कालीकोट । कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ।
शुक्रबार साँझ करिब ६ बजे सेरी–पान्तडी सडकखण्ड अन्तर्गत सल्लेरीमा उकालो चढ्ने क्रममा भे १ ज २८९८ नम्बरको जीप ब्याक भई भीरबाट खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा ज्यान गुमाउनेमा दुई जना स्काभेटर अपरेटर र एक जना सहचालक रहेका छन्। कालीकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीका अनुसार मृत्यु हुनेमा दैलेखको आठबिस नगरपालिका निवासी २८ वर्षीय शङ्कर कठायत, अछामका टेकेन्द्र शाही तथा कालीकोटको शुभकालिका गाउँपालिका–२ निवासी सहचालक नवराज शाही रहेका छन्।
मृतक तीनै जना सेरी–पान्तडी सडक निर्माण कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ। जीप सडकबाट करिब ५०० मिटर तल तिला नदीको किनारमा खसेको र सवारी साधन पूर्ण रूपमा क्षतिग्रस्त अवस्थामा फेला परेको प्रहरीको भनाइ छ। भीरबाट तीनै जनाको शव निकालिएको पनि प्रहरी प्रमुख खत्रीले जानकारी दिए।
जीप चालक प्रहरीको सम्पर्कमा आइसकेको भए पनि घटनाबारे सोधपुछ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको जानकारी पाएलगत्तै सदरमुकाम मान्मबाट प्रमुख जिल्ला अधिकारी गोर्कणराज सुयल, प्रहरी प्रमुख खत्रीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको थियो।
प्रतिक्रिया