१२ सम्म जन्मेका नागरिकलाई जेन–जी मानिए पनि व्यवहारतः सन् २००० वा सोभन्दा अघि जन्मेकाहरू मात्रै यस निर्वाचनमा प्रतिस्पर्धामा छन् ।
कुल संख्यात्मक रूपमा जेन–जी उम्मेदवारको सहभागिता सीमित भए पनि साना तथा नयाँ दलहरूमा देखिएको उत्साहले नेपाली राजनीतिमा पुस्तान्तरणको सम्भावना जीवित रहेको संकेत गर्छ । तर ठूला र स्थापित दलहरूले युवा पुस्तालाई नेतृत्वमा अघि सार्न अझै विश्वास नगरेको स्पष्ट देखिन्छ । आगामी निर्वाचन परिणामले जेन–जी उम्मेदवारप्रति मतदाताको धारणा कस्तो रहन्छ भन्ने कुरा नेपाली राजनीतिका लागि महत्वपूर्ण सन्देश बन्नेछ ।
प्रतिक्रिया